गुटैगुटको जालोमा कांग्रेस, घातक बाटोमा नेता

गुटैगुटको जालोमा कांग्रेस, घातक बाटोमा नेता

काठमाडौँ : नेतृ सुजाता कोइरालाको मन्डिखाटारस्थित निवासमा गत आइतबार बिहानै नेपाली कांग्रेसका सातजना नेताहरू छलफलमा बसे। 'राजनीतिक वार्ता' भनिएको त्यस छलफलमा वरिष्ठ नेता रामचन्द्र पौडेल, महामन्त्री शशांक कोइराला, नेताहरु शेखर कोइराला, डा. रामशरण महत, प्रकाशमान सिंह र अर्जुन नरसिंह केसी सहभागी थिए।

केन्द्रीय कार्यसमिति बैठक लगत्तै भएको यो छलफलाई लिएर कांग्रेसवृतमा अनेक टिप्पणी भए। जसमध्ये एउटा टिप्पणी थियो, 'कोइराला परिवारसँग नजिकिएर सभापति शेरबहादुर देउवालार्इ कमजोर पार्ने खेलमा लागे रामचन्द्र पौडेल ।'

अनौपचारिक भनिएको त्यस बैठकमा मूलतः कांग्रेसको आन्तरिक राजनीतिमाथि नै छलफलमा भयो। नेतृ सुजाता कोइरालाले बोलाएपछि नेताहरु मन्डिखाटारस्थित उनको निवासमा पुगेका थिए। त्यसो त उनले यसअघि पनि कोइराला परिवारको 'लिगेसी' रहेका शशांक र शेखरलाई मण्डिखाटारमै बोलाएर कांग्रेसभित्र शक्तिशाली समूह निर्माण प्रयास गर्दै आएकी छन् । 

अन्नपूर्ण अनलाइनले सोध्दा नेतृ कोइरालाले 'राजनीतिक' छलफललार्इ केबल एक 'लन्च मिटिङ' मात्रै भनिन्। उनले छलफलमा भएको विस्तृत विवरण खुलाउन आनाकानी गरिन् । तर, उनले त्यतिबेलै पार्टी सभापतिले आफूखुसी निर्णय गरेको गुनासो गर्दै अब पार्टीमा बलियो समूह निर्माण हुने संकेत पनि गरिन् । 

गच्छदारको नियुक्तिले छट्पटी 

कात्तिक २० मा भएको केन्द्रीय कार्यसमिति बैठकमा सभापति देउवाले लोकतान्त्रिक फोरमबाट फर्किएका विजयकुमार गच्छदारलाई उपसभापति बनाएका थिए। त्यसपछि कांग्रेसवृत्तमा असन्तुष्टिका स्वर सतहमा आउन थाले । 

गच्छदारको नियुक्तिलाई लिएर कोइराला परिवारका नेता र पौडेल पक्षका नेता असन्तुष्ट रहँदै छन्। अर्कातर्फ युवा नेताहरूले पनि छुट्टै भेला गरेर छलफल गरेका छन्। यही बुधबार भएको छलफलमा युवा भनिएका नेताहरु चन्द्र भण्डारी, धनराज गुरुङ, बद्री पाण्डे, गुरुराज घिमिरे, गगन थापा र जीवन परियार समेल थिए।

उक्त छलफलले पार्टीभित्रको द्वन्द्व समाधान गर्न, महासमिति बैठकमा नयाँ विचार र दृष्टिकोण प्रस्तुत गर्दै नयाँ चुनौतीको सामना गर्न युवा पुस्ताअघि सर्नुपर्ने निष्कर्ष निकालेको छलफलमा सहभागी नेता धनराज गुरुङ बताउँछन्। उनका अनुसार छलफलले सरकार र प्रतिपक्षी आ-आफ्नो भूमिकामा असफल भएको निष्कर्ष निकालेको हो।

गुटभेला घातक 

नेताहरु गुटभेलामा केन्द्रित भएका बेला प्रतिनिधि सभामा सचेतकसमेत रहेका नेता बालकृष्ण खाँडले भने फरक धारणा राखेका छन् । उनले कुनै व्यक्ति विशेषका नाममा हुने गुटेभला पार्टीका लागि घातक हुने तर्क गरेका छन् । 

'व्यक्ति विशेषलार्इ केन्द्रमा राखेर पार्टीभित्र गुटबन्दी र भेला गर्नु लोकतन्त्र र पार्टीका लागि घातक हो', नेता खाँड भन्छन्, 'लोकतान्त्रिक पार्टीमा केही असन्तुष्टि हुनु स्वभाविक हो, तर कसैलार्इ तल झार्न गरिने गुटबन्दी घातक हो। 

यी दुवै भेलामा नदेखिएका नेता खाँड आफ्ना प्रभाव बढाउने नाममा आफ्नै साथीहरुलाई तल झार्ने खेल गुटबन्दीबाट भइरहेको बताउँछन् । 'आफ्नो प्रभाव बढाएर आफ्नै साथीहरुलार्इ तल झार्ने काम भइरहेको छ, यो घातक कुरा हो,' खाँड भन्छन्, 'पार्टीमा व्यक्ति विशेषले गुट चलाउनु सही होइन ।' 

‘सप्तऋषि’को अलग्गै कुरा 

अघिल्लो वर्ष भएको प्रतिनिधि सभा र प्रदेश सभा निर्वाचनमा कांग्रेसको नमिठो पराजयपछि युवा नेताहरूको एक समूहले संयुक्त वक्तव्य जारी गरेको थियो। वक्तव्य आएपछि कांग्रेस वृत्तमा यो समूह ‘सप्तऋषि’को नामले चिनियो । 'सप्तऋषि'मध्येका एक युवा नेता प्रदीप पौडेल पार्टीभित्र नयाँ अवधारणा सिर्जना गर्न लागि परेको बताउँछन्। 

'महासमिति बैठकमा कसरी प्रस्तुत हुने भन्ने विषयमा हामी छलफल गर्दैछौं', नेता पौडेल भन्छन्, 'पार्टीलार्इ नयाँ सोच, नयाँ अवधारणा चाहिएको छ । त्यसका लागि हामी छलफलमा छौँ, यसलार्इ सबैले सकारात्करुपमा लिनुपर्छ ।'

प्रकाशमान-ज्ञानेन्द्र भेटको अर्थ 

कात्तिक २५ मण्डिखाटारमा वरिष्ठ नेता पौडेलसहित सात नेताको गुटभेला सकिएको केही घण्टापछि होटेल सोल्टीमा जुरेको एउटा स‌ंयोले कांग्रेस भित्र र बाहिर पनि 'राजनीतिक तरङ्ग' ल्याएको छ । 

कांग्रेस वृत र बाहिर पनि तरंग ल्याएको त्यो कुरा थियो नेता प्रकाशमान सिंह र पूर्वराजा ज्ञानेन्द्र शाहको जम्का भेट। सुजाता निवासमा निवासमा गुट भेला भएलगत्तै भएको सिंह-शाह जम्काभेटबारे अनेक अड्कलबाजी भइरहेका छन् । 

तर, यो विषयलाई ठुलो बनाउन नहुने धारणा राख्छन् स्वयम् नेता सिंह । उनको विचारमा यो केबल जम्काभेट भन्दा अरु केही पनि होइन । एक नातेदारको पास्नीमा सहभागी हुन गएका बेला होटेल सोल्टीको लबीमा सिंहको जम्काभेट पूर्वराजा शाहसँग भएको बताउँछन् उनी निकटस्थ नेताहरु । 

तर हिन्दुराज्य फर्काउनुपर्ने धारणा सार्वजनिकरुपमै राख्दै आएका महामन्त्री शशांक कोइरालासमेत उपस्थित मण्डिखाटारको गुटभेलापछि भएको यो जम्काभेटले अनेकन प्रश्न जन्माएको छ । कांग्रेस भन्दा बाहिर त सिंहले राजतन्त्र फर्काउने योजनाका साथ पूर्वराजा शाहलाई भेटेको टिप्पणी पनि भइरहेको छ । 

गुटबन्दीमा नयाँ समीकरण सकियो

काठमाडौँमा भएको १३ औं महाधिवेशनमा तत्कालीन कार्यवाहक सभापति रामचन्द्र पौडेल, वरिष्ठ नेता शेरबहादुर देउवा र महामन्त्री कृष्णप्रसाद सिटौला सभापतिका प्रत्यासी थिए। दुई वर्षअघि सम्पन्न महाधिवेशनमा सिटौला समूहको सहयोगकै कारण देउवाले बाजी मारे। देउवा-सिटौला गठजोड २०७४ मंसिरसम्म कायमै थियो। 

प्रतिनिधिसभा निर्वाचनमा सभापति देउवाले सिटौलालार्इ निर्वाचन क्षेत्र (झापा-३) छोड्न आग्रह गरे । तर देउवाको प्रस्तावमा सिटौला सहमत भएनन्, उल्टै चिढिए। सिटौलाले अड्डी कस्दै उनी त्यही क्षेत्रबाट चुनाव लडे तर वाम गठबन्धनको साथ पाएका राप्रपाका राजेन्द्र लिङ्देनसँग नमिठो हार भोग्न बाध्य भए । चुनावमा पराजयसँगै सिटौला समूह देउवासँग चिढिँदै 'सफ्ट कर्नर' राख्न छोड्यो।

अलपत्र पौडेल-देउवा सहमति

कोइराला परिवारका नेताहरुसहित पौडेल समूह आक्रमक भइरहेको अवस्थामा देउवाले अप्ठ्यारो महसुस गरेका थिए । आफूलाई पार्ने अवस्था बढ्दै गएपछि गत असार १८ गते राति बूढानीलकण्ठस्थित आफ्नै निवासमा देउवाले पौडेलसँग सहमति गरेका थिए । 

एकअर्काका प्रतिद्वन्द्वी रहँदै आएका दुर्इ नेताहरू त्यो सहमतिपछि निकट बनेको अनुमान गरिएको थियो । यसले कांग्रेसभित्रको आन्तरिक राजनीतिमा ठूलै हलचल ल्याइदियो। तर, त्यो सहमति लामो समय टिक्नै सकेन। अहिले सभापति देउवा-पौडेल सम्बम्ध एक अर्काबीच असन्तुष्टि पोख्दै गुज्रिरहेको छ। 

‘कमब्याक’गर्लान् कोइराला 

कांग्रेसको स्थापना भएदेखि करिब ६५ वर्षसम्म नेपाली कांग्रेस र कोइराला परिवार एकअर्काका पूरकजस्ता भए। १३ औं महाधिवेशनपछि मात्रै दृश्य केही बद्लियो। डा.शशांक कोइराला महामन्त्री बने तर पार्टीको नेतृत्व कोइराला परिवारबाट फुत्किँदै देउवाको हातमा पुग्यो । 

महामन्त्री बनेपछि शशांकले आफूलाई पार्टीका कुनै समूहसँग जोड्न चाहेका छैनन् । तर उनीमाथि कोइराला परिवारको विरासत थेग्नुपर्ने चुनौती भने छ । उनी अहिले आफूलाई पार्टी सुधारको अभियानमा लागेको बताउँछन्। संसदीय दलको निर्वाचनमा भने कोइराला परिवारले प्रकाशमान सिंहलाई 'धोका दिँदै' शेरबहादुर देउवालाई नै भोट हालेका थिए । 

कोइराला परिवारकै अर्का सदस्य डा. शेखर कोइराला अहिले पनि देशब्यापी अभियानमा छन् । उनले केही महिनायता मात्रै कम्तिमा ३० जिल्लामा आफूलार्इ पुर्‍याइसकेका छन् । अर्कातिर नेतृ सुजाता कोइराला पनि गिरिजापुत्रीकारुपमा आफ्नो राजनीतिक आकार बढाउने कोशिशमा छिन् । 

यद्यपि यी तीनैजनाबीच पार्टीको एकै ठाउँमा बसेर अघि बढ्ने कुरामा भने सहमति बन्न सकेको छैन । त्यही कारण सुजाताले दुवै दाजुलाई पटक पटक मण्डिखाटार बोलाएर छलफल गरिसकेकी छन् कोइाराला परिवारको लिगेसी जोगाइराख्ने उद्देश्यका साथ । 

वरिष्ठ नेता रामचन्द्र पौडेलले खुट्टा टेक्न नसकेको बताउँदै कोइराला परिवार आफैँ कांग्रेसको नेतृत्वका लागि अघि सर्ने दाउमा त देखिन्छ तर को अघि सर्ने उनीहरुबीचमै एकमत देखिन सकेको छैन । 

तीन कोइरालाको फरक दाउ

शशांक अहिले पनि आफूलाई देउवा-पौडेल दुवैको पक्षमा नलाग्ने बताउँछन् । तर उनको यो व्यवहारलार्इ कतिपयले नेतृत्वमा पुग्ने कुटनीति भनेका छन्। बिपीपुत्र शंशाक, केशव-नोनापुत्र डा.शेखर र गिरिजापुत्री सुजता तीनैजना कांग्रेसको नेतृत्व पुग्ने दाउमा सङ्घर्षरत छन्। 

कांग्रेसभित्र शशांकको भूमिका देउवा-पौडेल खेमासँग समदूरीमा प्रकट भइरहेको देखिन्छ। उनले आफूलाई पार्टीभित्र राजनीतिक रूपमा अधिक सन्तुलित र सचेत देखाउन प्रयत्न गर्दै अएका छन्। उता शेखर भने आफूलाई कार्यकर्तासम्म आफूलाई स्थापित गराउन देश दौडाहा अभियानमै कुदिरहेका छन् । 


प्रतिक्रिया दिनुहोस !

सम्बन्धित खबर

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.