भाइटीका लगाउन हिँडेकी महिलाले बसबाट खसेर ज्यान गुमाइन्
जाजरकोट : भाइटीका लगाउन हिँडेकी एक महिलाको बसको ढोकाबाट खसेर ज्यान गएको छ । भाइटीका लगाउन माइती हिँडेकी रुकुम आठबीसकोटकी २५ वर्षीया तारा जैसीको जाजरकोटस्थित भेरी नगरपालिका–१ रिम्नामा बसको ढोकाबाट खसेर शनिवार विहान ज्यान गएको हो । उनको माइती रुकुमको चौरजहारी नगरपालिका–१२ मा रहेको छ ।
रुकुम पश्चिमको राडीबाट नेपालगञ्ज जाँदै गरेको भेरीगंगा यातायात व्यावसायी समितिको ना ४ ख ९३१७ नम्बरको बसको ढोकाबाट खसेर उनको ज्यान गएको प्रहरीले जनाएको छ ।
ढोकाबाट खसेकी उनलाई त्यही बसले किचेर मारेको आफन्तले आरोप लगाएका छन् । आफन्तले शवसमेत बुझ्न मानेका छैनन् । मृतकको शव पोष्र्टमार्टमका लागि जाजरकोट अस्पताल ल्याइएको छ ।