भण्डारण क्षमता नहुँदा पेट्रोलियम अभाव
धनगढी : सुदूरपश्चिम प्रदेशमा पेट्रोलियम पदार्थको भण्डारण क्षमता न्यून हुँदा बेला–बेला अभाव सिर्जना हुने गरेको छ। सुदूरपश्चिममा गाडीको चाप बढे पनि भण्डारण क्षमता दशकौं पुरानो छ। सार्वजनिक विदा पर्नासाथ सुदूरपश्चिममा पेट्रोलियम पदार्थ अभाव हुने गरेको उपभोक्ताको गुनासो छ।
नेपाल आयल निगम क्षेत्रीय कार्यालय धनगढीले डिपोको भण्डारण क्षमता नबढाएसम्म सुदूरपश्चिममा पेट्रोलियम पदार्थ अभाव कायमै रहनेछ। डिजेलका लागि तीनदेखि चार दिनको मौज्दात राख्न सक्ने क्षमता छ भने पेट्रोलका लागि एक दिन मात्र छ। नेपाल आयल निगम क्षेत्रीय कार्यालय धनगढीको डिपोमा १५ लाख ९० हजार लिटर डिजेल, ७० हजार लिटर पेट्रोल र २८ हजार लिटर मट्टीतेल राख्न सकिने क्षमताका ट्यांकी छन्। भण्डारण क्षमता ७० हजार रहेकोमा पेट्रोलको माग भने झन्डै एक लाख लिटर छ।
गाडीको चाप र जनसंख्याअनुसार पेट्रोलियम पदार्थको भण्डारण नहुँदा एक दिन सार्वजनिक विदा हुँदा पनि अभाव हुने गरेको आयल निगम क्षेत्रीय कार्यालय धनगढीका प्रमुख सर्पराज शर्माले बताए। ‘शनिबार हाम्रोमा सार्वजनिक विदा हुन्छ र आइतबार भारतमा’, शर्माले भने, ‘त्यसैले ढुवानी रोकिन्छ अनि अभाव देखिन्छ।’ क्षेत्रीय प्रबन्धक शर्माले सुदूरपश्चिममा इन्धन अभाव भएको स्वीकार गरे। पेट्रोलियम पदार्थ अभाव हुदाँ उपभोक्ता घण्टौंसम्म लाइनमा बस्नुपर्ने बाध्यता छ।
सुदूरपश्चिममा प्रदेशमा दैनिक एक लाख लिटर पेट्रोलियम पदार्थ खपत भइरहेको आयल निगमको तथ्यांक छ। अन्य समयभन्दा चाडपर्वका बेला अझै बढी पेट्रोलियम खपत हुन्छ। प्रदेशको अस्थायी राजधानी धनगढीमै सामान्य अवस्थामा पनि पेट्रोलियम पदार्थ समस्या हुनु भनेको प्रदेश सरकारले समस्यालाई बेवास्ता गरेको उपभोक्ता प्रेम साउदले बताए। सुदूरपश्चिमका कैलाली र कञ्चनपुरमा बढी पेट्रोलियम पदार्थ खपत हुन्छ। तिहारपछि त पेट्रोल र डिजेलको हाहाकार नै छ । तिहारपछि खेतीपाती, विकास निर्माणका काम सुरु हुने भएकाले इन्धनको खपत बढी हुने गरेको आयल निगमको भनाइ छ।
दसैं र तिहारको बिदापछि जहिले पनि इन्धन अभाव हुने उपभोक्ताले गुनासो गरे। गहुंँ छर्ने बेला डिजेल अभाव हुँदा कृषक मारमा पर्ने गरेका छन्। इन्धन नपाउँदा जोल्ने काम प्रभावित हुने गरेको छ । धनगढी र महेन्द्रनगर बजार क्षेत्रका पेट्रोल पम्पमा इन्धनका लागि गाडी खडा गरिएका छन् । माग अनुसार इन्धन नआउँदा अभाव देखिएको इन्धन व्यवसायीहरू बताउँछन् ।