छमहिने झरनामा रमाउँदै पर्यटक
पोखरा: पोखरामा रहेको ‘समर वाटरफल’तिर आन्तरिक र बाह्य पर्यटक आकर्षित भएका छन्। ताल, गुफा, हिमाल, नदी, खोला, छहरा र सेतीको सुन्दर गल्छीपछि झरना पर्यटकका लागि आकर्षणको केन्द्र बनेको छ।
पोखरा–१७ बिरौटाफाँटस्थित फुस्रो खोलाकिनारमा रहेको झरना र फुस्रो खोलामा निर्माण गरिएको कास्कीको अग्लो झोलुंगे पुल आन्तरिक र बाह्य पर्यटकका लागि नयाँ गन्तव्य बनेका छन्। झोलुंगे पुलबाट बिरौटाफाँटमा झुलेका जेठोबूढो धान, अन्नपूर्ण, धौलागिरी हिमाल, फुस्रो खोलाको मनोरम दृश्य हेर्न सकिन्छ।
पछिल्लो समय पर्यटक वाटरफलमा रमाउन थालेका छन्। पोखरा आउने पर्यटकका लागि वाटरफल र झोलुंगे पुल नयाँ गन्तव्य बनेका पोखराका पर्यटन व्यवसायी सुमन भट्टराई बताउँछन्।
‘बैदामबाट फेवातालमा डुंगा चढेर तालपारि पुगेर हिँड्दै विश्वशान्ति स्तूप, पाताले छाँगो, गुप्तेश्वर गुफा, बिरौटा हुँदैे झोलुंगे पुल, फोक्सिङ गाउँबाट झरेर समर वाटरफलसम्म एक दिनमा पर्यटकले नयाँ–नयाँ अनुभव बटुल्न सक्नेछन्,’ भट्टराई भन्छन्, ‘आन्तरिक पर्यटकमाझ पावरहाउसको झरनाको नामले परिचित समर वाटरफललाई विदेशी पर्यटकले पनि मन पराउन थालेका छन्।’
फेवातालको पानी नहर हुँदै बिरौटाफाँट र भूमिगत रूपमा समेत निस्केर बनेको यो झरना करिब तीन सय मिटर माथिबाट खस्छ। वर्षा याम सुरु भएसँगै असारको पहिला हप्तादेखि सुन्दर देखिने यो झरना कात्तिक महिनासम्म रहन्छ। करिब छ महिनासम्म रहने भएकाले यो झरनाको नाम समर वाटरफल राखिएको भट्टराई बताउँछन्। ‘सिजनमा एक महिनामा थुप्रै विदेशी पर्यटक वाटरफलमा रमाउने गर्छन्,’ उनी भन्छन्, ‘पछिल्लो समय यो संख्या बढ्दै गएको छ।’
सुन्दर झरनामा रमाउन पाउँदा निकै रमाइलो लाग्ने पोखरा घुम्न आएकी अमेरिकी नागरिक जेसिकाले बताइन्। ‘पोखरा बजारबाट यति नजिकै गाउँले परिवेशको आनन्द लिँदै पदयात्राका क्रमको थकान मेटाउन यो झरना निकै उत्कृष्ट छ,’उनले भनिन्, ‘म त आफ्ना साथीलाई पनि यहाँ घुम्न आउन सिफारिस गर्छु।’
समर वाटरफल र झोलुंगे पुललाई पर्यटकीय गन्तव्यका रूपमा विकास गर्न पहल गरिने पोखरा पर्यटन परिषद्का उपाध्यक्ष गोपीबहादुर भट्टराईले बताए।