कोरसबाट उठेका युवराज
काठमाडौं : अहिलेका चर्चित गायक र संगीतकार हुन्, युवराज चौलागाईं। २०७१ सालमा रिलिज फिल्म ‘नोभेम्बर रेन’को ‘तिमीलाई के भनूँ’ गीत निकै चर्चित भयो। गीतमा गायिका रजिना रिमाल र मेलिना राईसँगै युवराजको स्वर पनि रहेको छ।गीत चर्चित भयो। गीतसँगै युवराजको चर्चा पनि चुलियो। गीतका लागि उनले पाश्र्वगायकको अवार्ड पाए।संगीत क्षेत्रमा एक दशकदेखि सक्रिय उनलाई यस गीतले स्रोता÷दर्शकमाझ परिचित गरायो।
चितवनका युवराज सानोमा नाच्न÷गाउन माहिर थिए। ‘स्कुलका अतिरिक्त क्रियाकलापमा सहभागी हुन्थेँ,’उनी सम्झिन्छन्,‘कार्यक्रममा नाचेर एकपटक पैेसाको माला पुरस्कार पाएको थिएँ।’चुलबुले स्वभावका उनलाई पर्दामा आउने रहर थियो। भन्छन्,‘म सबैलाई हिरो बन्छु भन्थेँ। म्युजिक, डान्स र खेलकुदमा मेरो विशेष लगाव थियो।’
युवराजको घरको वातावरण सांगीतिक थियो। ‘आमा रमेरा दाइहरूले गीत गाउनुहुन्थ्यो,’ उनी भन्छन्,‘उहाँहरूलाई देखेर म पनि गायनप्रति आकर्षित भएँ।’ एकदुईवटा गीत रेकर्ड गरेपछि रातारात स्टार भइन्छ भनी सोच्थे, युवराज। ‘त्यो अल्लारे बेलाको सोच थियो,’ उनी भन्छन्, ‘स्वर छँदै छ,एकदुई गीत रेकर्ड गरेपछि हिट भइहाल्छु भन्ने लाग्थ्यो।’
चर्चित गायक बन्न उनी २०५९ सालमा काठमाडौँ छिरे। गीत रेकर्ड गराउन यहाँ थुप्रै ठाउँ धाए। ‘त्यसपछि बल्ल बुझेँ,गीत निकाल्न सजिलो रहेनछ,’उनी भन्छन्, ‘चिनेजानेका कोही थिएनन्, कहाँ जाऊँ, के गरूँ भयो। त्यसपछि रातारात हिट हुने भ्रमबाट मुक्त भएँ।’
स्वरमा निखार ल्याउन उनी संगीत सिक्न थाले।अनुराग कला केन्द्र, कलानिधि इन्दिरा संगीत महाविद्यालयबाट संगीत सिके।भारत, इलाहाबादमा पनिसंगीत अध्ययन गरे। ‘त्यसपछि बल्ल गीत रेकर्ड गराउने आँट आयो,’ उनी भन्छन्। ‘मेरो मायालाई तिमीले बुझ्न सकिनौ’ उनको पहिलो गीत थियो। एल्बम निकाल्न र काठमाडौँमा टिक्न युवराजले ‘भेजिटेरियन फास्ट फुड’ रेस्टुरेन्ट खोले। ‘रेस्टुरेन्ट राम्रै चल्यो तर कामको व्यस्तताले संगीत खस्कन थाल्यो,’ उनी भन्छन्, ‘डेढ वर्ष चलाएर रेस्टुरेन्ट छाडेँ।सांगीतिक यात्रालाई अगाडि बढाएँ।’
उनको पहिलो एल्बम ‘यू फिल’ हो। ‘एल्बम निकाल्दा मैेले धेरै दुःख पाएँ,’उनी भन्छन्,‘प्रत्येक कम्पनीमा एल्बम लगेर दिन्थेँ। महिनौँ बित्दा पनि नतिजा आउँदैनथ्यो।’ पहिलो एल्बमका लागि उनले एक वर्ष कुरे। ‘बल्लतल्ल रियाज म्युजिक कम्पनीबाट फोन आयो,’युवराज भन्छन्,‘त्यसपछि मेरो पहिलो एल्बम बजारमा आयो।’एल्बमको ‘साँझ पख’गीत हिट भयो। गीतले केही अवार्ड पनि जित्यो। ‘त्यसपछि कलेक्सन एल्बममा गाउने अफर आउन थाले,’उनी भन्छन्, ‘त्यो बेला रिमिक्सको लहर चलेको थियो। ‘टुङ्नाको धुनमा’रिमिक्स गाउने मौका पाएँ।’
गुजारा चलाउन उनी कोरसमा गाउन थाले।‘दिनमा तीनचारवटा कोरस गाउँथेँ,’ उनी सम्झिन्छन्,‘दुईतीन सय रुपैयाँ हातमा पर्दा पनिदंग हुन्थेँ।’कोरस गाउँदा धेरै कुरा सिकेको उनी बताउँछन्। ‘आज म जहाँ छु त्यसको श्रेय कोरस गायनलाई जान्छ,’ उनी भन्छन्। युवराजफिल्ममा पनि फाट्टफुट्ट गीतगाउँथे। तर, गीत हिट हुन्थेनन्। आफ्नो दोस्रो एल्बम ‘यश’बाट बोल्ड स्वरको पहिचान पाएको उनी बताउँछन्। ‘त्यसपछि फिल्म ‘नोभेम्बर रेन’मा गाउने अवसर पाएँ,’उनी भन्छन्,‘तिमीलाई के भनूँ’ गीतहिट हुन्छ भन्ने कल्पना पनि गरेको थिइनँ। गीतले मेरो जीवनै कायापलट गरिदियो।’
‘हवलदार सुन्तली’ फिल्मको ‘तिम्रा डोलाडोला हात’, ‘छ एकान छ’ फिल्मको टाइटल गीतमा युवराजको स्वर छ। उनलेकेही गीतमा संगीत पनि भरेका छन्।‘लैजा चरी’, ‘हरेक शब्द’, ‘मनको दाग’उनले संगीत भरेका गीत हुन्।