व्यंग्यको सिस्नुपानीले झ्याम्म
देउवाजीले ब्याटिङमा शतक हान्लान् जस्तो छ
केही मन्त्री आउनुभयो, केही मन्त्री जानुभयो
बीबीसीमा देउवाजीले झण्डै जनता पिट्नु भो
पत्रकारले प्रश्न सोध्दा दारा किट्नु भो
पछिल्लो पटक सरकारमा रहँदा ठूलो मन्त्रीमण्डल बनाएर आलोचित तत्कालीन प्रधानमन्त्री शेरबहादुर देउवामाथि सिस्नुपानी नेपालले २०७४ सालको देउसीमा हानेका व्यंग्यबाणका अंश हुन्, यी। तिहारको छेको पारेर देउसीमार्फत शासक, प्रशासकका बदमासीमाथि सिस्नुपानीले २० वर्षदेखि तीखो व्यंग्य गरिरहेको छ।
कवि, कलाकारलाई समूहमा समेटेको सिस्नुपानीले यसपालिको तिहारमा पनि देउसी खेल्ने तयारी गरिरहेको छ। देउसीसँगै विभिन्न व्यंग्यात्मक प्रहसन दिने सिस्नुपानीले पछिल्ला केही वर्षदेखि प्रज्ञा–प्रतिष्ठानसँगको सहकार्यमा आफ्नो प्रस्तुति दिइरहेको छ। सिस्नुपानीका महासचिवसमेत रहेका व्यंग्य कवि टंक आचार्यका अनुसार यसपालि पनि सिस्नुपानीले कुकुर तिहारका दिन कमलादीस्थित प्रज्ञा–प्रतिष्ठानमा कार्यक्रम गर्नेछ।
निःशुल्क पास उपलब्ध गराइने कार्यक्रम नौ वटा टेलिभिजनबाट समेत प्रसारण गरिनेछ। ‘कार्यक्रममा नेपाली जनताको बोली सरकारलाई सुनाउनेछौँ,’ सिस्नुपानीका महासचिव आचार्यले भन्छन्, ‘राजनीतिमा अझै भागबन्डा छ, सरकार अलमलिएको छ, कर्मचारी निदाएका छन्। नेता, प्रशासकलाई सामुन्ने राखेर जनतालाई यी कुरा सुनाउनेछौँ।’
देउसी, प्यारोडी गीत, व्यंग्य कवितालगायत प्रस्तुति हुने कार्यक्रममा यसपालि मेचिदेखि महाकालीसम्मका संस्कृति झल्किने नृत्यसमेत सिस्नुपानीले समावेश गर्दै छ।
यसरी जन्मियो सिस्नुपानी
काठमाडौँ, प्रदर्शनीमार्गस्थित रत्नराज्यलक्ष्मी क्याम्पसमा हास्यव्यंग्यमा रुचि हुने युवा कविहरूलाई बोलाएर कार्यक्रम गरियो। त्यसमा सहभागी हुनेमध्ये चट्याङ मास्टर पनि एक थिए। यो २०५४ सालतिरको कुरा थियो।
हास्यव्यंग्यमार्फत समाजमा परिवर्तन ल्याउने काम गर्नुपर्छ भनी ठान्ने युवा कविहरूले ‘सिस्नुपानी’ गठन गरे।
आयोजक थिए, मास्टर्समा पढ्दै गरेका युवा कवि। त्यो कार्यक्रमपछि ती उत्साही युवालाई लाग्यो– अब संगठित समूह बनाएरै कार्यक्रम गर्नुपर्छ। त्यही सोचकै परिणामस्वरूप २०५५ वैशाख १९ मा ‘सिस्नुपानी नेपाल’ स्थापना भयो। हास्यव्यंग्य प्रहसनमार्फत भए पनि समाजका परिवर्तन ल्याउन योगदान गर्नुपर्छ भन्ने उद्देश्यले सिस्नुपानी समूह बनाएको अध्यक्ष लक्ष्मण गाम्नागे बताउँछन्। भन्छन्, ‘फरक किसिको काम गर्नुपर्छ।
व्यंग्यमार्फत नै भए पनि समाजमा परिवर्तन ल्याउने काम गर्नुपर्छ भन्ने महसुस भएपछि सिस्नुपानी गठन ग¥यौँ।’ त्यो व्यंग्य समूहको नाम सिस्नुपानी नै राख्नुमा अर्थ रहेको बताउँछन्, महासचिव आचार्य।
‘वरिपरिका विकृति देख्दा सानोतिनो व्यंग्यले पुग्दैन जस्तो लाग्यो’, सिस्नुपानी नामाकरणबारे आचार्य सम्झिन्छन्, ‘त्यस्तालाई सिस्नुपानी लगाउँदा नै ठीक हुन्छ भन्ने ठानेर यो नाम राखेका थियौँ।’
सिस्नुपानीलाई कला र साहित्यमा हास्यव्यंग्यबाट मनोरञ्जन गर्ने मञ्चका रूपमा व्याख्या गर्ने उनीहरू यो कलाकारको साझा मञ्चसमेत भएको बताउँछन्।
१५ जनाको कार्यसमिति रहेको सिस्नुपानीमा देशैभरि करिब तीन सय कलाकार आबद्ध रहेको आचार्य बताउँछन्। उनका अनुसार दुई दशकदेखि सक्रिय सिस्नुपानीको टिकेट नबेच्ने र कुनै पनि विदेशी संस्थाको अनुदान नलिने नीति रहेको छ।
जहिल्यै प्रतिपक्षी
ग्रामीण भेगमा बोलीचालीको भाषामा कसैलाई सजाय दिनुपरे ‘सिस्नुपानी’ लगाउनुपर्ने मत राखिन्छ। विम्बात्मक रूपमा यसले कडा खालको दण्ड बुझाउँछ। कलाकार मनोज गजुरेल आफूहरू शक्ति, सत्तामा रहेर गडबडी गर्नेलाई हास्यव्यंग्यमार्फत सिस्नुपानी लगाउने बताउँछन्।
असली व्यंग्य जहिल्यै सत्ताको टक्करमा हुने उनको विचार छ। उनी सत्तासँग सहानुभूति राख्दा व्यंग्य सकिने बताउँछन्। ‘व्यंग्य जहिले पनि सत्तासँग टकराउँछ,’ सिस्नुपानीका उपाध्यक्षसमेत रहेका उनी भन्छन्, ‘यो प्रतिपक्षी भूमिका हो। सत्तासँग सहानुभूति राख्नेबित्तिकै हास्यव्यंग्य सकिन्छ।’
शक्ति र सत्तामा रहेर गडबडी गर्नेलाई व्यंग्यमार्फत आफूहरूले सिस्नुपानी लगाउने गरेको सिस्नुपानीका कलाकार बताउँछन्।
सिस्नुपानीका उपाध्यक्षसमेत रहेका कवि एवं संस्कृतिविद् धीरेन्द्र प्रेमर्षि अप्ठ्यारो अवस्थामा आफूहरूले परिवर्तनको पक्षमा र निरंकुशताको विपक्षमा आवाज उठाएको बताउँछन्। त्यसलाई सम्झाउन उनी राजा ज्ञानेन्द्रको प्रत्यक्ष शासनलाई उदारण दिन्छन्। ‘राजाले प्रत्यक्ष शासन चलाउन थालेका बेला मिडिया पनि बन्द थिए, नागरिकको आवाज थुनिएको थियो,’ उनी भन्छन्, ‘तर, हाम्रो देउसीले गति मोडेन, निरंकुशताविरुद्ध प्रहार गर्दै देउसी खेलेका थियौँ।’
परम्परागत देउसीभन्दा भिन्नै हुन्छ, सिस्नुपानीको देउसी। कतिपयले तिहारको सांस्कृतिक महŒवलाई व्यंग्य मिसाएर बिगारेकोमा आलोचना गरेको अनुभव कवि गाम्नागेसँग छ। तर, आफूहरू सामाजिक उत्तरदायित्वसहित संस्कृतिलाई जोगाउन सचेत रहेको उनको दाबी छ। भन्छन्, ‘परम्परागत देउसी अर्कै खालको छ। हाम्रो अलि भिन्नै छ। हामी सामाजिक उत्तरदायित्वसहित संस्कृतिलाई जोगाउन सचेत छौँ।’
शक्तिमा रहेका शासक, प्रशासकलाई सामुन्ने राखेर व्यंग्य कस्छ, सिस्नुपानी नेपालले। यस्तो गर्दा उनीहरूमा केही फरक आउँछ ? कलाकार गजुरेलको अनुभव यस्तो छ, ‘हामी राजनीतिक व्यक्ति, प्रशासकलाई व्यंग्य गर्छौैं। भेट्दा उहाँहरू तपाईंहरूबाट जोगिनुपर्छ भन्नुहुन्छ।’
गाम्नागे चाहिँ सिस्नुपानी एउटा सांस्कृतिक आन्दोलन भएको र अप्रत्यक्ष रूपमा यसको राजनीतिक र सामाजिक प्रभाव हुने दाबी गर्छन्। ‘यो सांस्कृतिक आन्दोलन हो,’ उनी भन्छन्, ‘राजनीतिक आन्दोलनजस्तो एकै पटक उथलपुथल नभए पनि यसले केही न केही सामाजिक प्रभाव पारेको छ।’
आफूहरूकै कारण पछिल्लो समय खेलिने देउसी–भैलोमा सामाजिक विषयले स्थान पाउने गरेको उनको दाबी छ। कवि प्रेमर्षि आफूहरूको व्यंग्यबाट जनतामा आत्मविश्वास बढ्ने बताउँछन्। ‘पात्र धेरै फेरिए पनि प्रवृत्ति फेरिएको छैन्,’ उनी भन्छन्, ‘तर, हामीले व्यंग्य गर्दा नेता नसच्चिए पनि जनतामा आत्मविश्वास बढ्छ।’
व्यंग्य कवि टंक आचार्य भने केही परिवर्तन आएको देख्छन्। ‘थुप्रै बदलाव आएको छ,’ उनको तर्क छ, ‘कुनै समय राज्यसत्ता कब्जा गरेका निरंकुश राजाको विरोध गरेका थियौँ। अहिले राजनीतिलाई जागिर बनाएकाहरूको विरोध गरिरहेका छौँ।’
सिस्नुपानीलाई यदाकदा एकपक्षीय भएको आरोप लाग्ने गरेको छ।
वामपन्थी हाबी भएको भनिन्छ। कवि आचार्य सिस्नुपानी कुनै पनि राजनीतिक पार्टीको नभएको दाबी गर्छन्। भन्छन्, ‘हामी राजनीतिक पार्टीभित्रका होइनौँ। हामीले राजाको विरोध गरेका छौँ।माओवादीको युद्धका विकृतिविरुद्ध पनि बोलेका छौँ।’
प्रेमर्षि चाहिँ वामपन्थीलाई नैतिक समर्थन गर्ने कलाकारको बाहुल्य सिस्नुपानीमा रहेको स्वीकार गर्छन्। ‘हाम्रो समूहमा वामपन्थीप्रति सहानुभूति राख्ने साथी धेरै हुनुहुन्छ,’ उनी भन्छन्, ‘अहिले वामपन्थीकै सरकार भएकाले हामी व्यावसायिक छौँ कि छैनौँ भन्ने अग्निपरीक्षा यसपालिको देउसीमा हुनेछ।’