मै किन ?
छिपछिपे बैंसमा, टेलीचलचित्र ‘मुक्ति’की सरिताको नाउँ हामी कलकलाउँदा ठिटी पार्टीका सबैको मुखमा झुन्डिएको थियो। उनै सरिताले बनाएको र केन्द्रीय भूमिकामा खेलेको पछिल्लो समयको बहुचर्चित टेलीसिरियल ‘परिचय’को दोस्रो सिजन, नेपाल टेलिभिजनबाट प्रत्येक आइतबार राति प्रसारण भइरहेको छ।
हतपती टेलिभिजन नहेर्ने मलाई, केही महिनाअघि युट्युबमा यो सिरियल डक्कै हेर्ने लत बस्यो। त्यसो हुनुमा, प्रथमतः यौवनका सुरुआती दिनका सम्झनाको रोमाञ्च, दोस्रो दुई/अढाई वर्षकी छोरी संऋद्धिलाई घरमा आमासँग छाडेर आएका सरिता/ऋषि लामिछानेसँग भएको मेरो एकसरो भलाकुसारी। र, तेस्रो नेपाली युट्युब च्यानलहरूमा जताततै ‘परिचय’ सम्बन्धित सरिता/ऋषि लामिछानेका अन्तर्वार्ता र अहिले नौ वर्षकी छोरी संऋद्धिसहित उनीहरूका पारिवारिक/सामाजिक क्रियाकलाप मेरा आँखा अघिल्तिर परिरहनु थियो।
यिनै प्रभावमा परेर मन नलागी नलागी ‘परिचय’को प्रथम शृंखला हेरिभ्याएँ। सत्य भन्छु, मलाई खास लागेन, बस् ठीकठीकै लाग्यो। ‘परिचय’का पात्रहरू प्रायः उभिएरै गह्रौं गह्रौं संवाद बोलिभ्याउँछन्। संवादको ठूलो हिस्सा, आदर्श र समाज परिवर्तनको चेतनाले भरिपूर्ण छ, मानौं पात्रहरू कुनै राजनीतिक पार्टीको घोषणापत्र भट्याउँदै छन् !
धेरैजसो पात्रको शारीरिक हाउभाउ र अनुहारको भाव सम्प्रेषणले संवादलाई अथवा संवादपछिको प्रभावलाई साथ दिइरहेका हुन्नन्। जेठी भाइबुहारी पात्रको झिँजो लाइरहने छेउ न टुप्पाको थेगो ‘अचम्म छ, बा !’ र आँखा तराइ निकै अस्वाभाविक लाग्छ।
यो कालजमानामा, गह्रौं शब्दावली र आदर्शका कुराले हात हल्लाएर बिदा मागिसके। म एउटै कारणले ‘परिचय’का एकपछि अर्को शृंखलाहरूमा तानिँदै गएँ। त्यो थियो ‘परिचय’की दिदी पात्र ‘सरिता’, जसको वरिपरि कथाले फन्को मारिरहेको छ।
कथामा, महिला तथा बालबालिकासम्बन्धी परियोजनाकी जागिरे, सम्पन्न सरिताले दुई भाइ र एक बहिनीलाई गाउँबाट काठमाडौं ल्याएर आफूसँगै राखेर पढाउँछिन्। अविवाहित सरिताको काममा लागेको जेठो भाइकी पत्नी, परिवारकी एक मात्र खलपात्र !
मैले पनि, ठूली छोरी हुनुको नाताले परिवार र भाइबैनाप्रति सकेको कर्तव्य निर्वाह गरिरहेँ। त्यसैले सरितामा आफ्नै प्रतिच्छायाँ देखेँ र सरिताले अब के गर्छिन् ? सुरु भएको जालेमाले कथाले कस्तो मोड लेला ? भन्ने उत्सुकताले डोरिएर ‘परिचय’ लगातार हेर्न बानी पर्दै गयो।
एक रात जब ‘परिचय’को छब्बीसौं शृंखला हेर्दै थिएँ, अचानक सिरियलकी सरिताले राति सुत्नुअघि ओछ्यानमा बस्दै एउटा किताब समाएर पढ्न थाल्छिन्। त्यस बखत दंग, छक्क, रोमाञ्चित र खुसी, सबै एकैचोटि भएँ म, किनकि त्यो किताब हुन्छ— मेरो उपन्यास ‘कायाकल्प’।
‘कायाकल्प’को सुन्दर आवरण सज्जा बनेको, एरिना ताम्राकारको गाढा रातो रङमा सजिएको दुइटा अब्स्ट्र्याक्ट अनुहार/चित्रलाई घरि टाढाबाट घरि नजिकबाट देखाएर सरिताहरूले निकै समय दिएका छन् ‘कायाकल्प’लाई ! आनन्द र आश्चर्यको मिश्रित भावमा रङमंगिँदै मनमनै सरिता लामिछानेलाई नमन गरेँ। मेरो उपन्यासलाई त्यतिका फुटेज दिएका कारण हैन कि उनको सरलता, उच्च कोटिको उनको फराक विचार र व्यवहार, अनि सिनेमा कर्मप्रति उनको इमानदार समर्पण बुझेर मैले उनलाई भित्री मनले सम्मान गरेँ।
पछि मैले त्यो खुसी फेसबुकमा ‘संयोग पनि कस्ता कस्ता’ शीर्षकसहित साथीहरूसँग साटेँ। ठ्याक्क त्यही दृश्यको स्क्रिन सट् आफ्नो टाइमलाइनमा राखेर, फेसबुकमा साथी नभएकी सरिता लामिछानेलाई आभार व्यक्त गरेँ। एक साथीले जिस्केर भने, ‘संयोग कि घूसपैठ हो ? ’
०००
अनि मैले, झन्डै सात वर्षअघि निगल्दो माघको एक बिहानी सम्झिएँ। म त्रिवि शिक्षण अस्पतालको दाँत विभागमा काम गरिरहँदा सरिताजीले पहिलोपटक मलाई फोन गरेर भनेकी थिइन्, ‘कल्पनाजी, म सरिता लामिछाने। तपाईंको नम्बर दुई महिनापछि मुस्किलले बल्ल पाएर फोन गरेकी ! मेरो भाइ फेसबुकमा तपाईंको साथी रैछ, उसैले खोजिदिएको तपार्इंको नम्बर...।’
सो फोनवार्तामा सरिताजीले सोही वर्षको मंसिरमा ‘नागरिक’मा प्रकाशित मेरो कथा ‘भुसको लोग्ने’ अत्यन्त मन परेको र त्यसमा फिल्म बनाउन चाहेको इच्छा व्यक्त गरेकी थिइन्।
सरिताजी र मेरो अलि लामो फोनवार्ता, नजिकै बसेर हाम्री नर्सिङ सुपरभाइजर कविता देवकोटाले पनि सुनिरहेकी थिइन्। ‘मुक्ति’की विख्यात सरिता लामिछानेले आफ्नी अदना जुनियरलाई फोन गरेको र एकतर्फी कुराकै भरमा मेरो कुनै प्रकाशित कथामा उनले फिल्म बनाउन चाहेको भेउ पाएर तीनछक् थिइन्, कविता सिस्टर !
मचाहिँ, सरिताजीको प्रस्तावलाई के भनूँ के गरूँ भएर अलमलिइरहेकी थिएँ। उनले फेरि फोन गर्ने कुरा बताएपछि हामीले फोनवार्तालाई बिट मारेका थियौं। त्यसको दुई दिनपछि शनिबार बिहान, सरिताजीले ‘घर कता हो ? हामी यही टोलमै आइसक्यौं’ भनेर फोन गरिन्। अब घरसम्मै आइसकेको पाहुनालाई स्वागत त गर्नैप¥यो। मेरो दिशानिर्देशमा, ऋषि लामिछानेसहित सरिताजी सजिलै मेरो डेरामा आइपुगिन्।
त्यसपछि ती पतिपत्नीले ‘भुसको लोग्ने’माथि फिचर फिल्म बनाउने चाहना व्यक्त गर्दै, त्यससम्बन्धी कोरिइसकेका आफ्ना लोभलाग्दा योजनाको खाका मलाई सुनाए। यस्ता व्यावसायिक कुरामा कुवाको भ्यागुताजस्ती र लेख्नबाहेक अर्थोक नजानेकी/नबुझेकी मैले, मात्र उनीहरूलाई सुनिरहेँ। सरिताजीले भनिन्, ‘मायाको रोल गर्ने मेरो उत्कट इच्छा छ।’
ऋषिजीले हौसिँदै बताए, ‘अब त माघ सकिइहाल्यो ! हामी तुरुन्त सुटिङ थाल्ने विचारमा छौं, भलै मंसिरको हुस्सु देखाउन कृत्रिम हुस्सुकै सिर्जना गर्न किन नपरोस् ! यो फिल्म हामी अन्तर्राष्ट्रिय स्तरमा भव्य रिलिज गर्नेछौं। म कथाकारलाई धेरै पैसा दिन त सक्दिनँ तर फिल्म बनाउनचाहिँ पैसाको मामिलामा सम्झौता गर्नेछैन। कल्पना दिदीलाई एउटा ढ्याके मोहर दाम चढाएर शिर उठाउनी गर्छु।’
मैले मनमनै भनेँ, ‘दिदी नभन्नुस् न ! तिनताका सरिताजीको ‘मुक्ति’ नेपाल टेलिभिजनबाट प्रसारण भइरहँदा, मैले पनि भर्खरै किशोरवयलाई बिदा गरेकी थिएँ हौ, ऋषिजी।’
उनीहरूका कुरा मुवाँ, म, भाइ र सहयोगी साथी विनीताले पनि चाख मानेर सुनिरहेका थियौं।
बीबीसी नेपाली सेवाको रेडियो कार्यक्रममा कार्यरत अनन्य मित्रले, ‘दुर्गम भेगका महिलाहरूमा आङ खस्ने समस्याबारे टेलिफिल्म बनाउन एउटा घच्चीको कथा लेखिदिनु त ! ‘विकासे’हरूले बनाउने टेलीफिल्म हो तर कथाचाहिँ ‘विकासे’ नहोस् है !’ भनेर चेताउँदै अनुरोध गरेका थिए। त्यसअघिका उनका धेरै अनुरोधलाई निर्दयतापूर्वक मैले ‘नाइँ’, ‘हुँदैन’, ‘सक्दिनँ’ भन्दै निमोठिसकेकी हुनाले यो अनुरोधलाई चाहिँ बेवास्ता गर्न सकिनँ र मित्रताका खातिर ‘भुसको लोग्ने’ लेखेँ।
पछि उनै मित्रले भने, ‘सरी ! कल्पनाजी ! त्यो तपाईंको कथामा ‘विकासे’हरूले फिल्म नबनाउने भए।’
अनि मैले उनकै अनुमति लिएर ‘नागरिक’मा ‘भुसको लोग्ने’ प्रकाशन गर्न दिएँ। मंसिरमा प्रकाशित सोही कथा पढेर सरिता/ऋषिजीहरू फिल्म बनाउन तम्सेका थिए। आज पनि धेरै पाठकले मलाई ‘भुसको लोग्ने’की लेखक भनेर चिन्नुहुँदा बडो आनन्द लाग्छ, जसरी फाइन प्रिन्टले बर्सेनि आयोजना गर्ने साहित्य–मेलामा तीन वर्षअघि, कृष्ण अविरलले ‘भुसको लोग्ने ? आहा !’ भन्दै मेरो नजिक आएर परिचय गरेका थिए।
सरिताजीहरूले घरमै आएर त्यत्रो अनुरोध गरेपछि र मुख्य कुरा, जसका लागि त्यो लेखिएको थियो, उनीहरूले त्यसमा काम नगर्ने निश्चित भइसकेपछि मैले कसलाई पर्खनु थियो र ? ‘हुन्छ’ भनिदिएँ। सरिताजीहरू, चाँडै अनुबन्धका कागजात लिएर आउने भन्दै बिदा भए।
कथा लेखाइमाग्ने मित्रलाई भोलिपल्टतिर होला, यावत् कुरा फोनमा अवगत गराएँ। उनले हतारिँदै भने, ‘ला ! कल्पनाजी ! मैले फोन गर्नै लागेको थिएँ, तपाईंको त्यही कथामा टेलिफिल्म बन्ने भयो। मैले त ‘हुन्छ’ पनि भनिदिएँ ! कृपया तपाईंले सरिताजीहरूलाई यो कुरा बताइदिनुहोस्।’
मैले भनेँ, ‘तपाईं आफैं सरिताजीहरूको चित्त बुझाउन सक्नुहुन्छ भने राजी गराउनुहोस्, मलाई यो झमेलाबाट टाढै रहन दिनुहोस्।’
संजोगको त के कुरा गराइ भो र ! यताउता ठोक्किइरहन्छन् ! तर यी अप्ठ्यारा र बेमेल मुद्दाहरूका खाल्टामा घरिघरि जाकिन्छु, मै किन ?
मेरा मित्र, आफैं एक गजबका लेखक, कवि, कुशल रेडियोकर्मी, भाषाप्रति सचेत, धेरैजसो वनस्पति तथा कृषिजन्य वस्तुका जानकार, साथै क्षणभर हात खप्ट्याएर बस्न नसक्ने केही न केही सिर्जना गरिरहनुपर्ने बहुप्रतिभाशाली सक्रिय मानव हुन्।
बोल्न र मानिसलाई बोलेरै आफ्नो वशमा पार्न जान्ने छन्। खै के–कसो भनेर उनले सरिताजीहरूलाई मनाएरै छाडेछन्। त्यसपछि उनकै सुझावमा, मेरो भाइ कालिकास्थानको कपिराइट कार्यालयमा गएर सो कथा दर्ता गराइवरि त्यसको सर्वाधिकार लेखककै नाउँमा बनाएर आयो।
‘भुसको लोग्ने’मा टेलिफिल्म त बन्यो, तर मेरो घरमा भएको त्यो बातचितपछि सरिताजीहरूसँग एउटै फोनवार्तासम्म भएन। हामीबीच अघोषित पानी बाराबारै भयो भन्छु म त ! ‘कस्तो बोलीको ठेगान नभएकी लेखक भन्ठाने होलान् मलाई’ भन्ने अप्ठ्यारो र सरमले मर्नु हुँदै म उनीहरूसँग तर्किएँ।
अनि, अचानक सात वर्षपछि उनै सरिता/ऋषि लामिछानेको मेगा सिरियलमा मेरो उपन्यासलाई त्यतिका ठाउँ दिएकामा मैले कसरी ताज्जुब नमान्नु ? मनमा अटाई नअटाई खुसी कहाँ लुकाउनु ? यसो हुनु घूसपैठ हैन, सरिताजीको सफा मनको उपज हो भनेर कसरी उनीप्रति आभारी नहुनु ?
त्यसपछि यसै विषयमा केन्द्रित रहेर मैले भोगेका मानवीय आचरणका भिन्न भिन्न पाटाबारे निजात्मक अनुभव लेख्ने विचार गरेँ। तर, युट्युबमा एक नेपाली फिल्म हेरिरहँदा, एउटा दृश्यमा फिल्मकी नायिका केकी अधिकारीले आफू फ्यान रहेको लेखकको नयाँ उपन्यास पढ्न चाहेको जिकिर केटा साथीसँग गर्छिन्। सो फिल्ममा, नायकका मित्रका रूपमा उनै लेखकले स्वयंको चरित्रमा अभिनय पनि गरेका रैछन् !
त्यो हेरिसकेपछि आफ्नो क्षुद्र सोचदेखि सारै लज्जाबोध भयो। विचारेँ, यहाँ लेखकहरू असली परिचयसहित सिनेमामा अभिनय गरिरहेका छन्, तिनका पुस्तकले प्रचारप्रसारका लागि सिनेमाको विशाल बजार पाएका छन्, म भने मेरो उपन्यासले एउटा टेलीचलचित्रमा देखिने मौका पायो भनेर दंगदास भइरहेकी छु। हैट् !
काकताली परेर त्यही बेलादेखि ‘परिचय’को टेलिभिजन प्रसारण रोकियो। कतारियन मित्र केशव थापालाई, आफू आत्मरतिमा रमाएको निम्छरो अनुभूति र सोमाथि पनि ‘परिचय’को प्रसारण रोकिनुले भएको तुषारापातको किस्सा कहेँ। केशवजीले मलाई, मेरो दोस्रो उपन्यास ‘कल्की’ लेखनमा धेरै मार्गदर्शन गरेका छन्, सघाएका छन्। उनी ‘कल्की’को पाण्डुलिपिका मेरा प्रथम पाठक, साथै प्रिय र आदरणीय साथी पनि !
मेरो ‘परिचय–किस्सा’ र हचुवा तालका बखान सुनेपछि उनले भने, ‘हेर ! यसबारे लेख्ने विचार गरेर उचितै गरेकी छ्यौ। एकैछिन कल्प त, कल्पना ! आफ्नो कथामा फिल्म बनाउन स्वीकृति दिइसकेपछि फेरि बोली फेर्ने लेखकको उपन्यासलाई, सितिमिति कसले आफ्नो हिट मेगा सिरियलमा ठाउँ दिन्थ्यो होला त ? लेख, दोमन नगरी लेख।’
अनि त यसो गम खाएँ। उनका कुरा सही लागे र लेख्न बसेँ। बाबै नि ! जोग फेरि जु¥यो, कति महिना रोकिएको ‘परिचय’को टीभी प्रसारण पुनः सुचारु भयो। प्रिय सरिताजी ! यो लेख तपाईंको कलुषरहित उदार चित्तलाई समर्पण गरेँ, स्वीकार्नुहोस् है !
‘भुसको लोग्ने’ टेलिफिल्म बनिसकेपछि, यसका उत्पादक/निर्देशकको अनुरोधमा उनको घरमै गएर भाइसहित मैले हेरेँ। सरिता गिरीले प्रमुख पात्र मायाको भूमिका निर्वाह गरेको नब्बे मिनेटको टेलिफिल्म राम्रै लाग्यो, सन्तुष्टिको सास फेर्दै घर फक्र्यौं दिदीभाइ ! तत्पश्चात्, दूरदराजका कतिपय गाउँमा पनि ‘भुसको लोग्ने’ देखाइयो। पछि सोही वर्षको किम्फ (काठमाडौं हिमालयन फिल्म फेस्टिभल)मा छानिएर प्रदर्शन पनि भयो, तर म उपस्थित हुन सकिनँ त्यो बेला।
किम्फका त्यो सालको एक जुरी सदस्यले पछि मलाई सोधे, ‘तिमीले कथाकारको पारि श्रमिक कति पायौ ? ’
उनी पनि, मुलुकका नाउँ चलेका कवि/गीतकार तथा साहित्यकार हुन्। आदरसहित उनको नाउँ लिने नेपाली, देशविदेशमा प्रशस्त छन्। ‘कसैलाई नबिझाउने नम्र वचनका धनी, उनी मलाई स्नेह गर्छन् र सदैव मेरो भलो चिताउँछन्’ भनिरहँदा खुसी लाग्छ। सोही स्नेहका कारण उनी मसँग औपचारिक वार्तालाप गर्दैनन् ! जे भन्नु छ वा सोध्नु छ, कुरा नचपाईकन सीधै सोध्छन्।
‘अँऽऽऽ डल्लै बाह्र हज्जार मोरु ! रकम बुझ्न र यसो चिनजान तथा बातचित गर्न भेटौं भनेर बारम्बारभन्दा पनि मैले भेटघाटको तालमेल मिलाउन नसक्दा, आजित बनेका उनले अन्तमा मेरो घरमै आएर मलाई सो रकम हस्तान्तरण गरेका हुन्। मनग्गे दिएका हुन् नि, हगि ? हा... हा...’ जवाफ फर्काउँदै फुर्केँ म !
‘अँ ! खुब दिएछन् ! फोनमा ‘ही ही’ गर्नुबाहेक तिमीले जानेको केही छैन। हेर ! जुन परियोजनाले यो फिल्म बनाएको हो, त्यसले यसका निम्ति छुट्याएको बजेटअनुसार ‘भुसको लोग्ने’को लेखकले एक/डेढ लाख हाराहारीको रकम पाउनपर्ने हो। घरको सँघार नाघेर यसो बाहिरफेर चियाऊ ! केही नभए पनि लेखनदास–दुनियाँ कसरी चल्दैछ र कहाँ पुगेको छ, बुझ। अलिकति व्यावसायिक बन्न सिक...’ फोनमा पर कतै गुञ्जेजस्तो उनको मसिनो स्वरमा दिग्दारी सुनियो।
‘एऽऽऽ अनि, अब के गर्नु त ? जे हुनु भइसकेछ। हा हा...’
‘फेरि ‘हा हा’ ! अब उसो, यस्तो काम थाल्दा पहिल्यै लेखकीय पारि श्रमिकबारे छिनोफानो गर्ने गर !’
‘हस् !’
उनीसँगको दोहोरो कुराकानीपछि मैले कथा लेखाइमाग्ने मित्रलाई ‘मान्छेहरू यसोयसो भन्छन् त ? ’ भनेर फोनमा सोधेँ। उनले भने, ‘आऽऽऽ हुन दिनुहोस् ! अहिले उनी आर्थिक संकटग्रस्त छन् विचरा !’
अनि मैले ‘हुन’ दिएँ।
तर लगत्तै भुलेँ, अनुभवी मित्रले सम्झाएका लेखकले पहिल्यै स्पष्ट गर्नुपर्ने व्यावसायिक सिद्धान्तका गुदी कुरा ! प्रथम प्रदर्शनमा ‘धनपति’का नायक/लेखक मित्रको फिल्मको पर्दामा क्रेडिट लाइनमा धरि आफ्नो नाउँनिसान नदेख्दा उदेक मानेँ, तर चुइँक्क बोलिनँ। यो सिनेमाको लेखन, पटकथा तथा संवाद उनै लेखक/नायक मित्रको थियो भने, पात्रहरूले बोल्ने मधेसी सुगन्धवाला पहाडे संवादमा चाहिँ मैले पनि काम गरेकी थिएँ।
पर्दामा पात्रहरू मैले लेखेको/बनाएको संवाद बोलिरहँदा रोमाञ्चित भइरहेँ, तर संवादमा खगेन्द्र लामिछानेसँगै आफ्नो नाउँ नदेखिएकोमा खिन्न पनि भइरहेँ। खगेन्द्रजीले लेखेका संवादलाई काट्कुट् पारेर कतिपय सग्लै संवाद पनि त्यो फिल्ममा मैले लेखेकी हुँ।
हो, उनले मलाई संवादमा काम गरेबापत र आफूलगायत अभिनेत्री सुरक्षा पन्त र मधेसी पाराका संवाद बोल्ने अन्य अभिनेतालाई, सिरहा–सप्तरीहुँदी पहाडे मूलका मधेसी मानिसले बोल्ने तरिकाबारे तीन दिन कक्षा लिएर सिकाएबापत १० हजार रुपैयाँ दिएका थिए। तर, पैसा दिएकै भरमा कसैको काम र मेहनतलाई यसरी निमिट्यान्न पार्न मिल्छ र ?
संजोग कस्तो भने, ‘धनपति’को यो कामका लागि पनि ‘भुसको लोग्ने’ लेखाइमाग्ने मित्रकै सिफारिसमा एक वचन नबोली ‘हस् !’ भनेकी थिएँ मैले !
फेरि जाऔं ‘भुसको लोग्ने’तिरै। वर्ष दिन अगाडिजसो, मार्टिन चौतारीमा एक अपराह्न ‘भुसको लोग्ने’ देखाइयो। उनै मित्रले ‘म काठमाडौंमा छैन अहिले ! निर्देशक पनि छैनन् त्यहाँ, उनका परिवारका सदस्य मात्र छन्। पत्रकारले उठाएका सवालका जवाफ दिन भए पनि तपाईंले नगई हुँदैन, कल्पनाजी !’ भनेर फोनमा धेरैपटक करकर गरेपछि बाध्य बन्दै त्यहाँ गएर फिल्म फेरि हेरेँ।
ए मेरी आमा, महामाया गुरुङसेनी हौ ! नब्बे मिनेटको त्यस्तो राम्रो सिनेमालाई चालीस मिनेटको बनाइएको रैछ ! साँच्चिकै स्त्री–रोग तथा प्रसूति विशेषज्ञले, आङ खस्नु भनेको कस्तो शारीरिक अवस्था हो ? यसको कारण र निदानबारे सेतो कोट पहिरेर मायालाई खुलेर सम्झाइबुझाइ गरेको दृश्य राखेर र कथाको अन्त्य पनि फेरेर, मैले सुरुमा हेरेको ‘भुसको लोग्ने’ टेलिफिल्मलाई बिरुप बनाइएको रैछ ! मन कटक्क काटियो !
त्यो कथालाई सुन्दर र स्वाभाविक बुनौटमा ढाल्न धेरै मेहनत गरेकी थिएँ। ‘चुराजस्तो ‘लाबर’को रिङले अड्काएर, बाहिर निस्केको पाठेघरलाई डाक्टरले भित्र हुलिदिन्छन्’बाहेक अरू मैले यसबारे केही लेखेकी थिइनँ। थाहा सञ्चारको रेडियो कार्यक्रम ‘सुन्नेलाई सुनको माला’का स्टेसन म्यानेजर/मित्र पवनराज पौडेलले उनको कार्यक्रममा ‘भुसको लोग्ने’ वाचनपश्चात् मलाई सुनाएका थिए, ‘धेरै श्रोताको प्रतिक्रिया राम्रो र उत्साहजनक रह्यो, तर एकजनाले चाहिँ अलि ‘विकासे’ सुनियो भने। हत्तेरी !’
मैले हाँस्दै उनलाई भनेकी थिएँ, ‘हैट् ! झन् ‘विकासे’ बन्ने डरले आफू नर्स भएर पनि जानाजान धेरै कुरा लेखिनँ त्यो कथामा, तर...’
तर यो चालीस मिनेटको ‘भुसको लोग्ने’ त झन् ‘महाविकासे’ बनेर निस्कियो। यसलाई ‘मैले लेखेको’ भन्न पनि मन मर्दै आयो मेरो ! मार्टिन चौतारीमा मलाई उपलब्ध गराइएको ‘भुसको लोग्ने’को डीभीडीको खोलको बाहिरपट्टि यसो हेरेको त, स्टोरी कल्पना बान्तवा, कन्सेप्टमा अर्कैको नाउँ छ। ए अचम्म !
विषय मलाई दिइएपछि, ‘यो कथालाई यस्तो रूपरङको बनाउँछु’ भन्ने अवधारणा, भाव र विचार त मेरो हो नि ! ‘यसमा यी यी पात्रहरू राख्छु, कथाको थालनी यसरी गर्छु, यसरी कथाको उठान गर्छु र अन्त्य यसरी गर्छु’ भन्ने संकल्पना पनि केवल मेरो हो।
सांगोपाङ कल्पेर कथा सिर्जना गर्ने म, त्यसको अवधारणा अरू कसैको ? बरु दीपक रौनियारको टेलिफिल्म ‘पूजा’को अवधारणामा मेरो नाउँ हुनपर्ने हो भन्ने मेरो निजी ठम्याइ छ।
दीपक रौनियारले पनि मलाई ‘एउटा कथा लेखिदिनु टेलिफिल्म बनाउनलाई’ भनेका थिए। र, हामी दरबारमार्गको कफीसपमा पहिलो र अन्तिमपटक कफी पिउँदै केही बेर गफिएका थियौं। सोही गफमा उनले मलाई, बीबीसी नेपाली सेवाको रेडियो नाटक कार्यक्रम आफूले छाड्न लागेको र उनको खाली हुन लागेको सो ठाउँमा मजस्तै लेखक आवश्यक भएकाले त्यहाँ जागिर खाने आग्रहसाथ कथाको विषयवस्तु बताएका थिए।
बीबीसी नेपाली सेवाको रेडियो नाटकमा जागिर खान इन्कार गर्दै कथा लेखिदिनचाहिँ म तयार भएँ। तर पछि, मैले लेखेर उनलाई दिएको कथामा फिल्म नबनाउने सूचना दिए, कुरा आयो गयो भो। हिजोअस्ति भर्खर युट्युबमा उनको लघुफिल्म ‘पूजा’ हेरेपछि भने आफैंलाई भनेँ, ‘अरे ! यो फिल्मको अवधारणा त मैले उनका निम्ति लेखिदिएको कथा ‘पासपोर्ट’सँग बिल्कुलै मेल खान्छ, जसलाई सन्जोग मात्र मान्न म सक्दिनँ, किनकि यसका पात्रहरूको चयन, उनीहरूका मध्य चल्ने वर्गीय–द्वन्द्व र जातीय विभेदबीच उम्रेर झ्यांगिएको प्रेम, पारिवारिक कलहको स्वरूप आदि दीपकजीद्वारा अस्वीकृत मेरो कथासँग दुरुस्त मिल्छ।’
कथामा थोरै फेरबदल गरेर, उनीजस्ता आशलाग्दा सिनेमाकर्मीले किन कन्सेप्ट वा कथामा मेरो नाउँ राख्न कञ्जुस्याइँ गरे ? त्यो कुरा मेरो सानो बुझाइभन्दा धेरै परको लाग्छ।
संजोग बरु फेरि कस्तो पर्यो भने, दीपकजीको अनुरोध पनि ‘भुसको लोग्ने’ र ‘धनपति’को कामकुरा गरिदिन अह्राउने उनै मित्रले मेरा सामुन्ने अघि सारेका थिए। संजोगको त के कुरा गराइ भो र ! यताउता ठोक्किइरहन्छन् ! तर यी अप्ठ्यारा र बेमेल मुद्दाहरूका खाल्टामा घरिघरि जाकिन्छु, मै किन ?