टीकापुरको कोसेली केरा

टीकापुर : दसैंतिहार सकिएसँगै टीकापुर पार्कमा आउने पर्यटकका लागि टीकापुरको केरा कोसेली बन्ने गरेको छ । कैलाली, कञ्चनपुर, बाँके, बर्दिया, दाङ, सुर्खेतलगायत विभिन्न जिल्लाबाट टीकापुर पार्क अवलोकन गर्न आउने पर्यटकले केरा कोसेलीको रूपमा लैजाने गरेका हुन् ।
टीकापुर नगरपालिका–५ नुक्लीपुरका रञ्जु चौधरीले तिहारलगत्तै प्रशस्त केरा बेचे । टीकापुर पार्क घुम्न आउने पर्यटकले कोसेलीको रूपमा केरा किनेर लैजान थालेपछि उनले अघिपछिभन्दा दोब्बर केरा बिकेको बताए । अरुकोबाट खरिद गरी वितरण गर्दै आएका चौधरीले ग्राहकको मागअनुसार केरा पुर्याउन सकेनन् । उनले केरा खरिद गर्ने ठाउँ नपाउँदा ग्राहकको माग धान्न नसकेको बताए ।‘अर्काको बारीबाट किनेर ल्याएर बेच्ने हो । आवश्यकताअनुसार केरा पाउन सकेका छैनौं’, उनले भने, ‘हामीसँग भएको केरा दुई/चार घण्टामै सकिहाल्थ्यो ।’
टीकापुर पार्कमा पर्यटकको घुइँचो बढेसँगै केराको व्यापार समेत उकालो लागेको हो । कोसेलीका रूपमा पर्यटकको रोजाइमा स्थानीय उत्पादन पनि पर्न थालेको छ । बाहिरी जिल्लाबाट आउने पर्यटकले केरा खरिद गरी कोसेली लैजाने गरेका छन् । पर्यटकको मागअनुसार टीकापुर पार्कको प्रवेशद्वारबाहिर केरा व्यापारीको लाम नै लागेको छ । यसअघि किसान केरा बिक्री नभएर चिन्तित थिए । उनीहरूले टीकापुर पार्कले थोरै भए पनि राहत मिलेको बताए । टीकापुर पार्कमा बढेको चहलपहलले केरा किसानलाई धेरै राहत मिलेको छ ।
एक बिघा जमिनमा केरा खेती गर्दै आएकी सकुन्तलादेवी चौधरीले दाङ, सुर्खेतलगायत जिल्लाबाट आएका पर्यटकले केरा किन्ने गरेको बताइन् । उनले आफूहरूले बिक्री गर्दै आएको केरा सस्तो र स्वादिष्ठ भएकाले बाह्य जिल्लाबाट आएका ग्राहकको रोजाइमा पर्ने गरेको सुनाइन् । ‘बाहिरबाट आएका मान्छेले अन्य ठाउँको तुलनामा निकै सस्तो केरा भन्छन्’, उनले भनिन् ।
यहाँ केरा प्रतिदर्जन ४० रुपैयाँमा बिक्री भइरहेको छ । यही केरा दाङ, सुर्खेतलगायत जिल्लामा प्रतिदर्जन करिब एक सय रुपैयाँ पर्ने गरेको छ । राजधानीलगायत स्थानमा केरा प्रतिदर्जन अझै धेरै रुपैयाँ पर्छ । टीकापुर केरा खेतीका लागि देशभर चिनिन थालेको छ । यहाँका धेरै किसान केरा खेती गर्दै आएका छन् । विगतदेखि केरा खेती र केराका परिकार उत्पादनमा संलग्न किसान कालु हमालले कोसेलीका रूपमा केराको बिक्री बढ्नु सुखद भएको बताए ।
टीकापुर पार्क आउने पर्यटकलाई लक्ष्य गरी केरा बिक्रीस्थलको व्यवस्थापन गर्न आवश्यक रहेको उनले बताए । ‘यो केरा किसानका लागि सुखद कुरा हो’, उनले भने, ‘टीकापुर पार्कनजिकै केरा बिक्रीस्थल बनाउने हो भने अझ धेरै केरा बिक्री गर्न सकिन्छ ।’ किसानले केरालाई टीकापुरको कोसेलीका रूपमा अझ धेरै विस्तार गर्न सके राम्रो आम्दानी गर्न सकिने बताएका छन् । यसका लागि टीकापुर पार्कमा पर्यटकको संख्या बढाउनेबारे पहल हुन आवश्यक रहेको उनीहरूको भनाइ छ ।
प्रतिक्रिया दिनुहोस !
