नानीबाबुसँग महावीर पुनका मनका कुरा

नानीबाबुसँग महावीर पुनका मनका कुरा

मेरो जन्म ६३ वर्षअघि म्याग्दीको दुर्गम गाउँ नागीमा भएको हो। हाम्रो गाउँ पुग्न पोखराबाट हिँडेर करिब चार दिन लाग्थ्यो। त्यतिबेला गाउँमा गाडी आइपुग्छ भन्ने कल्पना पनि थिएन।  हामी गाउँलेको दैनिकी भेडाबाख्रा चराउने काममा सीमित थियो। सरकारी पक्षबाट गाउँमा विद्यालय खुल्ने कुरै थिएन। ब्रिटिस एवं इन्डियन लाहुरमा जान चाहने युवालाई साक्षर बनाउनका लागि गाउँलेको सक्रियतामा स्कुल खुलेको थियो। तर त्यहाँ शिक्षकहरू थिएनन्। बूढापाका र अवकाश प्राप्त लाहुरेहरूले नै आफूले जानेबुझेका कुरा सिकाउँथे।

हाम्रो पालामा किताब, कापी, कलम आदिको चलन नै थिएन। हामी काठको पाटीमा खरीले लेख्थ्यौं। स्कुलमा पढ्नेभन्दा पनि खेल्नमा बढी सक्रिय हुन्थ्यौं। घरमा बस्दा काम गर्नुपर्ने भएकाले हामी स्कुलमा समय बिताउन मन गथ्र्याैं। हाम्रो स्कुल गर्मी समयमा लेकमा र जाडो याममा बेसीमा सरिरहन्थ्यो। खेतीपातीको मौससमा बन्द हुन्थ्यो। स्कुल बन्द हुँदा भेडी गोठमा जान्थेँ। हामी केटाकेटीलाई भुल्याउन खेलकुदमा अभ्यस्त पार्ने काम गरिन्थ्यो। बूढापाकाहरू आफू आर्मीमा छँदा खेलेका कवाज, पीटी सिकाउँथे।

पछि हाम्रो स्कुलले कक्षा ७ सम्मको स्वीकृति पायो। तैपनि स्कुलमा किताब कापी आइपुगेनन्। गाउँका कसैलाई पनि माथिल्लो तहसम्म केटाकेटीलाई पढाउनुपर्छ भन्ने सुझबुझ थिएन। मेरो बुवाले मलाई चार घन्टा पैदल दूरीमा रहेको विद्यालयको कक्षा ८ मा भर्ना गरिदिनुभयो। त्यसपछि पनि मेरो पढाइलाई निरन्तरता दिन बुवाले मलाई सपरिवार बसाइँ सरेर चितवन ल्याउनुभयो। हामी ६ दिन हिँडेर चितवन आएका थियौं। मैले त्यहाँ एसएलसीसम्मको अध्ययन गरेँ।

छोरालाई माथिल्लो तहसम्म पढाउने बुवाको हुटहुटीअनुसार काठमाडौं ल्याएर अमृत साइन्स कलेजमा भर्ना गरिदिनुभयो। त्यहाँ आईएस्सीसम्मको अध्ययन गरेपछि घरायसी कारणले मेरो पढाइ बीचैमा रोकियो। म चितवनमा नै अध्यापन गर्न थालेँ। यो समयमा मेरा दुई भाइ र बहिनीले पढ्ने मौका पाए।

त्यसबेला नेपालका गाउँमा प्रविधिको विकास भएको थिएन। प्रविधिको नाममा हामी आकाशमा हवाईजहाज देख्थ्यौं। हाम्रो गाउँको दक्षिणतिरबाट पश्चिमतर्फ हवाईजहाज जान्थ्यो। बूढापाकाहरू ढोरपाटन गएको भन्थे। हामी त्यसलाई आँखाले भ्याउन्जेल एकोहोरो हेरिरहन्थ्यौं। लाहुरेहरू छुट्टीमा घर आउँदा रेडियो बोकेर आउँथे। मलाई त्यति सानो बाकस भित्र मान्छे बसेर कसरी बोल्छन् भन्ने कुराले खुल्दुली हुन्थ्यो। एकपटक बजिरहेको रेडियोको छेउमा गएर भित्र के छन् भनेर राम्ररी नियालेँ। तर केही देखिनँ।

मैले १३ वर्षको उमेरमा बुवासँग पोखरा पेन्सन थाप्न आउँदा पहिलो पटक जिप देखेँ। जिप कुदेको देखेर एकदमै रमाइलो अनुभव भयो। पोखराबाट बुवाले नुन, तेल र सामान्य कपडा किनेर लैजानुहुन्थ्यो। लेकको बस्ती भएकाले हामी भातको सट्टा आलु र ढिँडो खान्थ्यौं। दसैंमा दुई दिन, तिहारमा एक दिन, चैते दसैंमा एक र माघे तथा साउनेसंक्रान्तिमा एक एक गरेर वर्षमा ६ दिन धानको भात खान पाउँदा औधी रमाइलो हुन्थ्यो। गुलियो चिया प्रजातन्त्र दिवसको दिन र जनैपूर्णिमाको मेलामा मात्रै खान पाइन्थ्यो।

त्यसको एक वर्षपछि नारायणघाटमा गाडी चढ्न पाउँदाको रमाइलोे आज पनि सम्झनामा आइरहन्छ। मैले कक्षा ९ मा भर्ना भएपछि मात्र पहिलो पटक चप्पल लगाउने मौका पाएँ। हाम्रो गाउँमा चप्पल जुत्ता लगाउने चलन नै थिएन। हामी हिउँ पर्दासमेत खाली खुट्टै हिँड्थ्यौं। पहिलो पटक चप्पल लगाउँदा मलाई दायाँ र बायाँ चप्पल छुट्ट्याएर लगाउन महिनौं लागेको थियो। बानी नपरेर मैले चार जोर चप्पल खोलेकै ठाउँमा छाडेर हराएको थिएँ।

दसैंमा दुई दिन, तिहारमा एक दिन, चैतेदसैंमा एक र माघे तथा साउनेसंक्रान्तिमा एक एक गरेर वर्षमा ६ दिन धानको भात खान पाउँदा औधी रमाइलो हुन्थ्यो। गुलियो चिया प्रजातन्त्र दिवसको दिन र जनैपूर्णिमाको मेलामा मात्रै खान पाइन्थ्यो।

चितवनमा अध्यापन गर्न थालेको १२ वर्ष भएको थियो। एसएलसी परीक्षाको विषयलाई लिएर सीडीओसँग मेरो ठूलो विवाद भयो। झगडाले उग्र रूप लिएपछि कडा स्वभावका उनले मलाई सात दिनसम्म थुने। म तत्कालै राजीनामा दिएर काठमाडौं आएँ। एकजना साथीको सल्लाहमा अमेरिका पढ्न जाने सोच बनाएँ। नयाँसडकमा रहेको अमेरिकन लाइब्रेरीमा गएर बुझेँ। त्यसबेला इमेल इन्टरनेटको सुविधा थिएन। चिठीपत्रको आदानप्रदान भएर मेरो काम बन्न डेढ वर्ष लाग्यो। म कुनै सोचविचार लिएर काठमाडौं आएको थिइनँ। मलाई अमेरिका पढ्न जान पाइन्छ भन्ने कुरासमेत थाहा थिएन।

अमेरिकामा मैले साइन्स र कम्प्युटर पढेँ। त्यतिबेला नेपालमा फाट्टफुट्ट कम्प्युटर आएको सुनिन्थ्यो। म पाको र मेहनती विद्यार्थी भएकाले पूर्ण छात्रवृत्ति पाएको थिएँ। यसले मलाई पैसाको दुःख भएन। पैसाकै लागि काममा समय खर्चिनु परेन। सारा समय पढाइमा खर्चिन पाएकाले मेरो अमेरिका बसाइँ महत्वपूर्ण रह्यो। धेरै कुरा सिक्ने मौका पाएँ।

अमेरिकाबाट फर्र्किएपछि गाउँमा हाइस्कुल बनाउन सक्रिय भइयो। गाउँमा इमेल इन्टरनेटको सुविधा पुर्‍याइयो। पर्यटन प्रवद्र्धन, आयआर्जन, प्रकृति संरक्षण, सामुदायिक विकासमा क्षेत्रमा काम गर्ने अवसर मिल्यो। हामीले १४ जिल्लाका दुई सय गाउँमा इन्टरनेट पुर्‍याएका छौं। हाल आविष्कार केन्द्रको माध्यमबाट प्रतिभाशाली युवालाई काममा आकर्षण गरिरहेका छौं। यो सामुदायिक विकासको कामजस्तो होइन। यसमा सफलता हात लाग्न लामो समय लाग्छ।

अनुसन्धानका काममा खर्च नगरेसम्म देश विकास हुन नसक्ने रहेछ। सानातिना कामले मात्रै देश विकास नहुने रहेछ। देशको समग्र आर्थिक अवस्थामा सुधार आएपछि मात्रै अन्य कुरामा सुधार हुने रहेछ। यसका लागि प्रतिभा पलायन हुन बाट रोक्नुपर्ने रहेछ। हाल विभिन्न समूहले १३ वटा काम गरिरहेका छन्। कतिपय छलफलका चरणमा छन्।

पढाइ भनेको स्कुल र क्याम्पसको औपचारिक पढाइ मात्रै होइन रहेछ। वरपरको वातावरणबाट समेत धेरै कुरा सिक्नुपर्ने रहेछ। हरेक कुरालाई जिज्ञासापूर्वक खोजी गर्नुपर्ने रहेछ। मान्छे सिर्जनशील भएन भने परनिर्भर बन्ने रहेछ।

(सामाजिक अभियन्ता पुनसँग समीरबाबु कट्टेलले गरेको कुराकानीमा आधारित।)


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.