गाउँमा आतंक फैलाउने चितुवा खोरमा फसेपछि स्थानीय खुसी
सन्धिखर्क : चितुवाको आक्रमणले आतंकित बनेका अर्घाखाँचीका स्थानीय चितुवा पासोमा परेर मरेपछि खुसी भएका छन्। चितुवा पासोमा परेपछि ढिकुरा, नुवाकोट, सन्धिखर्क, खाँचीकोटका स्थानीय हर्षित भएका हुन्। पासोमा परेको चितुवा हेर्न स्थानीयको भीड बढेको छ।
चितुवाको डरले गाउँ छाडन बाध्य भएको र चेलीबेटी तथा आफन्त बालबच्चा लिएर ढिकुरा, कुर, किमडाडा, नुवाकोटलगायतका स्थानमा आउन छाडेको समयमा ढिकुराको पियाले खोलामा राखेको पासोमा चितुवा परेको हो।
गएको शनिबार चितुवाको आक्रमणबाट ढिकुराको पियालेमा ४ वर्षीय बालकको ज्यान गएपछि चितुवा मार्न प्रहरी परिचालन गरिएको थियो। स्थानीयले चितुवा पासोमा पार्न बाघ खोर (पासो) थापेका थिए। त्यही पासोमा चितुवा परेको हो।
पासोमा परेको चितुवा उद्धारको क्रममा मरेको जिल्ला वन कार्यलयकी सहायक वन अधिकृत शीला पोख्रेलले जानकारी दिइन्।
चितुवा नभेटिएपछि तीन ठाउँमा फलामे खोर बनाएर राखिएको थियो। त्यही खोरमा शनिबार दिउँसो चितुवा परेपछि स्थानीय खुसी भएका छन्। खोरमा परेको चितुवा जिल्ला डिभिजन वन कार्यालयमा ल्याइएको प्रहरी नायव उपरीक्षक नवराज मल्लले जानकारी दिए।
चितुवाले पछिल्लो पाँच वर्षमा अर्घाखाँचीमा दुई दर्जन बालबालिकामाथि आक्रमण गरेको थिये। चितुवाको आक्रमणाबाट १८ जनाको ज्यान गएको छ।