३१ दिन हिँडेर हाट जाने बाटोमा जीप कुद्न थालेपछि...
जाजरकोट : जाजरकोट जुनीचाँदे–११ का ६१ वर्षीय कृतिबहादुर शाही वर्षौँअघि नेपालगन्जबाट नुन बोकेर गाउँ पुगेका दिनहरुबारे नातीहरुलाई सुनाइरहन्छन् । उनले आफ्नो जीवनका १० वर्षभन्दा बढी उर्जाशील समय त नुन बोकेरै बिताए ।
‘नेपालगन्जबाट ठ्याक्कै ३१ दिन लाग्थ्यो गाउँ आइपुग्न, शाहीले बताए, ‘नेपालगन्जबाट हिँडेर गाउँ आउने यो बाटोमा यसरी मोटर गुड्ला भन्ने सोचेकै थिइएन ।’ जाजरकोटको जुनीचाँदे गाउँपालिका अति दुर्गम गाउँ मानिन्छ । जहाँ पुग्न जिल्ला सदरमुकामबाटै दुई दिन पैदल हिँड्नु पर्छ ।
यही गाउँमा हालै नेपालगन्जबाट सिधा सडक निर्माण भएपछि गाउँलेहरु खुसीले दंग छन् । शाही भन्छन्, ‘पहिले पहिले अन्नपात त गाँउघरमै हुन्थ्यो । तर नुन लिन चाहीँ नेपालगञ्ज जानैपर्ने बाध्यता थियो । ठाँउ ठाँउमा बास बस्दै जानुपथ्र्यो । गाँउका प्रत्येक घरबाट नुन लिन नेपालगञ्ज जानुपथ्र्यो । त्यसलाई हामी हाट जाने भन्थ्यौँ ।’
२०२८ सालअघि महिनादिन हिँडेरै हाट जाने यहाँका गाउँले त्यही बाटो भएर मोटरबाटो बनेपछि उत्साही भएका हुन् । सुर्खेत र जाजरकोट सदरमुकामबाट जुनीचाँदे पुग्ने सडक यसअघि नै बने पनि पाकाहरुले नुन बोकेर हिँड्ने नेपालगन्जको पुरानो बाटोमा सडक निर्माण भएको हो ।
स्थानीय कमला शाही भन्छिन्, ‘जहाँ जाँदा पनि थाप्लोमा भारी नबोकी सुखै थिएन । हामीले त निकै दुःख कष्ट काटियो । अव भावी पुस्ताले हाम्रो जस्तो दुःख काट्नु पर्दैन ।’
जुनीचाँदेका गाँउहरुमा अचेल नेपालगञ्ज, सुर्खेत र सदरमुकाम खलंगाबाट सीधा जीप, ट्याक्टर, मोटरसाइकल लगायत यातायात साधन आउन थालेका छन् । नाम्लो बोकेर सहर धाउनै पर्ने बाध्यता पनि अब टर्दै गएको छ । दैलेख, कालिकोट र जुम्लाको सिमानामा पर्ने यो गाँउपालिका सडक सञ्जालमा जोडिएपछि स्थानीयलाई अवागमनमा सहज भएको हो ।
छेडा–थलह–चाँदे–जुम्ला सडकअन्र्तगत बनेको नयाँ सडकले जुनीचाँदेको लुहादहसम्म सडक जोडेको छ । यो सडक कोर्ताङ हुँदै जुनी कम्युन बस्तीसम्म पुर्याइने गाउँपालिका अध्यक्ष कृष्णबहादुर केसीले बताए ।
यसका लागि गत वर्ष गाउँपालिकाले नै ५० लाख रकम छुट्याएको थियो । यस वर्ष भने एक करोड रुपैयाँ विनियोजन गरेको अध्यक्षले बताए । आगामी दुई वर्षभित्र यही सडकलाई जुम्लासम्मै जोडिने गरी काम भइरहेको बताइएको छ ।
साथै जुनीचाँदेका सबै वडालाई सडक सञ्जालले जोड्ने योजना गाउँपालिकाले बनाएको अध्यक्ष बताउँछन् । यसका लागि गाँउपालिकाले थप स्रोत जुटाइदिन केन्द्र सरकारलाई समेत आग्रह गरेको छ ।