लोकवार्ता परिषदको आठौं सम्मेलन सम्पन्न
भोजपुर : नौ बुँदे घोषणापत्र जारी गर्दै लोकवार्ता परिषदको तीन दिने आठौं राष्ट्रिय सम्मेलन शुक्रबार सम्पन्न भएको छ।
त्रिभुवन विश्वविद्यालयमा लोकवार्ता विषयको पठनपाठन गर्न पाठ्यक्रम तर्जुमा भइसकेको भए तापनि पठनपाठन नभइरहेको हुँदा यथाशीघ्र पठनपाठन सञ्चालन गर्न माग गरिएको छ।
साथै, लोकवार्ता विषय मध्यपश्चिमाञ्चल विश्वविद्यालयमा स्नातकोत्तर तहमा पठनपाठन गर्ने गराउने निर्णय गरेकाले आभार प्रकट गरिएको छ।
सँगै षडानन्द र योगमायाका योगदानको कदर गर्दै भोजपुरमा षडानन्द–योगमाया विश्वविद्यालय वा कुनै उच्च शैक्षिक–प्राज्ञिक प्रतिष्ठान स्थापना गरी यस क्षेत्रको महत्व अभिवृद्धि गर्न पहल गर्नुपर्ने घोषणापत्रमा उल्लेख छ।
सम्मेलनका लागि लोकवार्ता केन्द्रित ८४ वटा कार्यपत्र छानिएकोमा ६१ वटा कार्यपत्र प्रस्तुत गरिएका थिए। अमेरिका, अष्टे«लिया भारतको दार्जिलिङ, सिक्किम, आसामका सहभागीबाट पनि कार्यपत्र प्रस्तुत गरिएका थिए।
सोमबार धरानको विमल गुरुङ स्मृति पुस्तकालयबाट अनौपचारिक कार्यक्रम सुरु भइ भोजपुर बहुमुखी क्याम्पसमा समापन भएको थियो।
मंगलबार भोजपुरको सदरमुकाममा सांस्कृतिक झाँकीका साथ नगर परिक्रमा गरी टुँडिखेलमा औपचारिक रुपमा कार्यक्रमको आयोजना गरिएको थियो।
उद्घाटन सत्रका प्रमुख अतिथि भोजपुर नगरपालिकाका मेयर कैलाशकुमार आलेले देशविदेशका लोकसंस्कृतिकर्मी भोजपुरमा भेला भएर ऐतिहासिक कार्यक्रम गरेकोमा खुशी व्यक्त गरे।
समापन सत्रका प्रमुख अतिथि नेपाल संस्कृत विश्वविद्यालयका उपकुलपति प्रा.डा कुलप्रसाद कोइरालाले देशका विभिन्न भेगमा लोकवार्ता परिषद्ले नियमित गोष्ठी गरी कार्यपत्रको संकलनसमेत प्रकाशित गर्ने कार्य प्रशंसनीय रहेको बताए।
लेप्चाको लोककथाबारे कार्यपत्र प्रस्तुत गरेका सिक्किम केन्द्रीय विश्वविद्यालयका सहप्राध्यापक बलराम पाण्डेले भने, ‘नेपालका लोकसंस्कृतिकर्मीले झैं भारतका नेपालीभाषी लोकसंस्कृतिकर्मीले पनि यस्तो सम्मेलन गर्ने सोच बनाइसकेका छौं।’
उनले भूगोलले विभाजन गरे पनि दुवै देशको कतिपय लोकसंस्कृति एउटै रहेकाले मिलेर अनुसन्धानमा लाग्नुपर्ने विचार राखे।
सिक्किमको लोकनाटकबारे कार्यपत्र प्रस्तुत गरेकी नीलम गुरुङले आफूले अन्तर्राष्ट्रिय स्तरको सम्मेलनमा पहिलो पटक सहभागिता जनाएको बताउँदै युवा अनुसन्धानकर्मीलाई अग्रजले अघि बढ्ने बाटो बनाउन आग्रह गरिन्।
अवसरमा विभिन्न व्यक्तिलाई सम्मानित गरिएको थियो। भोजपुरकी रत्न योगमायाबारे पुस्तक लेखेकोमा नीलम कार्की निहारिका, नेपाली लोकदोहरीमा विद्यावारिधि गरेकी अमेरिकी आना स्टिर, षडानन्द क्षेत्रका लोकगायक सुरेन्द्र पुलामी, करुवालगायत हस्तकलाका निर्माता टक्सारका बुद्धरत्न शाक्य लगायत सम्मानित भएका थिए।
कार्यक्रमका सहभागीहरु राणाकालमै मुद्रा छापिने टक्सार क्षेत्र, राणाकालमै निजी स्कुल खोली शिक्षामा लागेका आवाल ब्रह्मचारी षडानन्द अधिकारीको आश्रम क्षेत्रको पनि अध्ययनअवलोकन गरेका थिए। लोकसंस्कृतिकर्मीलाई मायाको चिनोस्वरुप उद्योग वाणिज्य संघ भोजपुरका अध्यक्ष डम्बर श्रेष्ठले संघको तर्फबाट भोजपुरे खुकुरी उपहार प्रदान गरे।
यसैगरी सम्मेलनले अध्यक्षमा पुनः प्रा डा प्रेमकुमार खत्रीलाई सर्वसम्मत रुपमा चयन गरेको छ। १७ सदस्यीय समितिको उपाध्यक्षमा कपिल लामिछाने र यज्ञराज उपाध्याय, महासचिवमा भक्त राई, सचिवमा शीतल गिरी र कोषाध्यक्षमा धु्रव भट्टराई रहेका छन्।
सदस्यमा भवेश्वर पंगेनी, धु्रव घिमिरे, दिव्यश्वरी जोशी, केवी सिम्पल, मनोहर लामिछाने, गायत्री पराजुली, अम्बादत्त भट्ट, मुकुन्द शर्मा, धनेश्वर नेपाल र प्रवीण पुमा रहेका छन्।
आगामी वर्ष दसैं र तिहारको बिचमा परिषदको नवौं राष्ट्रिय सम्मेलन बमकुमारी बुढाको संयोजनमा रोल्पामा हुने भएको छ।