अग्नि सापकोटा भन्छन् : ओलीले 'ब्रेक थ्रु' गर्न सकेनन्, मन्त्री पनि उस्तै
काठमाडौँ : सत्तारुढ दल नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का स्थायी समिति सदस्य अग्नि प्रसाद सापकोटाले वर्तमान सरकारले निरन्तरतामा क्रमभंगता गर्न नसकेको गुनासो गरेका छन् ।
‘यो सरकार निरन्तरताको लागि मात्रै होइन । प्रधानमन्त्री केपी शर्मा ओली सफल प्रधानमन्त्री हो’, सापकोटाले भने, ‘तर, उहाँको टिममा रहेका मन्त्रीहरूबिच टिम-स्पिरिट देखिएन ।’
आइतबार रिपोर्टर्स क्लब नेपालको साक्षात्कारमा बोल्दै उनले सरकारले जनचाहना र आकाङ्क्षा पूरा गर्ने गरी काम गर्न नसकेको स्वीकार गरे ।
‘अब जनताको चाहनाअनुसार काम गर्नुपर्छ । काममा ब्रेक–थु हुनुपर्छ’, सापकोटाले भने । पूर्वमन्त्रीसमेत रहेका सापकोटाले पार्टीका केही शीर्ष नेताहरू विदेश भ्रमणमा र प्रधानमन्त्री केपी शर्मा ओली पनि अस्वस्थ भएकाले सचिवालय र स्थायी समिति बैठक बस्न नसकेको सुनाए ।
‘अब बस्ने सचिवालय बैठकमा सरकारको पनि समीक्षा हुन्छ । पार्टी एकताको काम प्रगतितर्फ उन्मुख छ । लगभग ८० प्रतिशत काम सकिएको छ’, सापकोटाले थपे । वर्तमान सरकार इतिहासकै शक्तिशाली भएकाले निरन्तरतामा क्रमभंगता हुनुपथ्र्यो भन्ने आफूहरूको चाहना रहेको पनि सापकोटाले सुनाए ।
‘तर पनि यो सरकार विगतकै जस्तो निरन्तरताका लागि भयो,’उनले भने, ‘जनताले त सुशासन, भ्रष्टाचारलाई कारबाही गर्ने कुरामा क्रमभंगता खोजेका थिए । तर, जनताले चाहेजस्तो सरकारले ब्रेक–थ्रु गर्न सकेन ।’
सरकार रणनीतिक महत्त्वका काममा पूर्ण सफल भएको उनले दाबी गरे । यो बिचमा सरकारले अन्तर्राष्ट्रिय सम्बन्धलाई उचाइ प्रदान गर्न, द्विपक्षीय सम्बन्धलाई गुणात्मक बनाउन र ल्यान्ड–लक्डबाट ल्यान्ड–लिङ्कतर्फ मुलुकलाई अघि बढाउनेजस्ता महत्त्वपूर्ण रणनीतिक महत्त्वका काम सम्पन्न गरेको भन्दै राम्रा कामको फेहरिस्त सुनाए ।
सापकोटाले प्रधानमन्त्री ओली संयुक्त राष्ट्रसंघको महासभामा गएर मुलुकको राष्ट्रिय स्वाधीनता र स्वाभिमानको विषयमा शिर उठाउने काम गरेको भन्दै प्रशंसा गरे ।
‘प्रधानमन्त्री ओलीसँग अहिले पनि राष्ट्रवादी अडान कायमै छ भन्ने मेरो जबरजस्त धारणा छ’, उनले भने । सापकोटाले सरकारले समयमै मौलिक हकसम्बन्धी कानुन ल्याएको सुनाउँदै मुलुकमा संवैधानिक सङ्कट नरहेको स्पष्ट पारे ।
त्यस्तै उनले सिन्डिकेट अन्त्य भए पनि मन्त्रालयहरूबिच समन्वय नहुँदा व्यवहारमा जनताले अनुभूति गर्न नपाएको स्पष्ट पारे । ‘मन्त्रीहरूबिच टिम–स्पिनर देखिएनन् । प्रधानमन्त्रीको स्पिनर मन्त्रीहरूमा देखिएन । अब समीक्षा गर्ने बेला भएको छ’, उनले भने, ‘सिन्डिकेट अन्त्यको काम भएको छ । तर, व्यवस्थापनमा केही समस्या देखियो ।’
उनले जनताले सरकारबाट भाषण नभएर ‘एक्सन’ खोजेको पनि बताए । ‘जनतालाई सपना देखाउने काम पूरा भसक्यो, अब ‘एक्शन’ गरेर देखाउनुपर्छ’, सापकोटाले थपे , ‘अब बस्ने स्थायी समिति बैठकमा सरकारको बिहंगम समीक्षा हुन्छ ।’
सरकारले रणनीतिक महत्त्वको काम गरे पनि जनतालाई सेवा दिने काममा ढिलाइ भएको उनको गुनासो छ । उनले भने,‘अब सरकारले अल्पकालीन, मध्यकालीन र दीर्घकालीन योजनाहरूको ‘सिरिज’ बनाउनुपर्छ ।’ वर्तमान सरकारको विकल्प नभएको उनले जिकिर गरे ।
मुलुकमा राजनीतिक सङ्क्रमण काल समापन भए पनि व्यवहारिक सङ्क्रमण बाँकी नै रहेकोले यसलाई सबै मिलेर हल गर्नुपर्ने उनको धारणा छ । उनले भने,‘यसको लागि दलहरूबिच बढीभन्दा बढी छलफल र सम्वाद गर्नुपर्छ ।’
सरकारका कामकारबाहीका सवालमा जनताको तहबाट उठेका सकारात्मक आलोचनाहरूलाई सुझावका रूपमा लिनुपर्ने उनले सुझाए । उनले थपे,‘जनताका सकारात्मक आलोचना र गुनासाहरूलाई सरकारले एक-एक सम्बोधन गर्नुपर्छ ।’
जनताले यही सरकारबाट ठुलो आशा गरेकाले कम्युनिस्ट सरकारको विकल्प नभएको उनको भनाई छ। उनले भने,‘जनताले यो सरकारसँग ठुलो आशा र अपेक्षा गरेका छन् । सरकारसँग अझै समय र शक्ति छ । वर्तमान प्रधानमन्त्री ओली सफल प्रधानमन्त्री हुनुहुन्छ ।’