सय पर्यटकीय गन्तव्यमा लमजुङको घलेगाउँ र काउलेपानी

सय पर्यटकीय गन्तव्यमा लमजुङको घलेगाउँ र काउलेपानी

बेसीशहर : सरकारले सार्वजनिक गरेको देशभरका पर्यटकीय गन्तव्यको सूचीमा लमजुङको घलेगाउँ र काउलेपानी होमस्टे पनि परेका छन् ।

संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले प्राकृतिक, पूरातात्विक, ऐतिहासिक सांस्कृतिक तथा धार्मिक दृष्टिका आधारमा देशभरबाट नयाँ एक सय पर्यटकीय गन्तव्य छनोट गर्दा लमजुङका दुई गाउँ परे ।

सरकारले स्थापित तथा प्रवद्र्धन गर्नुपर्ने र नयाँ तथा विकास गर्नुपर्ने गरेर करिब दुई सय गन्तव्य पहिचान गरेको छ । जसमध्ये नयाँ गन्तव्यमात्र एक सय छन् ।

मन्त्रालयले नयाँ पर्यटकीय गन्तव्यको विकासका लागि चालु आर्थिक वर्षमा विनियोजित बजेटबाट रकम बाँडफाँड हुने बताइएको छ । सरकारले छानेका स्थापित तथा प्रवद्र्धन गर्नुपर्ने स्थानमा सार्क राष्ट्रको नमूना घलेगाउँ र नयाँ तथा विकास गर्नुपर्ने स्थानमा नेपालकै नमूना होमस्टे काउलेपानीलाई छनोट गरेको हो ।

घलेगाउँ :
हिमालै हिमालको काखमा रहेको करिब छ सय वर्ष पुरानो घलेगाउँमा हिमाली दृष्यावलोकन, सुधारिएको होमस्टेसँगै परम्परागत गुरुङ संस्कृति झल्कने घाँटु, सोरठी, सेर्गा, कृष्णचरित्रलगायत नृत्य, नमुना चिया बगानको अवलोकन, गुरुङ खाना, सूर्योदय र सूर्यास्तको दृष्यावलोकन गर्न सकिन्छ । यस्तै सामूहिक भेडापालनको अवलोकन, बोटानिकल गार्डेन र भ्यू टावर आदि घलेगाउँका आकर्षणहरु हुन ।

सुरुमा १३ घरबाट सुरु भएको घलेगाउँको होमस्टे अहिले ३५ घरमा विस्तार भएको छ । दक्षिण एसियाकै नमुना गाउँका रूपमा विकास भएको घलेगाउँमा पर्यटकको आगमनसँगै स्थानीय बासिन्दाको आर्थिकस्तर पनि उकासिँदै गएको छ ।

लमजुङको बेसीसहरबाट मोटरमा दुई घण्टामा घलेगाउँ पुग्न सकिने भएपछि हाल आन्तरिक पर्यटकको आगमनमा निकै बृद्धि भएको हो । दैनिक दुईसय भन्दा बढी आन्तरिक पर्यटक आउने गरेको पर्यटन व्यवस्थापन समिति ग्रामिण पर्यटन घलेगाउँका अध्यक्ष प्रेम घलेले बताए । ‘घलेगाउँमा बार्षिक ३० हजार बढी पर्यटक आउने गरेका छन’, घलेले भने, ‘पर्यटकबाट मात्रै गाउँमा करोड बढी रकम भित्रिएको छ । गाउँमै कृषि उपजको विक्री र रोजगारीको अबसर समेत खुलेको छ ।’

समुद्री सतहबाट २ हजार १ सय मिटर उचाइमा रहेको घलेगाउँबाट लमजुङ हिमाल, मनासुलु, माछापुच्छ«े, अन्नपूर्ण, हिमालचुली लगायतका हिमाल नजिकबाट नियाल्न सकिन्छ भने मस्र्याङदी, खुदी, मादी लगायतका नदीको मनोरम दृष्य देख्न सकिन्छ । पाहुनाहरुको न्यानो सत्कार गरिने घलेगाउँ पुग्ने पर्यटकलाई दही चामलको अक्षता र फूलमालाले स्वागत गर्दै दुलही झै भित्राउने चलन छ ।

काउलेपानी :
गाउँ पर्यटन प्रवद्र्धन मञ्च (भिटोफ) ले नेपालकै उत्कृष्ट होमस्टे गाउँ घोषणा गरेपछि काउलेपानी होमस्टेमा आन्तरिक पर्यटकको चाप बढेको छ । लमजुङको सदरमुकाम बेसीशहरबाट मोटरमा करिब ७ किलोमीटर कच्ची बाटो पार गर्दै पुगिने गाउँशहरको काउलेपानी गाउँ समुन्द्री सतहदेखि १ हजार ६ सय मिटर उचाइमा छ । काउलेपानीबाट बुद्ध, मनास्लु, अन्नपूर्ण, लमजुङ लगायत १४ वटा हिमश्रृङ्खला देख्न सकिन्छ ।

लमजुङ दरबार, काउलेपानी देवी मन्दिर लगायत ऐतिहासिक महत्व बोकेको काउलेपानी क्षेत्रमा गुरुङ, नेवार, भुजेल लगायतका जातजातिको बसोबास छ । काउलेपानीको होमस्टेसँगै स्थानीयवासिन्दाको कला, संस्कार र संस्कृतिले काउलेपानी पर्यटकीय गन्तब्यको रुपमा विकसित हुँदै गएको होमस्टे व्यवस्थापन समितिका अध्यक्ष देउबहादुर गुरुङले बताए ।

काउलेपानीलाई पर्यटकीय गन्तब्यको रुपमा विकास गर्न शीरखोला आमा समूह पनि उत्तिकै लागि परेको छ । गाउँमा आउने पर्यटकलाई आमा समूहकै नेतृत्वमा स्वागत सत्कार गर्ने गरिएको छ । गुरुङ, नेवार र भुजेल जाति गरी २७ घरधुरी रहेको उक्त गाउँका १२ घरमा होमस्टेको व्यवस्था मिलाइएको छ ।

काउलेपानी पुगेपछि आर्गानिक अन्नको साथमा लोकल कुखुरा, गुन्द्रुकको अचार, सिस्नुको खोले, कोदाको रोटी, दूध, दही अनि लोकल रक्सी खान पाइन्छ । भव्य स्वागत सत्कारसहित बेलुकाको खाजा, खाना, क्याम्प फायरसहितको सांस्कृतिक कार्यक्रम, सुत्ने र बिहानको नास्तासहित एक हजारमा काउलेपानीसँग साइनो जोड्न सकिन्छ । त्यहाँ पुग्ने पर्यटकले शिरखोला आमा समूहको भब्य स्वागत सत्कार र विदाई समेत पाउने गरेका छन् ।

यसबाहेक सिउरुङ, तुर्लुङकोट, राईनासकोट, नरुवल, खासुर लगायत गाउँलाई पर्यटकीय गन्तव्यमा छुटाइएको भन्दै स्थानीय अगुवाले गुनासो गर्दै आएका छन् । यसबारे उनीहरुले सम्बन्धित निकायसँग ध्यानाकर्षण गराउने बताएका छन् ।


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.