संगीतमा फिरे कवीन्द्र

संगीतमा फिरे कवीन्द्र

डाँडैमा मेला लागेछ

कान्छीले बोलाइरहेछ

२०५० सालमा अत्यन्तै चर्चा पाएको ‘स्कार्ई ब्यान्ड’ को गीत हो यो। गीतका लिड भोकलिस्ट हुन्, गायक कवीन्द्र श्रेष्ठ। बुबा व्यापारी। छोरोले पनि व्यापारै गरोस् भन्ने बुबाको चाहना थियो। तर, कवीन्द्रलाई भने सानैदेखि संगीतको हावाले छोइसकेको थियो। भन्छन्, ‘मेरो सपना बुबाको चाहनाभन्दा फरक थियो। पपगायक बन्न चाहन्थेँ। र, म आफ्नो सपनामा अडिग रहेँ।’ 

तन्नेरी हुँदा उनले आफैँले गिटार बजाउन सिके। नारायणगोपाल, भक्तराज आचार्यलगायत गायकलाई पछ्याउने गरेको उनी बताउँछन्। ‘रेडियोमा नारायणगोपाल, भक्तराज आचार्यका गीत खूब बज्थे,’ उनी भन्छन्, ‘उहाँहरूलाई फलो गर्दै अगाडि बढेँ।’ त्यतिखेर बाग्लुङ बजारमा सांगीतिक माहोल नभएको उनी सुनाउँछन्। दुर्गाकाजी शाक्य, दिनेश राजभण्डारी, जितेन्द्र राजभण्डारी, रेस्टा राजभण्डारी, पुकार श्रेष्ठ र शैलेन्द्र प्रधानांग गरी सात जनासँग मिलेर ब्यान्ड बनाए। 

युवावस्थाको जोशलाई उनले मर्न दिएनन्। साथीहरूसँग मिलेर स्थानीय स्तरमा थुप्रै कार्यक्रम गरे।  स्टेज कार्यक्रममा सहभागी हुँदाहुँदै कवीन्द्रलाई आफ्नै गीत रेकर्ड गराउने रहर जाग्यो। २०४९ सालमा काठमाडौँ आएर ‘जब मैले तिमीलाई देखेँ’ गीत रेकर्ड गराए। यो उनको पहिलो गीत थियो।  

विभिन्न स्टेज सो गरेर पैसा संकलन गर्थे, कवीन्द्र। ब्यान्ड त खोले तर उनीहरूको आफ्नै गीत थिएन। त्यसैले परिवारको सहयोग र स्टेजबाट कमाएको पैसाले २०५० सालमा ‘द स्काई ब्यान्ड’ एल्बम निकाले। कक्षा १० मा पढ्दाताका उनले एल्बम निकालेका हुन्। संगीतप्रति बढेको तृष्णाले उनलाई काठमाडौँसम्म डो¥यायो। भन्छन्, ‘बुबाको आर्थिक स्तर बलियो भएकाले मलाई काठमाडौँमा त्यति गाह्रो भएन।’ 

बाग्लुङमा उनको ब्यान्ड थियो। करिअर र पढाइका लागि काठमाडौँमा बस्थे। तर, उनले ब्यान्डलाई सेलाउन दिएनन्। संगीतलाई अगाडि बढाउँदै उनले पिपल्स कलेजमा मानविकी विषयमा स्नातक गरे।

२०५२ सालमा ‘स्काई ब्यान्ड’ले दोस्रो एल्बम ‘मायाको आधार’ निकाल्यो। जुन कवीन्द्रको ‘टर्निङ प्वाइन्ट’ बन्न पुग्यो। गीतले सफलता पायो। ‘यसले मेरो सांगीतिक करिअरलाई अगाडि बढउन मद्दत गर्‍‍यो,’ उनी भन्छन्। ‘मायाको आधार’ र ‘बाग्लुङ बजार’ गीतबाट कवीन्द्रको टिमले ठूलो अपेक्षा राखेका थिए।

‘जे सोचेको ठ्याक्कै त्यसको उल्टो भइदियो,’ उनी भन्छन्, ‘‘डाँडैमा मेला लागेछ’ गीत पो हिट भइदियो।’ ‘डाँडैमा मेला लागेछ’ गीतले उनलाई स्थापित गरायो। ‘त्यतिबेलाको समयमा छ लाखभन्दा बढी कपी क्यासेट बिक्री भएको थियो,’ उनी भन्छन्, ‘क्यासेट बिक्री–वितरणको आधारमा २०५३ सालमा यही गीतबाट ‘एल्बम अफ दी इयर’ को अवार्ड पाएँ।’ 

त्यसपछि देश विदेशबाट कवीन्द्रलाई कार्यक्रमका निम्ता आउन थाले। ‘हावा सरर,’ ‘चौबन्दी’, ‘रिमझिम पानी पर्‍यो’ लगायत उनका हिट गीत हुन्। संगीतमा औधी रुचि भए पनि पारिवारिक व्यवहारका कारण उनको सांगीतिक यात्रा रोकियो। ‘घररिवार र व्यवसाय हेर्नुपर्‍यो,’ उनी भन्छन्, ‘त्यसैले केही समय संगीत यात्रा रोक्नुप¥यो। ब्यान्डका साथी पनि आ–आफ्नै काममा व्यस्त भए।’ 

१५ वर्षपछि उनी फेरि संगीतमा फर्किएका छन्। आफ्नो ब्यान्डलाई पुनर्जीवन दिन लागिपरेका छन्। हालै उनको ‘माया मलाई’ नयाँ गीति एल्बम रिलिज भएको छ। ‘संगीतबाट टाढा रहे पनि यसको नशाले मलाई कहिल्यै छाडेन,’ उनी भन्छन्, ‘संगीतले सधँै मलाई आफूतिर तानिरह्यो।’ हालसम्म उनले ५० भन्दा धेरै गीत गाइसकेका छन्। 

कवीन्द्र खेलकुदमा पनि रुचि राख्छन्। साइक्लिङ, ब्याडमिन्टनलगायत खेल खेल्छन्, उनी। उनी जीवनलाई आफ्नै तरिकाले जिउन रुचाउँछन्। ‘जीवनलाई जसरी जिउन चाहेँ त्यसरी नै बाँच्न पाएँ,’ उनी भन्छन्, ‘जे कुराको अठोट गरेको थिएँ, पूरा गर्न सफल भएँ।’ 


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.