चंगा चेट : ‘लुट’कै धङधङी बोकेको फिल्म

चंगा चेट : ‘लुट’कै धङधङी बोकेको फिल्म

युवाकेन्द्रित पछिल्ला केही नेपाली फिल्म हेर्ने हो भने नेपाली युवाको साझा चरित्र के देखिन्छ भने पढाइप्रति विकर्षण, जसरी पनि पैसा कमाउने ध्याउन्न, यौन आशक्ति र सामाजिक अनुशासनहीनता।

नेपाली युवाको समस्या भनेर बनाइएका पछिल्ला फिल्मको उही आलाप गाउँदै निर्देशक दीपेन्द्र के खनालले ‘चंगा चेट’ बनाएका छन्। अन्य कथाजस्तै यस फिल्ममा पनि केही युवा पढ्न भनेर राजधानी काठमाडौं आइपुग्छन्, तर पढ्दैनन्। अरूलाई जस्तै उनीहरूलाई पनि पैसाको चरम आवश्यकता पर्छ। तर, पैसा कमाउन मेहनत गर्नुपर्छ भन्ने लाग्दैन।

आपराधिक काम गरेर पैसा कमाइन्छ भन्ने लाग्छ र पैसा कमाउने ‘सर्ट कट’ बाटोतिर लाग्छन्। यी सबै अब नेपाली फिल्मका लागि ‘क्लिसे’ भइसके। फिल्ममा युवालाई चरम यौन आशक्ति भएको थोत्रो क्लिसे पनि प्रयोग गरिएको छ।

फिल्मले कथामै मार खाएको छ। यस्तै जान्रका थुप्रै फिल्म नेपाल र भारतमा बारम्बार बनेका छन्। स्वयं निर्माता माधव वाग्लेको फिल्मोग्राफी हेर्ने हो भने उनले बनाएका पछिल्ला फिल्मकै निरन्तरता मात्र देखिन्छ। उनमा ‘लुट’ कै ‘ह्याङओभर’ देखिन्छ। ‘लुट २’ बाट उनले शिक्षा पाइसकेका रहेनछन्। त्यसैले थप शिक्षाका लागि ‘चंगा चेट’ बनाएका हुन् कि भन्ने भान हुन्छ।

सबैभन्दा महँगा निर्देशक भनेर कहलाइएका र ‘पशुपतिप्रसाद’ जस्तो फिल्म बनाएर आफ्नो क्षमता प्रस्तुत गरेका खनालले यो फिल्म बनाएर आफ्नै चंगा चेट गर्न खोजेको महसुस हुन्छ। फिल्ममा सिनेम्याटिक मुभ सिर्जना भने गरेका छन्। सिनेमा अभिव्यक्तिको सशक्त माध्यम हो। यसको प्रभाव क्षमता र प्रभाव क्षेत्र पनि ठूलो हुन्छ। त्यसैले जुनसुकै जान्रमा बनाए पनि यसले दिने सन्देश प्रष्ट हुन जरुरी हुन्छ।

फिल्मको संगीत सुन्दर छ। मुखमा झुण्डिने गीत छन्। ती लोकप्रिय पनि भइसकेका छन्। जसको फाइदा बक्स अफिसलाई पनि भएको छ। यसको सोझो अर्थ के भने अझै पनि नेपाली फिल्मलाई नेपाली लोकसंगीतको संजीवनीकै जरुरत छ।

लोकसंगीत हाम्रो जीवनसँग गाँसिएको छ, त्यसैले प्रिय छ। त्यो नेपाली फिल्म मेकरले बुझेका पनि छन्। तर, यहीँनेर आइपुग्दा उनीहरूमा कथा चेतनाको यतिविघ्न कमजोरी बुझिनसक्नु छ। फिल्म निर्माणको चेतना किन वक्र बाटोमा विचरण गर्छ, बुभ्mन कठिन छ।

फिल्ममा मुख्य चरित्रमध्येका आयुुष्मान देशराज चरित्रमा सामान्य छन्। कुनै–कुने दृश्यमा स्वाभाविक देखिए पनि धेरैमा उनी स्वाभाविक देखिन सकेका छैनन्। उनले अभिनयलाई अति सामान्य स्थानमा राखेका छन्। मानौँ, त्यो कामै होइन। त्यो भनेको दर्शकको चेतनाको अपमान हो।

लाइमलाइटमा नेपाली मिडियाले उनलाई गरेको जबर्दस्त ‘हाइलाइट’ का कारण काठमाडौँका युवाको उनीप्रतिको ‘क्रेज’लाई ‘क्यास’ गर्न आयुष्मानलाई फिल्ममा राखिएको देखिन्छ। र, उनले पनि यसलाई सामान्य ढंगले मात्र लिएका छन्।

सन्दीप क्षत्री मूलतः स्ट्यान्डअप कमेडियन हुन्। फिल्मको थमनबहादुरलाई त्यही स्ट्यान्डअप कमेडियनले यसरी थिचेको छ कि उनको चरित्र त्योभन्दा माथि उठ्न सकेको छैन। उनको मुखाकृतिमा देखिने भंगिमा ‘ह्वाट द फ्लप’ सोदेखि यहाँसम्म आइपुग्दा उस्तै देखिन्छ।

मिथिला रंगमञ्चबाट मूलधारको नेपाली फिल्ममा प्रवेश गरेका रवीन्द्र झालाई जीवनभरि यही चरित्र मात्र देख्नपाइने हो कि भन्ने डर भयो। यसले सिंगो मैथिली रंगमञ्चको सात सय वर्षको समृद्धिलाई अपमान गरिरहेको छ।

फिल्ममा सुरक्षा पन्त पनि सामान्य लाग्छिन्। उनले गर्ने ‘रिएक्सन’ अत्यन्तै अस्वाभाविक छ। उनले पनि धेरै सिक्न बाँकी रहेछ भन्ने देख्नेले थाहा पाउँछन्। उनी सिकारु हुन् भन्ने प्रस्ट देखिन्छ। सिकारुलाई मूल सडकमै सवारी हाँक्न दिँदा दुर्घटना हुन सक्छ भन्ने हेक्का राख्नुपर्छ।

माओत्से गुरुङलाई फरक चरित्रमा देख्न पाइन्छ, त्यसका लागि उनले मेहनत गरेको देखिन्छ। अझ उनको नेपालमै बनेको गाडी पनि उल्लेख गर्न लायक छ। फिल्ममा अर्पण थापा पनि छन्, उनी स्वाभाविक छन् तर चरित्र प्रभावशाली छैन।

अहिले नेपाली समाज ‘इजी मनी’ को पछाडि दौडिरहेको छ। फिल्म ‘चंगा चेट’ले पनि त्यही प्रवृत्तिलाई नै बल पुर्‍याएको छ। फिल्मको अन्त्यमा त्यसैलाई उत्प्रेरित हुने गरी कथा समापन गरिएको छ।

फिल्ममा प्रियंका कार्कीलाई स्थान नै छैन। उनलाई पोस्टरमा राख्न र आयुष्मानसँगको निजी सम्बन्धको फाइदा लिन मात्र राखिएको हो भन्न यहाँ लेखिरहन पर्दैन। त्यस्तै, पारमिता राज्यलक्ष्मी राणालाई कथाले दिए पनि पटकथाले स्थान दिएको छैन। फिल्ममा सरीता गिरी, ऋचा शर्मा र बेनिशा हमाललाई पनि देख्न पाइन्छ।

फिल्ममा देखिने चारमध्ये तीन जना महिलामा यौन विचलन देखाइएको छ। आयुष्मानसँग पैसा हुनेबित्तिकै प्रियंकाको ‘पसिना छुटाउने’ कुरा गरिएको हुन्छ। पछि आयुष्मानसँग पैसा आउनेबित्तिकै सबैभन्दा पहिला उनको ‘पसिना छुटाइएको’ देखाइएको छ।

त्यतिबेला प्रियंकाको चरित्रको हाउभाउ यौनकर्मीजस्तो मात्र देखिन्छ। पछि चरित्रलाई सकारात्मक बनाउनलाई होला, उनैको मुखबाट उनी आयुष्मानको प्रेमिका भएको बताइएको छ। अर्कातिर आयुष्मानलाई पेशेवर पुरुष यौनकर्मी बनाइएको छ।

फिल्ममा नक्कली नोटको कारोबार पनि देखाइएको छ। त्यही पैसाकै कारणले निर्माताले जेलसम्म जानुपरेको थियो। यद्यपि, फिल्ममा डन माओत्सेलाई पैसा दिँदा भने नक्कली एक हजार दरका नोट प्रयोग गरिएको छैन, त्यहाँ सक्कली पाँच सय दरका नोटको प्रयोग गरिएको छ। यो मिस्टेक किन गरियो, बुझिएन।

त्यस्तै, गोजीमा १ सय ४० रुपैयाँ मात्र हुने केटाले काठमाडौँकै महँगो हस्पिटलमा बिरामी भर्ना गराएको पनि स्वाभाविक छैन। प्रहरीका डीएसपी कार्यालयमै ड्युटीमा रहँदै, युनिफर्ममै अझ कैदीहरूकै अगाडि यौन व्यवहारमा संलग्न हुनु र अर्का प्रहरीका वरिष्ठ अधिकृत पनि जुनियर अधिकृतका अगाडि यौन कार्यमा निर्लिप्त देखिनु पनि स्वाभाविक छैन।

एकातिर नेपाली समाज ‘इजी मनी’ को पछाडि दौडिरहेको छ भने फिल्मले पनि त्यसैलाई नै बल पुर्‍याएको छ। फिल्मको अन्त्यमा त्यसैलाई उत्प्रेरित हुने गरी कथाको समापन गरिएको छ।

फिल्मले नेपाली फिल्म उद्योगमा भइरहेको निर्माण विकृतिलाई पनि व्यंग्य गर्न खोजेको छ। तर, यसलाई यसरी प्रस्तुत गरिएको छ कि त्यसबाट सिक्नेभन्दा पनि सिंगो उद्योगलाई हाँसो बनाइएको छ। फिल्मको क्लाइमेक्समा राजनीति, मिडिया जनमतको दुरुपयोगलाई गर्न खोजिएको व्यंग्य पनि जबर्जस्ती कुठाउँमा थोपरिएको छ। फिल्ममा अन्य सामाजिक विकृतिलाई व्यंग्य गर्ने प्रयासको प्रशंसा गर्न सकिन्छ।

फिल्म घोषणामा काठमाडौं, धरान र जनकपुरमा छायांकन गर्ने भनिए पनि धरान र जनकपुर फिल्ममा देख्न पाइँदैन। फिल्म अनावश्यक लामो छ। यसलाई छोट्याएर छरितो बनाउने ठाउँ धेरै थिए। सबै खाले तर्कलाई छाडेर दिमागलाई शून्यमा राखेर हेर्ने हो भने फिल्म हेरिरहँदा रमाइलै लाग्न सक्छ।


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.