पहिले बिहे, पछि इन्गेजमेन्ट
काठमाडौं : कहीँ नभएको जात्रा नेपाली फिल्मका कलाकारले देखाउँछन्। यो जात्रा देखाउने लिस्टमा थपिएकी छिन्, दीपिका प्रसाईं। दुई फिल्म जेठी दीपिकाले दशैँलगत्तै निर्देशक दिवाकर भट्टराईसँगको फोटो राख्दै मिस्टर भट्टराई सधैँका लागि आफ्नो भएको घोषणा गरिन्।
दुवैको विवाहको समाचार आयो। यसमा पनि केहीमा दुवैले इन्गेजमेन्ट गरेको खबर आयो अनि केहीमा विवाह नै गरेको। बुझ्दै जाँदा थाहा भयो, कोर्ट म्यारिज पहिले नै भइसकेको रहेछ।
दशैँको मुखमा इन्गेजमेन्ट गरेका रहेछन्। त्यो पनि हो/होइन, पुष्टि हुन बाँकी नै छ। किनकि, सार्वजनिक फोटो इन्गेजमेन्ट गरेजस्तो लाग्दैन। अझ बजारमा आएको समाचारअनुसार फोटो सार्वजनिक भएकै दिन दुवै थाइल्यान्ड जाँदै थिए।
नेपालमा इन्गेजमेन्ट मात्र गरेर, कुनै पनि परिवारले छोरीलाई ज्वाइँसँग हनिमुन मनाउन अनुमति दिँदैन। दीपिकाको केस अपवाद भयो भने बेग्लै कुरा।
अझ कोर्ट म्यारिज गरेको हो भने त्यो विवाह नै हो। फेरि इन्गेजमेन्ट मात्र गरेको भनेर किन पाठक अलमल्याउनु? दीपिकाको हतारो बिहे गर्नमा मात्र होइन, समाचारमा पनि देखियो। जोडीले बिहे गरेको कि इन्गेजमेन्ट मात्र ? प्रमाणसहित भन्दिने हो कि?