वैकल्पिक दलको औचित्य र चुनौती

वैकल्पिक दलको औचित्य र चुनौती

नयाँ र वैकल्पिक भनिएका दल पनि वास्तविकरूपमा राजनीतिक ‘भिजन’ का दृष्टिले नयाँ र वैकल्पिक हुन सकेका छैनन्


सत्तारुढ र मूलधारका दलहरू यथास्थितिवादी तथा सत्तामुखी भएपछि वैकल्पिक तथा नयाँ राजनीतिक दलको आवश्यकता तथा सूचना प्रविधिको क्रान्ति भएपछि मूलधारका भन्दा वैकल्पिक वा नयाँ मिडियाको प्रभाव र परिणामका बारेमा विश्वव्यापीरूपमा नै बहस भइरहेको छ। राजनीतिक यथास्थितिवाद र प्रविधिको विकासको कारणले सिर्जित विश्वव्यापी बहसको असर नेपाली राजनीति र सञ्चारमाध्यममा पनि गम्भीररूपमा परेको छ। त्यसैले वैकल्पिक राजनीति, वैकल्पिक राजनीतिक दल र वैकल्पिक मिडियाको व्यापक चर्चा भइरहेको छ। वैकल्पिक र नयाँ मिडिया विशेषगरी डिजिटल पत्रकारिता तथा सामाजिक सञ्जालले मूलधारका मिडियालाई जति चुनौती दिइरहेका छन् त्यसको तुलनामा नयाँ तथा वैकल्पिक दलले मूलधारका दलहरूलाई चुनौती दिन सकेका छैनन्। मूलधारका दलहरूलाई चुनौती दिँदै केही वर्षअगाडि बाबुराम भट्टराईले नयाँ शक्ति र रवीन्द्र मि श्रले विवेकशील साझा पार्टी स्थापना गरेपछि नेपालमा पनि उक्त बहसले उल्लेखनीय तरंग सिर्जना गरेको छ। तर विगत निर्वाचनमा नयाँ र वैकल्पिक भनिएका दलहरूले अपेक्षाकृत सफलता पाउन नसकेपछि उनीहरूको औचित्य र भविष्यबारेमा पनि प्रश्नचिह्न खडा भएको छ।

विश्वव्यापी र दक्षिण एसियामा नयाँ वा वैकल्पिक दलहरू विगत केही वर्षदेखि प्रमुख राजनीतिक शक्तिका रूपमा स्थापित भएका छन् र परम्परागत र मूलधारका दलहरूलाई गम्भीर चुनौती दिएका छन्। ३९ वर्षीय युवा इम्यानुयल म्याक्रों फ्रान्सका राष्ट्रपति निर्वाचित भएपछि तथा सापेक्षिकरूपमा नयाँ र कमजोर मानिएका दलहरू पाकिस्तान, भुटान र माल्दिभ्समा भर्खरै सम्पन्न आमनिर्वाचनमा विजय भएपछि उक्त बहसले दक्षिण एसियामा थप आयतन हासिल गरेको छ। अरविन्द केजरीवालको आम आदमी पार्टीको स्थापना र लहरले भारतमा पनि मूलधार वा परम्परागत दलहरूलाई उल्लेखनीयरूपमा धक्का दिएको छ। जनअपेक्षाअनुरूप सरकारले ‘डेलिभर’ गर्न नसकेपछि विश्वव्यापीरूपमा नै परम्परागत र मूलधारका पार्टीहरूलाई नयाँ र वैकल्पिक दलहरूले गम्भीर मनोवैज्ञानिक चुनौती सिर्जना गरेका छन्।

नेपालको सन्दर्भमा पार्टी निर्माण

पार्टी निर्माणको अन्तर्राष्ट्रिय र नेपालको राष्ट्रिय सन्दर्भ मौलिक रूपमा पृथक् छ। समृद्ध लोकतान्त्रिक र आर्थिकरूपमा विकसित देशहरूमा राजनीतिक सिद्धान्त र कार्यसूचीका आधारमा दलहरूको उत्थान र अवसान हुन्छ। तर नेपालको सन्दर्भमा एउटा सफल क्रान्ति वा आन्दोलनको नेतृत्व नगरेसम्म राजनीतिक शक्तिका रूपमा स्थापित भएका छैनन्।

अन्तर्राष्ट्रिय सन्दर्भमा कुनै पनि पार्टी निर्माणको प्रमुख आधार राजनीतिक सिद्धान्त, कार्यसूची, नीति र कार्यक्रम हो। नेपालको सन्दर्भमा क्रान्ति, आन्दोलन, संघर्ष र बलिदान पार्टी निर्माणको दृष्टिले न्यूनतम राजनीतिक योग्यता र अनिवार्य मापदण्ड हो। कांग्रेसले ०७, ०४६, ०६२ /६३ को जनआन्दोलनको नेतृत्व ग¥यो। त्यसैले कांग्रेस निर्णायक शक्तिका रूपमा स्थापित भयो। एमालेले ०४६ र ०६२ /६३ को आन्दोलनमा नेतृत्वदायी भूमिका निर्वाह ग¥यो। त्यसैले एमाले पनि प्रमुख शक्तिका रूपमा स्थापित भयो। माओवादीले दशक लामो सशस्त्र संघर्षको नेतृत्व ग¥यो भने तत्कालीन सात दलसँग बाह्रबुँदे समझदारी गरेपछि ०६२ /६३ को आन्दोलनमा परोक्षरूपमा सहभागी भयो। त्यसैले ०६२ /६३ को जनआन्दोलनबाट लोकतान्त्रिक गणतन्त्र स्थापना भएपछि माओवादी पनि प्रभावशाली शक्तिका रूपमा स्थापित भयो। मधेसकेन्द्रित दलहरू पनि ०६४ को मधेस आन्दोलनकै आधारमा स्थापित भएका हुन्। त्यसैले हालसम्मको पार्टी निर्माण प्रक्रियाको ऐतिहासिक आयाम तथा नजिरका आधारमा विश्लेषण गर्दा आन्दोलन, क्रान्ति वा विद्रोहको सफल नेतृत्व नगरेसम्म कुनै पनि पार्टी प्रमुख पार्टीका रूपमा स्थापित भएका छैनन्।

उपरोक्त तथ्य र तथ्यांकका आधारमा विश्लेषण गर्दा नेपालको परिवेशमा पार्टी निर्माण प्रक्रिया लामो, जटिल र संघर्षपूर्ण छ। त्यसैले काठमाडौं तथा सहरकेन्द्रित, मध्यम तथा बौद्धिक वर्ग लक्षित र सञ्चारमाध्यम तथा सामाजिक सञ्जाल (ट्विटर, फेसबुक) उत्प्रेरित अभियानका आधारमा नयाँ वा वैकल्पिक पार्टी स्थापित हुने सम्भावना क्षीण देखिन्छ। नयाँ वा वैकल्पिक पार्टी स्थापना गर्ने अभियानका अभियन्ताहरूले उक्त वास्तविकतालाई आत्मसात गर्नु अपरिहार्य छ। होइन भने नयाँ वा वैकल्पिक पार्टी केवल मृगतृष्णा मात्रै हुन सक्छ। प्रारम्भमा भट्टराईको नयाँ शक्ति वास्तवमै नयाँ ‘शक्ति’ का रूपमा स्थापना हुन सक्ने झीनो सम्भावना देखिएको थियो। तर भट्टराईको ‘शक्ति’ को परीक्षण हुन ६ महिना पनि लागेन। त्यसैले भट्टराईको असफलताबाट शिक्षा ग्रहण गर्नु मि श्रकै राजनीतिक स्वास्थ्यका लागि पनि उपयुक्त हुनेछ।

मूलधारका कि वैकल्पिक दल

नेपालमा मात्रै होइन, विश्वव्यापीरूपमा नै परम्परागत तथा मूलधारका दलहरूप्रति जनताको विकर्षण मात्रै होइन, आक्रोश र असहमतिसमेत छ। त्यसैले परम्पगत तथा मूलधारका दलमा सुधार कि नयाँ वा वैकल्पिक दल ? भन्ने बहसले राजनीतिशास्त्री, राजनीतिकर्मी र जनताको मथिंगलमा शक्तिशाली तरंग सिर्जना गरेको छ। कतिपय विकसित र लोकतान्त्रिक देशहरूमा सत्तारुढ तथा मूलधारका दलहरूको विकल्पमा नयाँ र वैकल्पिक दल अप्रत्यासितरूपमा निर्वाचनमा विजयी भएका छन् भने कतिपय देशहरूमा नयाँ वा वैकल्पिक दलहरूले परम्पगत तथा मूलधारका दलहरूलाई गम्भीर चुनौती दिएका छन्। फ्रान्सका राष्ट्रपति म्याक्रों वैकल्पिक राजनीतिका सबैभन्दा सफल राजनीतिज्ञ हुन्। कतिपय देशका अधिकांश वैकल्पिक र नयाँ राजनीतिक दलहरू अतिवादी तथा लोकप्रियतावादी छन्। तर म्याक्रोंले अतिवादी तथा लोकप्रियतावादी होइन, सकारात्मक र उदारवादी विकल्पको नेतृत्व गरे र सफल पनि भए। युरोप र एसियामा अप्रत्यासितरूपमा स्थापित भएका नयाँ दलहरूले मूलधारको राजनीति र दलहरूलाई चुनौती त दिएका छन्। तर अधिकांश दलहरू लोकप्रियतावादी, राष्ट्रवादी तथा दक्षिणपन्थी दलका रूपमा उदाएका छन्। त्यसैले विश्वव्यापीरूपमा नै नयाँ तथा वैकल्पिक भनिएका दलहरूको सैद्धान्तिक तथा वर्गीय धरातल कमजोर छ। लोकप्रिय नारा र जनतामुखी कार्यसूचीका आधारमा उक्त दलहरूले अभियान प्रारम्भ गरेका हुन्छन्। त्यसैले लोकप्रियतावादको आधारमा नै पार्टी स्थापित गर्नुपर्ने बाध्यात्मक परिवेश उनीहरूलाई हुन्छ। नेपालका वैकल्पिक र नयाँ भनिएका विवेकशील साझा र नयाँ शक्ति दुवै पार्टी धेरै हदसम्म लोकप्रियतावादी पार्टी हुन्। लोकप्रियतावादको ‘ह्याङ ओभर’ र पार्टीका रूपमा स्थापना हुने संघर्षका क्रममा नेपालका नयाँ दलहरू एउटा वामपन्थी र अर्को दक्षिणपन्थी लोकप्रियतावादी पार्टीको दिशातर्फ उन्मुख हुन सक्ने सम्भावना प्रबल देखिन्छ।

हालसम्मको नेपाली जनताको मनोविज्ञानका आधारमा वस्तुगत विश्लेषण गर्दा अहिले पनि पहिलो विकल्प मूलधारका दलहरूको सुधार र रूपान्तरण नै हो। त्यसैले सयौं गल्ती र कमजोरी हुँदाहुँदै पनि नेपाली जनताले कांग्रेस र एमालेलाई विगतमा पटकपटक अवसर दिएका छन्। मूलधारका दलहरू नेकपा र कांग्रेसमा सुधार भएन भने नेपाली जनताले विकल्प खोज्नेछन्। तर भट्टराई र मि श्रले विश्लेषण गरेभन्दा नयाँ पार्टी निर्माण चुनौतीपूर्ण देखिन्छ। नेपाली जनताको मूलधारका दलहरूप्रतिको विश्वासलाई कमजोरी ठानेर उनीहरूले जनताका चाहना र भावनाअनुरूप आफूहरूलाई अब पनि सुधार र रूपान्तरण गरेनन् भने जनताले नयाँ वा वैकल्पिक दलहरूलाई विकल्पका रूपमा स्वीकार गर्नसक्ने सम्भावना पनि कायम नै छ।

विकल्पको राजनीतिक गोलचक्कर

समृद्ध लोकतान्त्रिक तथा विकसित देशको तुलनामा साक्षरता प्रतिशत न्यून भए पनि राजनीतिक दृष्टिले जनता सचेत, स्वाभिमानी र स्वतन्त्रप्रेमी छन्। त्यसैले नेपाली जनताले दूरदर्शीपूर्ण र विवेकसम्मत राजनीतिक निर्णय गर्दै आएका छन्। ०४६ मा बहुदलीय लोकतन्त्र स्थापना भएपछि भएको पहिलो आमनिर्वाचनमा राजा र पञ्चायतको विकल्पमा जनआन्दोलनको नेतृत्वकारी पार्टी कांग्रेसलाई विजयी गराए। तर कांग्रेसको आन्तरिक विवाद र सत्ता संघर्षको कारणले भएको ०५१ को मध्यावधि आमनिर्वाचनमा कांग्रेसको विकल्पमा अल्पमतको भए पनि एमालेलाई अवसर दिए। ०५६ को आमनिर्वाचनमा एमालेको विकल्पमा पुनः कांग्रेसलाई पूर्ण बहुमतको सरकार निर्माण गर्ने जनादेश दिए। तर कांग्रेस र एमालेको कुशासन, भ्रष्टाचार र सत्ताको छिनाझप्टीबाट आजित भएका नेपाली जनताले ०५९ पछि राजालाई पनि शंकाको सुविधा दिएका थिए। कांग्रेस र एमालेको विकल्पमा राजालाई पनि नेपाली जनताले स्विकारेका थिए। त्यसैले राजा ज्ञानेन्द्रको निरंकुश शासनलाई पनि केही समय मौन समर्थन गरेका थिए। तर जब लोकतान्त्रिक प्रणालीको अन्त्य गरी निरंकुश शासन प्रारम्भ गरे, तब नेपाली जनताले तत्कालीन सात दलको शान्तिपूर्ण आन्दोलनलाई समर्थन गरेपछि २३८ वर्ष लामो राजतन्त्रको अन्त्य भई लोकतान्त्रिक गणतन्त्र स्थापना भएको थियो। जनताको निरन्तर विकल्पको खोजीका क्रममा २०६२ /६३ को जनआन्दोलनबाट गणतन्त्र स्थापनापछि कांग्रेस र एमालेको विकल्पमा जनताले माओवादीलाई पहिलो संविधानसभा निर्वाचनमा विजयी गराएका थिए। तर सत्तामा पुगेपछि माओवादीमा देखिएको अहंकार र सर्वसत्तावादी प्रवृत्तिको कारणले ०७० मा भएको दोस्रो संविधानसभाको निर्वाचनमा माओवादीको विकल्पमा कांग्रेस र एमालेलाई अवसर दिएका थिए भने ०७४ संघीय आमनिर्वाचनमा कांग्रेसको विकल्पमा वाम गठबन्धनलाई विजयी गराए।

विगत आमनिर्वाचनमा वाम गठबन्धनले प्रचण्ड बहुमत हासिल गरे पनि नौमहिनाको सरकारको मूल्यांकन गर्दा नेपाली जनता पुनः नेकपाको सरकारको विकल्पको खोजीमा छन्। तर प्रश्न नेकपाको विकल्प मूलधारको पार्टी कांग्रेस हो कि नयाँ वा वैकल्पिक पार्टी होला ? भन्ने मात्रै हो। जनचाहना र जनभावनाअनुरूप सुधार भयो पहिलो विकल्प पुनः लोकतान्त्रिक पार्टी कांग्रेस हुनसक्छ। कांग्रेसमा सुधार भएन भने जनताले कांग्रेसको पनि विकल्प खोज्नेछन्। किनभने सार्वभौमसत्ता स्वाभिमानी नेपाली जनता कुनै पनि पार्टीका स्थायी मतदाता वा दास होइनन्। ०६४ को संविधानसभाको निर्वाचनबाट नेपाली राजनीतिको निर्णायक शक्तिका रूपमा स्थापित भएपछि राष्ट्रिय /अन्तर्राष्ट्रिय

शक्तिकेन्द्रले पनि नेपाली जनताले शान्तिपूर्ण निर्वाचनमार्फत ‘साइज’ मा ल्याएका थिए। त्यसैले जनताले दूरदर्शी र विवेकसम्मत निर्णय गर्दै आएका छन्। त्यसैले राजनीतिक दृष्टिले सचेत र स्वाभिमानी नेपाली जनता निरन्तर परिवर्तन र विकल्पको खोजीमा छन्।

निष्कर्ष

हालसम्म नेपालको राजनीतिक नक्सा क्रान्ति, आन्दोलन वा विद्रोहले निर्धारण गर्दै आएको थियो, तर अब राजनीतिक आन्दोलन वा संघर्षको अध्याय समाप्त भयो किनभने नेपाली जनताको भावनाअनुरूप संघीय लोकतान्त्रिक गणतन्त्र स्थापना भइसक्यो। अब कुन प्रणाली स्थापना गर्न क्रान्ति वा आन्दोलन गर्ने ? राजनीतिक आन्दोलन वा संघर्षको अध्याय समाप्त भएको कारणले अब आन्दोलनले होइन, राजनीतिक एजेन्डाले राजनीतिक ‘कोर्स’ निर्धारण गर्नेछ। त्यसैले पार्टी निर्माणको अबको आधार राजनीतिक आन्दोलन, संघर्ष वा बलिदान होइन, राजनीतिक ‘भिजन’ र ‘एजेन्डा’ हो। विकास, समृद्धि, सुशासन, भ्रष्टाचार नियन्त्रण, विधिको शासन नै अबको नेपालका कार्यसूचीहरू हुन्। त्यसैले अब कोरा राजनीतिक सिद्धान्त र अतीतमुखी दलभन्दा राजनीतिक कार्यसूची तथा भविष्यमुखी नीतिका आधारमा दलहरूको उत्थान र अवसान हुने भएकाले परम्परागत, मूलधार र वैकल्पिक सबै दल र राजनीतिकर्मीलाई समानरूपमा पार्टी निर्माणको अवसर र चुनौती छ। तर नयाँ र वैकल्पिक भनिएका दल पनि वास्तविकरूपमा राजनीतिक ‘भिजन’ का दृष्टिले नयाँ र वैकल्पिक हुन सकेका छैनन्। त्यसैले यथास्थितिमा नयाँ र वैकल्पिक दलका रूपमा स्थापित हुने सम्भावना भने क्षीण देखिन्छ।


ट्विटर : @GejaWagle


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.