ती हरि, यी ह्यारी
यतिबेला नेपाली मूलका ह्यारी भण्डारीले अमेरिकामा चुनाव जितेको खबरले नेपालीलाई हर्षित बनाएको छ। ह्यारीको यो जित नेपाल र नेपालीका लागि मात्रै होइन, मेरिल्यान्ड राज्य क्षेत्रको डेमोक्र्याट पार्टीकै लागि ऐतिहासिक र महत्वपूर्ण बनेको छ। यही नोभेम्बर ६ मा अमेरिकामा मध्यावधि निर्वाचन भएको थियो। अमेरिकाको मेरिल्यान्ड राज्य क्षेत्रको डिस्ट्रिक ८ बाट डेमोक्र्याट पार्टीले १३ वर्षपछि दुईजना विधायक (सांसद) लाई हाउसमा पुर्याउन सफल भएको छ। तीमध्ये एक भण्डारी नै हुन्।
भण्डारीको कडा मेहनत, निरन्तरको लगाव, कर्मशील छवि र मतदातासँग घुलमिल हुने बानीले उनलाई निर्वाचनमा सफलता मिलेको हो। विगत १० वर्षदेखि एउटै समुदायमा बसेर काम गर्नु, ‘टिचर फर डेलिगेट्स’ नारा र मतदातालाई आफ्ना एजेन्डामा आश्वस्त पार्न सक्नुले नै सफलता हात पार्न सहज बनायो। उनलाई नेपालीले मात्र होइन, धेरै अमेरिकीले पनि मतदान गरेर जिताएका हुन्। उक्त डिस्ट्रिकका ८० हजार मतदातामध्ये नेपाली मूलका करिब एक सयजनाले मात्रै मतदानमा भाग लिएका थिए।
निर्वाचनपछि मेरिल्यान्ड राज्यको निर्वाचन आयोगले प्रकाशित गरेको मतगणनाअनुसार पहिलो भएका एरिक ब्रह्मोलले २१ हजार ९३२, दो स्रो ह्यारी भण्डारी २१ हजार ५११, तेस्रो जोसेफ बोटलर २० हजार ५६४, जो क्लस्टर १९ हजार ८५९, कार्ल ज्याक्सन १९ हजार ६९३ र जो नरमन १८ हजार ६८१ मत ल्याएका थिए।
भण्डारी कुल ८० हजार मतमध्ये २१ हजार ५११ मत ल्याएर विजयी भएका हुन्। अमेरिकामा प्रत्येक दुई वर्षको नोभेम्बर ६ निर्वाचनको दिन हो। यसपालिको मध्यावधि निर्वाचनमा केन्द्रीय प्रतिनिधिसभाको ४३५ सिट, केन्द्रीय सिनेटको एक सय सिटमध्ये ३३ सिट, गभर्नर ३६ सिट, राज्य सिनेट, राज्य डेलिगेट्सका साथै स्थानीय तहको निर्वाचन भएको हो। भण्डारीसँगै डिस्ट्रिक ८ बाट अन्य दुईजना निर्वाचित भएका छन्। जनसंख्याका आधारमा डिस्ट्रिकबाट निर्वाचित हुने सिट संख्या फरक हुन्छ। डिस्ट्रिक ८ मा तीन सिट मात्रै छ।
आफू विजयी भएपछि पत्रकारसँगको कुराकानीमा निकै खुसी देखिएका भण्डारीले अमेरिकामा बसिरहेका समस्त नेपालीप्रति धन्यवाद व्यक्त गरे। ‘अब अमेरिकामा रहेका नेपालीका समस्यामा काम गर्नेछु। त्यसमा पनि तपाईंहरूकै साथ र सहयोग चाहिन्छ’ भण्डारीले भने, ‘नेपालीका ‘इमिग्रेसन’ (आप्रवास) लगायत थुप्रैखाले समस्यामा काम गर्ने योजना बनाएको छु। नेपालीलाई अमेरिकाको मूलधारको राजनीतिमा ल्याउन र विभिन्न समस्यामा सहजीकरण गर्न छिट्टै एक सम्पर्क कार्यालय स्थापना गर्नेछु।’ उनले सबै नेपालीको साथ र सहयोगले मात्र सफलता हात लागेको भन्दै आभार व्यक्त गरे।
उनलाई जिताउन अमेरिकामा बसोवास गरिरहेका नेपाली अमेरिकीले गरेको आर्थिक सहयोगको पाटो महत्वपूर्ण छ। अमेरिकाका विभिन्न राज्यमा रहेका नेपाली र ‘फ्रेन्ड्स अफ ह्यारी भण्डारी’ अभियानमार्फत एक लाख २५ हजार अमेरिकी डलर संकलन गरिएको थियो भने मेरिल्यान्ड राज्यको डेमोक््रयाट पार्टीको ककस समूहले आठ लाख अमेरिकी डलरभन्दा बढी निर्वाचनका लागि खर्च गरेको थियो। त्यसमध्ये तीन लाख ५० हजार अमेरिकी डलर भण्डारीकै चुनाव प्रचारका लागि खर्च गरिएको थियो।
निर्वाचन नजिकिँदै गर्दा भण्डारीले आफ्नो चुनावी प्रचारलाई तीव्र बनाएका थिए। ‘चुनावको प्रचारप्रसार शैलीलाई चुस्तदुरुस्त बनाएकाले पनि भण्डारीजीले जित हात पार्नुभएको हो’ भण्डारी जिताउने अभियानमा निकै सक्रिय रहेका मधुकर अधिकारीले भने, ‘प्रारम्भिक निर्वाचनदेखि नै ह्यारीजी आफैं १५ हजार मतदाताको घरमा ढोका ढक्ढक्याउन पुग्नुभएको छ। ह्यारीजीको बारेमा विस्तृत जानकारी दिँदै फोटोसहितको पर्चा/पम्पलेट बनाएर हामीले सातपटकसम्म जनताका घरघरमा मेलर (चिठी) पठाएका थियौं।’ एकपटकमा २२ हजार घरमा पठाइने चिठीबाट सातपटकसम्म पठाउँदा धेरैलाई भण्डारीको बारेमा जानकारी भएको थियो। भण्डारीको फोटो भएको साइनबोर्ड लिएर चोकचोकमा बसेर ‘साइन वइभिङ’ गर्ने कार्यक्रममा पनि नेपालीको राम्रो उपस्थिति थियो।
‘भण्डारीजीको जित सम्पूर्ण नेपालीका लागि गर्वको कुरा हो। उहाँको यो सफलताले हामीलाई समेत अमेरिकाको सम्पूर्ण चुनावी प्रक्रियाबारे अभ्यास गराएको छ’, भण्डारीको जितप्रति खुसी व्यक्त गर्दै अधिकारीले भने।
अमेरिकी मूलधारको राजनीतिमा प्रत्यक्ष निर्वाचनबाट चुनिएका भण्डारी पहिलो नेपाली मूलका अमेरिकी हुन्।
पद के हो ?
भण्डारीले कुन पदमा चुनाव जितेको भन्नेबारे कतिपयलाई अझै स्पष्ट हुन सकेको छैन। उनले मेरिल्यान्ड राज्यको डिस्ट्रिक ८ बाट ‘हाउस अफ डेलिगेट्स’ (विधायक) जितेका हुन्। उनको पद नेपालको संघीय संरचनाअनुसार प्रदेशसभाको सांसदजस्तै हो। तर अमेरिकामा गभर्नर प्रत्यक्ष निर्वाचित हुने भएकाले ‘हाउस अफ डेलिगेट्स’ ले विधेयक बनाउने र पारित गर्ने काम गर्छन्। डेलिगेट्सहरूले पारित गरेको विधयेकलाई गभर्नरले अनुमोदन गरेर लागू गर्ने गर्दछन्।
मेरिल्यान्ड राज्यको बजेट तयार पार्न, विभिन्न शिक्षा, स्वास्थ्य, पूर्वाधार विकासलगायतमा विधयेक बनाउने काम ‘हाउस अफ डेलिगेट्स’ ले गर्छ।
वर्षमा एकपटक बस्ने हाउसको बैठकले बजेटलगायत थुप्रै विधयेकहरू पारित गर्दछ। त्यसको अनुमोदनदेखि अन्य विभिन्न काममा स्थानीय सरकारलाई कानुन तर्जुमा गरेर सहयोग गर्दछन्। मेरिल्यान्ड राज्यका २३ वटा काउन्टीको ४७ डिस्ट्रिकबाट निर्वाचित हुने डेलिगेट्सको संख्या १४१ रहेको छ। मेरिल्यान्ड राज्यमा ६० लाख ५२ हजार जनसंख्या रहेको छ भने डिस्ट्रिक ८ मा एक लाख २४ हजार जनसंख्या छ। त्यसमध्ये ८० हजार मतदाता छन्। डिस्ट्रिक ८ कै इतिहासमा सानो समूह (माइनरिटी ग्रुप) बाट जित्ने भण्डारी पहिलो हुन्। उक्त डिस्ट्रिकमा हालसम्म कसैले पनि सानो समूहबाट जित हासिल गर्न सकेका थिएनन्।
कहिले अमेरिका आए ?
पर्वतको फलेबास २ मा २०३४ सालमा जन्मिएका भण्डारी एक साहित्यिक कार्यक्रममा भाग लिन सन् २००५ मा अमेरिका आएका थिए। उनको वास्तविक नाम हिरबहादुर भण्डारी हो। हाल उनी आफ्ना बाबुआमा, भाइबुहारी, श्रीमती र छोराछोरीसँग बस्दै आएका छन्। अमेरिका आएपछि सबैलाई उच्चारण गर्न सजिलो होस् भनेर आफ्नो नाम परिवर्तन गरेका थिए।
अमेरिका आउनेबित्तिकै केही समय ग्यास स्टेसनमा काम गरेका भण्डारीले शिक्षक भएर पढाउन सुरु गरेका थिए। सानैदेखि पढाइमा अब्बल भण्डारीले नेपालमै अंग्रेजी साहित्यमा स्नातकोत्तर गरेका छन्। भण्डारीको अंग्रेजी भाषामा राम्रो दक्खल भएकाले पनि उनलाई शिक्षक भएर काम गर्न सहज भएको थियो। अमेरिका आउनुअघि पनि उनी नेपालमा शिक्षक नै थिए। १२ वर्षदेखि उनी बाल्टिमोर पब्लिक स्कुल सिस्टमका स्थायी शिक्षक हुन्। चुनावमा विजयी भएपछि पनि उनी नियमित स्कुल गएर विद्यार्थी पढाइरहेका छन्। आगामी जनवरीमा उनको शपथ हुँदैछ। त्यसपछि भने उनले आफ्नो पेसालाई निरन्तता दिने कि नदिने भन्ने निर्णय गर्नेछन्।
सन् २०११ मा अमेरिकाको नागरिकता लिएपछि भने प्रत्यक्ष रूपमा राजनीतिक गतिविधिमा होमिएका थिए। नेपालमा हुँदादेखि नै विद्यार्थी राजनीतिमा सक्रिय उनले यहाँ आएर पनि समुदायको हितमा काम गर्न सुरु गरे। उनले समुदायको स्थानीय मुद्दामा काम गर्ने सिलसिलामा ‘लिन ओभर कम्युनिटी एसोसिएसन’ मा सक्रिय भएर काम गरे, अमेरिकाको ‘योङ डेमोक्र्याट पार्टी’ को सचिव भएर काम गर्दै उनी निर्वाचनमा होमिएका हुन्।
अमेरिकी मूलधारको राजनीतिमा प्रत्यक्ष निर्वाचनबाट चुनिएका भण्डारी पहिलो नेपाली मूलका अमेरिकी हुन्। गत जुनमा डिस्ट्रिक ८ बाट प्रारम्भिक चुनावमा जितेपछि मध्यावधि निर्वाचनमा भाग लिएका थिए। उनले सन् २०१४ मै पहिलोपटक निर्वाचनका सहभागी भएका थिए तर त्यतिबेला भने उनी पराजित भएका थिए।
न्युयोर्कबाट