जंगबहादुरको न्वरान भएको बिचित्रको ‘बल्कोट पौवा'
सन्धिखर्क : जंगबहादुर राणाको न्वरान भएको स्थान भनेर चिनिने बिचित्रको बल्कोटको पौवा प्रचार प्रसारको अभावमा ओझेलमा परेको छ। अर्घाखाँचीको छत्रदेव गाउँपालिकामा पर्ने लामो इतिहास बोकेको ऐतिहासिक पौवामा दिनहुँजसो राजनीतिक भेटघाट र कार्यक्रम भएपनि यसको संरक्षणमा कसैको ध्यान जान सकेको छैन।
जंगबहादुर राणाको पालामा तत्कालीन कर्नेल सनद सिंह टण्डनको नेतृत्वमा कालिगढको अत्यन्तै आकर्षक शैलीमा बनाइएको पौवा र त्यस भित्र शिवालय मठ, तथा अन्य मन्दिर समेत रहेका छन्।
विक्रम सम्वत १९ सय ४ सालमा निर्माण गर्न सुरु गरेर १० बर्षको समय लगाएर पौवा तथा मन्दिरहरु निर्माण गरिएको स्थानीय ७५ वर्षीय टेकराज पौडेलले बताए।
जंगबहादुरको बुबा बालनरसिंह राणा आर्मी अफिसर थिए। उनी बारुदखाना प्यूठानको प्रमुख थिए। १८ सय ६० को दशकमा जुम्लाको सिंजा प्रान्तमा गुठीको जग्गाले विवाद बढायो। बिबाद बढेपछि गुठीको विवाद समाधान गर्न बालनरसिंहलाई १८ सय ६९ मा जुम्ला खटाइएको थियो। जुम्लामा उनी श्रमतीलाइ लिएर गएका थिए।
जुम्लामै रहदा श्रिमती गर्भवती भइन्। त्यो समयमा गर्भवती हुदा माइती जाने प्रचलन थियो। उनी तत्कालीन प्रधानमन्त्री भीमसेन थापाकी बहिनी थिइन्। जुम्लाबाट माइती गोर्खा जाने क्रममा अर्घाखाँचीको बांगलामा रहेका लामपाटी अर्थात् मथुरामा विक्रम सम्वत १८ सय ७४ सालमा उनले ७ महिनामा बच्चा जन्माइन। अर्थात् जंगबहादुर ७ महिनामा जन्मिएका थिए।
त्यसबेला लामपाटीमा घनाघोर जंगल रहेको थियो। नजिकैका कृषक पाण्डे थरकाले उनको स्याहार सुसार गरेको र पछि बल्कोटको पौवा रहेको स्थानमा लगि सुत्केरी र बच्चालाई राखेका थिए। त्यही स्थानीय खनाल थरका ब्राह्मणले न्वरान गराएर त्यो बालकको नाम वीरनरसिंह राखेको भनाइ रहेको सस्कृतिमा रुची राख्ने स्थानीय नारायण भट्टराइले बताए। सुत्केरी दरिली भएपछि उनी माइती गोर्खा गएकी थिइन्। पछि वीरनर सिंह जंगे स्वभावको भएको हुनाले उनको नाम जंगबहादुर रहेको थियो उनको भनाइ छ।
जंगबहादुरको जन्म कतिले गोर्खामा र कतिले काठमाडौको थापालीमा भएको भन्ने गर्छन्। उनी लाम्पाटीमा जन्मिएका थिए। त्यसैले जन्मको बारेमा एउटै ठाउँ कसैले भन्न नसकेको इतिहासकारको भनाइ रहेको छ।
इतिहासकार प्रा. दिनेशराज पन्त र युवराज शम्शेर जवराले जंगबहादुर लाम्पाटीमा जन्मिएको र वल्कोटको पौवामा आएर न्वरान भएको र पछि त्यसै स्थानमा कर्नेल सनदसिंह टण्डनको नेतृत्वमा विचित्रको पौवा निर्माण भएको उल्लेख गरेको गाँउपालिकाका अध्यक्ष लेखनाथ पोख्रेलले बताए।
पौवाको विषयमा तत्कालीन राजा श्री ५ सुरेन्द्र शाहको पालामा चारवटा लाल मोहर लागेका थिए। ती लाल मोहर तथा इतिहासकार पन्त र जबराको विश्लेषणलाई अर्घाखाँची सम्पर्क सदनको चिनारी २०७२ मा समावेश गरिएको उनले बताए।
आफू जन्मिएको लामपाटीमा पौवा तथा बगैंचा र न्वरान भएको ठाउँ बल्कोटमा विचित्रको पौवा निर्माण गर्न जंगबहादुरले लगाएर कर्नेल सनदसिंहले निर्माण गरेका थिए।
विचित्रको पौवा तथा मन्दिर निर्माण गरिसके पछि सञ्चालनको लागि सयौँ विगाहा जमिन गुठीमा समेत रहेको छ। केही समय अघिसम्म पौवामा रहेको मन्दिरको संरक्षण गर्ने, फुलपाती टिप्ने, कोइला लैजाने, लिपपोत गर्ने, दैनिक विहान बेलुका बाजा बजाउनेको समेत व्यवस्था थियो छत्रदेव गाउँपालिका २ बल्कोटका वडा अध्यक्ष राजेस पन्थीले भने, ‘हाल आएर पूजाआजा भइरहेको छ। दैनिक बाजा बजाउने कार्य हटेको छ। यसलाइ प्रचार प्रसार गर्ने कार्यमा सबैले सहयोग गर्नु पर्छ।’
काठका आकृतीमा यौन अंग र शेक्स देखाइएको शैलीमा निर्माण भएको विचित्रको पौवा निर्माण गरेका कालीगढको हात पछि गएर राणाकै पालामा काटिएको पनि स्थानीयको भनाइ छ। यद्यपी कसले कहिले कस्को हात काटेको भन्ने कसैले बताउन सकेका छैनन्।
कर्नेल सनदसिंहको पालामा बल्कोटको पौवा, मथुराको पौवा, पाल्पा र गुल्मीको सिमानामा रहेको मनवाक पौवा, ऋणिको बगैंचा, पाल्पा अर्गलीको बगैंचा, जोर्तको पौवा र बाटोमा रहेका गौमुखी धारा निर्माण भएको सामाजिक संस्कृतिक अध्यन गरिरहेका नारायण भट्टराइले बताए।
बिचित्रको बल्कोटको पौवा, मन्दिर र गुठीलाई संरक्षण गरी प्रचार प्रसार गर्ने उदेश्यले २०६६ सालमा डाक्टर गोविन्द टण्डनको नेतृत्वमा पण्डित दिनबन्दु पोखरेलको प्रवचनमा महायज्ञ लगाइएको थियो। महायज्ञ लगाएपछि प्रचार प्रसारमा अघिबढ्न खोजे पनि प्रचार प्रसार हुन नसकेको स्थानीय युवा पिताम्बर खनालले बताए। लामो इतिहास बोकेको क्षेत्र भएपनि प्रचार प्रसारमा कसैले चासो नदिएको उनको भनाइ छ।
सन्धिखर्क बल्कोट तम्घास सडकको छेउमा पर्ने राणाकालीन इतिहास बोकेको पौवाको प्रचार प्रसार गर्न सकेमा पर्यटकीय स्थल बनाउन सकिन्छ। यसको लागि सबैले पहल गर्न जरुरी छ।