पर्यटन बोर्डको बजेट १ अर्ब ७१ करोड
काठमाडौं : नेपाल पर्यटन बोर्डले ०७५/७६ मा एक अर्ब ७१ करोडको बजेट स्वीकृत गरेको छ। पर्यटन बोर्ड सञ्चालक समितिले साढे तीन महिनापछि शुक्रबार बजेट स्वीकृत गरेको हो। बजेटको प्राथमिकता पर्यटन प्रवर्द्धन र बजारीकरणमा छ। बोर्डले चीन र भारतमा नेपाल प्रवर्द्धन गर्न प्राथमिकता दिँदै बजेट स्वीकृत गरेको नेपाल पर्यटन बोर्डका प्रमुख कार्यकारी अधिकृत (सीईओ) दीपकराज जोशीले बताए। उनले भने, ‘बोर्डका कर्मचारीसँगै पर्यटनका अन्य जनशक्तिलाई क्षमता अभिवृद्धिको तालिम दिने बजेटको प्रथामिकतामा छ।’
बजेटमार्फत टुरिजम स्याटलाइट एकाउन्टको काम पनि अगाडि बढाइएको छ। बोर्डले केन्द्रीय तथ्यांक विभाग र नेपाल राष्ट्र बैंकसँग सहकार्य गर्ने गरी उक्त कार्यक्रम बजेटमा समेटेको छ। बोर्डले तय गरेको चालू आवको बजेटको प्रमुख खर्चमा पर्यटन बजार व्यवस्थापन तथा प्रवर्द्धनमा ३७ करोड ३५ लाख, जनसम्पर्क तथा प्रचारप्रसारमा ३२ करोड १५ लाख, पर्यटन सम्पदा तथा संशाधन विकासमा २४ करोड ३९ लाख, अनुसन्धान योजना तथा अनुगमनमा पाँच करोड ८० लाख, प्रादेशिक कार्यलाई सात करोड ६६ लाख छ।
बोर्डले पहिलोपटक पर्यटकीय होटल र इको रिसोर्ट बनाउने योजना अगाडि सारेको छ। ‘खप्तडमा पुग्ने पर्यटकले बस्ने खाने व्यवस्था नहुँदा समस्या भएकाले बोर्डले वातावरणमैत्री रिसोर्ट खोल्न लागेको हो। बोर्डले लगानी गर्न र आम्दानी गर्न मिल्छ’, जोशीले भने। बोर्डले व्यक्ति सरह लगानी गर्न सक्ने व्यवस्था रहेकाले होटल तथा रेस्टुरेन्ट बनाउने योजना अगाडि सारिएको जोशीले जानकारी दिए। बोर्डले निजी क्षेत्रबाट लिने प्रवर्द्धन शुल्कलाई आम्दानीको माध्यम बनाएको छ। योजना बनाइदिने, परामर्शतादाको काम पनि बोर्डले गर्दै आएको छ। प्रतिफल लिने ठाउँमा पनि लगानी गरौं भनेर योजना ल्याएको सीईओ जोशीले बताए।
अन्तर्राष्ट्रिय स्तरमा नेपाल प्रवर्द्धन गर्न आधुनिक प्रचारको शैली अपनाउने, डिजिटल मिडियामा केन्द्रित गर्ने, पर्यटन भ्रमण वर्ष २०२० सफल बनाउन बोर्डले कार्यक्रम तय गरेको जोशीले जानकारी दिए। उनले भने, ‘बजेट प्राथमिकता चीन र भारत, युरोप, अमेरिकी देशका पर्यटक भित्र्याउन केन्द्रित छ।’
बोर्डले चालु आवको बजेटमा विदेशी मिडियालाई पनि प्राथमिकता दिएको छ। बोर्डले एक वर्षमा विभिन्न पत्रपत्रिका, टेलिभिजन, ब्लगर, टुर राइटरसहित एक हजार जना मिडिया प्रतिनिधिमाझ नेपालको प्रवर्द्धन गर्ने भएको छ। त्यसका लागि बोर्डले करिब १० करोड रुपैयाँ खर्च गर्दै छ। त्यसबाट नेपालको ब्रान्डिङ र पर्यटकीय गन्तव्य विकास गर्न मद्दत पुग्छ। बोर्डले गुणस्तरीय पर्यटक नेपाल भित्र्याउन विशेष जोड दिएको छ।
बुद्धिस्ट इन्टरनेसनल ट्राभल मार्ट गर्ने
नेपालमा धार्मिक पर्यटन प्रवर्द्धन गर्न बोर्डले चालू आवमै ‘बुद्धिस्ट इन्टरनेसनल ट्राभल मार्ट’ गर्ने भएको छ। यो वर्षको बजेटमा नयाँ कार्यक्रमका रूपमा मार्टलाई अगाडि सारिएको हो। त्यसका लागि वार्षिक दुई करोड रुपैयाँ खर्च हुनेछ। बोर्डले ट्राभल व्यवसायीको छाता संगठन नेपाल एसोसिएसन ट्राभल एन्ड टुर एजेन्ट्स (नाट्टा)सँग सहकार्य गरेर मार्ट गर्ने योजना बनाएको छ।
ब्रान्डिङ सातै प्रदेशमा
बोर्डले चालू आवको बजेटबाट सातै प्रदेशमा पर्यटकीय ब्रान्डिङ गर्ने भएको छ। हरेक प्रदेशमा पर्यटकीय सम्भावना औल्याउन र पर्यटन प्रवर्द्धन गर्न ब्रान्डिङ गर्न ब्रान्डिङ गर्न लागिएको हो। बोर्डले नेपाल आएका विदेशी पर्यटक पदयात्रा जाँदा पदयात्री सूचना व्यवस्थापन प्रणाली (टिम्स) कार्ड दिने गरेको छ।
यो कार्डबापत लिने शुल्क वार्षिक १८ देखि २० करोड रुपैयाँ संकलन हुन्छ। बोर्डले पर्यटनकै सुरक्षा, तथ्यांक अध्यावधिक, प्रवर्द्धनात्मक सामग्री, मजदुर हित बिमासहित शीर्षकमा खर्च गर्ने गरी यस्तो टिम्स शुल्क लिने गरेको छ।