जाजरकोट दरबार पनि पर्यटकीय गन्तव्यमा
जाजरकोट : सरकारले हालै सार्वजनिक गरेको देशभरका एक सय पर्यटकीय गन्तव्यमा जाजरकोट दरबारलाई पनि सूचीकृत गरिएको छ ।
संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले प्राकृतिक सौन्दर्य, धार्मिक, ऐतिहासिक तथा पुरात्तात्विक महत्वका आधारमा देशभरबाट सय पर्यटकीय गन्तव्य छानेको हो ।
पहिलोपल्ट जाजरकोटबाट ऐतिहासिक तथा पुरातात्विक महत्व बोकेको साढे दुई सय वर्ष पुरानो जाजरकोट दरबारलाई पर्यटकीय गन्तव्यमा राखिएको हो । बाइसे–चौबीसे राज्यको अस्तित्व तथा इतिहास बोकेको जाजरकोट दरबारलाई सरकारले पर्यटकीय गन्तव्यमा समावेश गरेसँगै यहाँ पर्यटक पनि बढ्ने अपेक्षा गरिएको छ ।
साथै यस क्षेत्रको मर्मत संभार र संरक्षण हुनेमा पनि जिल्लावासी आशावादी छन् । इतिहासका जानकार राजुराजा सिंहका अनुसार जाजरकोट राज्यको राजधानी सुरुमा जगतिपुरमा थियो । जाजरकोट राज्य संस्थापक जगती सिंहका नाती तत्कालिन राजा देव सिंहको घोडाले हालको जिल्ला सदरमुकाम खलंगाको टाकुरामा मन पराएको र बाइसे–चौविसे राज्यको लडाईँ चलिरहेका बेला सुरक्षा दृष्किोणले पनि उपयुक्त भएपछि १६ औं शताब्दीमा जगतिपुरबाट खलंगामा राजधानी सारिएको थियो ।
सुरुमा सामान्य दरबार भए पनि १८ औं शताब्दीको ३० को दशकमा तत्कालीन राजा गजेन्द्रनारायणले साततले दरबारको निर्माण गरेका हुन् । भक्तपुरबाट ल्याएका चर्चित कालिगढ नाक्चेको डिजाइनअनुसार रुकुमको चौरजहारीबाट इँटा बोकाएर दरबारको निर्माण भएको सिंहले बताए ।
वि.सं. १९९० सालको भूकम्पका कारण दरबार भत्किएपछि पुणर्निर्माण गरी चार तला मात्र बनाइएको हो । हाल उक्त दरबार चारतले छ । दरबारको भव्य महलबीच रानीहरूले नुहाउने तलाउ र दुई सिंहले खुट्टा उचालेर आक्रोश व्यक्त गरेको चित्रण देखिने कलात्मक प्रवेशद्वार भने अहिले नामेट छ ।