पर्यटक लोभ्याउने ‘बुङ छहरा’
बेसीसहर : वर्षात् सकिएर हिउँद लागिसक्यो। हिमालमा हिउँ पग्लन थाले, खोलानालामा पानी घट्न थाल्यो। तर, लमजुङको मस्र्याङ्दी गाउँपालिका–५ च्याम्चेमा रहेको बुङ छहरा सदाबहार छङछङ झरिरहन्छ। विश्वविख्यात अन्नपूर्ण पदमार्गमा रहेको बुङ छहराले आन्तरिक तथा बाह्य पर्यटक आकर्षित गरिरहेको छ।
अन्नपूर्ण पदमार्गमा पैदल तथा सवारीसाधनमा हिड्ने पर्यटक एक पटक बुङ छहरामा नरोकी धरै पाउँदैनन्। तारे भीरमा छङछङ गर्दै झरेको छहरालाई पृष्ठभूमि पार्दै तस्वीर लिनेको भीड लाग्छ। स्थानीय बाबुराम तामाङका अनुसार छहरा हेर्न रोकिने पर्यटकका कारण होटल व्यवसाय समेत चम्किएको छ। ‘हिजोआज दैनिक ३÷४ सय पर्यटक ओहोरदोहोर गर्छन्’, तामाङले भने, ‘छहरा हेर्न रोकिने पर्यटकले आम्दानी बढाएको छ।’ छहराको वारी च्याम्चेमा होटल छन्। लोकल कुखुरासँगको खाना, पेय पदार्थ, चिया कफी बेच्न व्यवसायीलाई भ्याइनभ्याइ हुन्छ।
मस्र्याङ्दी गाउँपालिकाका अध्यक्ष अर्जुन गुरुङले गाउँपालिकाभित्र पर्यटक लोभ्याउने यस्ता झरना धेरै रहेको बताए। ‘अन्नपूर्ण पदमार्गमा गाउँपालिकाभित्र झरना धेरै छन्। यी झरनाले पर्यटकलाई बाटो काटेको पत्तै हुँदैन’, अध्यक्ष गुरुङले भने, ‘यी झरनालाई व्यवस्थित गरी पर्यटन प्रवद्र्धन गर्ने योजना बनाएका छौं।’
पर्यटकीय सिजन सुरु भएकाले दैनिक ठूलो संख्यामा पर्यटक हिड्छन्। भीरको बाटोमा मन सिरिंग बनाउँदै हिँडेका पर्यटकले आँखै अगाडि ठोकिने छहरा देख्दा दुखकष्ट सबै भुल्ने वडाध्यक्ष लेखमान गुरुङले बताए। छहरा नजिकै भिर मौरीका दर्जनौ गोला छन्। भीर मौरी र छहरा हेर्दै सेल्फी खिच्दै पर्यटक घण्टौंसम्म भुल्ने गरेको स्थानीय बताउँछन्।
बुङ छहराले होटल व्यवसाय फस्टाएको छ। सदरमुकाम बेसीसहरबाट ३२ किलोमिटर दूरीमा पर्ने यस छहरा वर्षातमा निकै ठूलो देखिन्छ। बाह्रै महिना रहिरहने छहरालाई थप प्रवद्र्धन गर्न गाउँपालिकाले एक लाख सहयोग गरेको छ। सो रकमले छहरासम्म जाने बाटो बनाइने भएको छ। छहरालाई थप व्यवस्थित गर्न सके पर्यटकको मुख्य आकर्षण बन्ने पर्यटन व्यवसायी नरबहादुर गुरुङ बताउँछन्।