धनाढ्य व्यापारीसहित २५ जना जुवाको खालबाट समातिए
काठमाडौं : महानगरीय प्रहरी परिसर टेकुले राजधानीको बत्तिसपुतलीस्थित एक होटेलबाट १३ जना धनाढ्य ब्यापारीहरुलाई पक्राउ गरेको छ । परिसरले चलाइरहेको जुवाविरुद्धको अप्रेशनका क्रममा बत्तिसपुतलीस्थित मिराज लर्ड्स इन् होटेलबाट एकैसाथ कमलपोखरी र बत्तिसपुतली क्षेत्रका १३ जना व्यापारी समातिएका हुन् ।
परिसरको टोलीले जुवाको खालबाट ७ लाख ६० हजार एक सय ९० नेपाली रुपैयाँ र भारतीय एक हजार आठ सय ८० रुपैयाँ तथा तीन बुक तास पनि बरामद गरेको छ । पक्राउ पर्नेहरुमा कालिकास्थान बस्ने पर्साको वीरगन्ज महानगरपालिका-८ का ३३ वर्षीय देवकुमार अग्रवालसहित १३ जना रहेका छन् ।
उनीसँगै पक्राउ पर्नेमा मनोजकुमार तितवाल, मनिषकुमार नेमानी, रवि नेमानी, राजकुमार अग्रवाल, सुरेशकुमार एलन, गौरवकुमार अग्रवाल, विजय अग्रवाल, मनोजकुमार चितलांग, राजकुमार चौधरी, दिनेशकुमार अग्रवाल, जगदीश कुमार र विकासकुमार नेमानी रहेका छन् ।
उनीहरु खेलिरहेको जुवाको खालबाटनेपाली रुपैयाँ ७ लाख ६० हजार १ सय ९०, भारतीय रुपैयाँ १ हजार ८ सय ८० र ३ बुक तास सहित शनिबार बेलुका प्रहरीले पक्राउ गरेको छ ।
त्यसैगरि प्रहरीले काठमाडौंको लाजिम्पाट निवासी ५३ वर्षीय राजु भट्टचनको घरमा जुवातास खेलिरहेको अवस्थामा उनीसहित ४ जनालाई नगद एक लाख ३७ हजार ७ सय २० रुपैयाँसहित पक्राउ गरेको छ ।
उनीहरुको जुवाको खालबाट ५ बुक तास र त्यस खेलमा प्रयोग हुने सेतो कालो रंगको गोटी ३० थानसहित शनिबार दिउँसो टेकु परिसरको टोलीले पक्राउ गरेको हो ।
त्यसैगरी काठमाडौं महानगरपालिका-२६ मित्रनगरस्थित गोरखा आरुघाटका कमल थापाको गुरुङ पोखरा गेष्ट हाउसमा जुवातास खेलिरहेको अवस्थामा दार्चुला सल्ले शिखर नगरपालिका-९ का २३ वर्षीय सुरेश बिष्टसहित ८ जनालाई ७९ हजार ४ सय रुपैयाँ र १ बुक ताससहित प्रहरीले पक्राउ गरेको छ ।