भारतसँग सीमा जोडिएका गाउँहरुमा खुलेआम जुवातास

भारतसँग सीमा जोडिएका गाउँहरुमा खुलेआम जुवातास

वीरगन्ज : प्रहरीको निरिहताका कारण पर्साको ग्रामीण भेगमा तिहार सुरु भएदेखि नै तास र कौडा खेल्ने जुवाडेहरुको अखडा बनेको छ। भारतसँग सीमा जोडिएका पर्साका गाउँहरुमा तिहार सुरु भएको दिनदेखि नै एउटै खालमा लाखौं रुपैयाको हारजित हुने गरि कौडा र तासको खुलेयाम खेल भइरहेको छ ।

पर्साको जगरनाथपुर गाउँपालिकाको मसीहानी, जानकीटोला, पिपरडारी र सोहरी, ठोरी गाउँपालिकाको सुर्वणपुर र विजयवस्ती, धोबीनी गाउँपालिकाको भिस्वा र धोबीनी, कालीकामाइ गाउँपालिकाको मुड्ली, पाकाहा मैनपुर गाउँपालिकाको धोरे, लहावर थकरी, मानीपुर र भेलाहा, पोखरीया नगरपालिकाको लम्हरीया, बहुदरमाइ नगरपालिकाको विश्रामपुर गाउँमा धनतेरश (धनवन्तरी पूजा) को दिनदेखि नै जुवा तास र कौडाको खेल भइरहेको हो ।

जीराभवानी गाउँपालिकाको महादेवपट्टी, सेढवा, जितपुर, सहजानपुर र शंकरसरैयामा त सडक छेउकै खाली पर्ति जग्गामा जुवातास र कौडा खेल्नका लागि टेण्ट नै हालिएको छ । ती टेण्टहरुमा कौडा र जुवा तास खेल्नेहरुको दिनभर खचाखच भिड नै लाग्ने गरेको छ । गाउँमा भइरहेको तास र कौडाको एउटै खालमा एक दिनमा तीन लाखदेखि १० लाख रुपैयाँसम्मको हारजित हुने गरेको स्थानीय बताउँछन् ।   

ग्रामीण भेगमा भइरहेको जुवातास र कौडा खेल्न सदरमुकाम वीरगन्ज, बाराको सिमरा र जितपुरका साथै सीमावर्ती भारतीय बजार रक्सौल र रामगढवा समेतका व्यापारी, तस्कर र पेशेवर जुवाडेहरु पुग्ने गरेका छन् । सदरमुकाम वीरगन्जमा दसैं यता प्रहरीले जुवातासमा कडाइ गरेपछि वीरगन्जका व्यापारी, तस्कर र जुवाडेहरु तास र कौडा खेल्न गाउँतिर लागेका हुन् ।

धनतेरशका दिनदेखि भइरहेको तास र कौडाको खेल छठ पर्वको भोलिपल्टसम्म चल्ने सेढवाका स्थानीय बताउँछन् । ग्रामीण क्षेत्रका करिब एक दर्जनभन्दा बढि गाउँ टोलमा तिहार सुरु भएदेखि नै लाखाैं रुपैयाँको हारजित हुने गरि खुलेयाम जुवातास र कौडाको खेल भइरहेको भएपनि प्रहरीले शुक्रबारसम्म एक जनालाइ पनि पक्राउ गर्न सकेको छैन। 

गाउँका स्थानीयका घर र सडक छेउको खुल्ला स्थानमै लाखाैं रुपैयाँको हारजित हुने गरि तास र कौडाको खेल भइरहेपनि प्रहरीले जुवातास रोक्न चासो नै नदिएको सेढवाका स्थानीय हरिहर कानुले बताए। गाउँमा खुलेआम रुपमा दिउँसो र राति दुवै समयमा जुवा भइरहेपनि गाउँमा अहिलेसम्म एक पटक पनि प्रहरी आएको छैन, उनले भने ,‘ सायद प्रहरीकै सेटिङमा यो काम भइरहेको होला।'  चार/पाँच वर्ष यता तिहारका बेला प्रहरीले कडाइ गरेपछि जुवातास रोकिए पनि यसपालीको तिहारमा भने प्रहरीले चासो नदेखाएका कारण गाउँमा खुलेआम रुपमा कौडा र जुवातास भइरहेको कानुले बताए। 

गत बुधबार दीपावलीको मध्यरातमा भने पर्साको पटेर्वासुगौली गाउँमा भइरहेको जुवा रोक्न गएको प्रहरीको टोलीमाथि स्थानीयले हातपात गरेपछि प्रहरी रित्तै हात फर्किएको थियो ।गाउँलेको हातपातबाट इलाका प्रहरी कार्यालय पटेर्वासुगौलीका प्रहरी सहायक निरिक्षक विवेक जयसवाल घाइते पनि भएका थिए। उक्त घटनापछि गाउँमा जुवातास खेल्न हालिएको टेण्ट बिहीबारदेखि हटाइएको छ तर स्थानीयको घरमा भने कौडा र तासको खेल भने चलि नै रहेको स्थानीय एक युवकले अन्नपूर्णपोष्टकर्मीलाई बताए। 

पर्साका प्रहरी उपरिक्षक रेवती ढकाल, तिहारमा हुने जुवा तासको खेल रोक्न मातहतका प्रहरी चौकीहरुलाइ कडा निर्देशन दिएको बताउछन्। चाडबाड वा कुनै बहानामा जुवा तास खेल्न पाइदैन , उनले भने ,‘ तिहारमा रमाइलोको नाममा जुवातास खेल्ने भन्ने सुनिन्छ त्यसैले मैले मातहतका सबै युनिटलाइ जुवातास रोक्न कडा निर्देशन नै दिएको छु।' केहि ठाँउमा  जुवातासको खेल भइरहेको खबर आएपछि ती स्थानमा प्रहरी पठाएको भन्दै उनले भने ,‘ यदि अहिले पनि कहि जुवातास भइरहेको छ भने त्यसलाइ रोक्न प्रहरी अझ कडा रुपमा प्रस्तुत हुन्छ ।'


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.