प्रेरणाका पुञ्ज कुसुम दाइ
उहाँलगायतका अग्रजहरूले न्याय परिषद्मा कहिल्यै राजनीति घुमाउनुभएन
मेरो प्रथम भेट कुसुम श्रेष्ठ दाइसँग २०३२/३३ तिर भएको थियो। दुर्गा पोखरेल दिदी, मसहित केही अन्य मित्रले कानुनको प्राइभेट परीक्षा दिने सल्लाह गर्यौं। दुर्गा ददीको कुसुम दाइसँग राम्रो परिचय रहेछ। नेपाल ल फर्ममा कुसुम दाइलाई भेट गर्न जाऊँ भनेपछि हामी गयौं। उहाँले भेट हुँदा कानुन पढ्न सल्लाह दिनुभयो। उहाँले उपहारस्वरूप पुस्तक दिने बताएपछि हामी पुस्तक लिन उहाँको निवास गएका थियौं।
त्यसपछि कुसुम दाइसँग मेरो भेट २०३७ सालतिर वीरगन्जको कानुन व्यवसायीहरूको क्षेत्रीय सम्मेलनमा भएको थियो। पछिल्ला सम्मेलनहरूमा उहाँसँग भेट भयो। काठमाडौंमा मुद्दाका सिलसिलामा सर्वोच्च अदालततिर आउँदा र जाँदा हामी नेपाल ल फर्ममा पस्ने गर्दथ्यौं। त्यो फर्म नवोदित कानुन व्यवसायीलाई परिपक्व बनाउने एउटा संस्थासरह थियो। त्यहाँ जाँदा कृष्णप्रसाद भण्डारीजी र कुसुम दाइसँग प्रायः भेट हुन्थ्यो। उहाँहरूलाई भेट्न हामी लालायित पनि हुन्थ्यौं। उहाँहरू हामीजस्ता नवोदित कानुन व्यवसायीलाई प्रेरणा दिनुहुन्थ्यो। कुसुम दाइ जहिले पनि कस्तो छ भाइ तपाईंमा वकालत भनेर सोध्ने गर्नुहुन्थ्यो। उहाँले कहिल्यै बहिनी भन्नुभएन। सायद उहाँको थेगो नै भाइ भन्ने थियो। जहिले पनि सम्मेलनमा मैले प्रस्तुत गरेको लेखेको उहाँ प्रशंसा गर्नुहुन्थ्यो। हामीसँग वकालत गर्नुपर्छ भनिरहनुहुन्थ्यो।
कुसुम दाइ र भण्डारीजीले कहिल्यै पनि काठमाडौंमै वकालत गर्नुपर्छ भन्नुभएन। बरू वकालतकै क्रममा उहाँले धेरै मुद्दाको सिफारिस धरान, विराटनगर र धनकुटाको निम्ति गर्नुभएको थियो। कुसुम दाइले केही मुद्दाका क्रममा पटकपटक काठमाडौं बोलाई मुद्दाको बहस गर्ने बुँदासम्म टिपाएको सम्झना छ। त्यसमा केही मुद्दाहरू विदेशीका पनि थिए। निष्ठावान् र आफ्नो पेसाप्रति समर्पित थिए कुसुम दाइ।
पञ्चायतकालको कठोर समयमा पनि अधिकांश राजनीतिक बन्दीका मुद्दामा उहाँले बहस गर्नुभएको थियो। भीमनारायण श्रेष्ठ र कप्तान यज्ञबहादुरको मुद्दामा धनकुटा क्षेत्रीय अदालतमा गएर बहस गर्नुभएको थियो। उहाँ गम्भीर बहस गर्नुहुन्थ्यो। कानुन व्यवसायी भन्ने गर्थे– उहाँ बहस सकिएपछि मित्रहरूलाई अब हिलेतिर जाऊँ भन्ने गर्नुहुन्थ्यो। हामी सबैले वकालत पेसाप्रति उहाँको समर्पणको स्मरण गर्नै पर्दछ। मैले २०३५ सालको अन्त्यतिर वकालत सुरु गरेकी थिएँ। मेरो प्रेरणाका स्रोत वा अनुकरणीय व्यक्तित्व भनेका त्यस बेलाका जल्दाबल्दा वरिष्ठ अधिवक्ताहरू शम्भुप्रसाद ज्ञवाली, कृष्णप्रसाद पन्त, लक्ष्मणप्रसाद अर्याल, वासुदेव शर्मा, कृष्णप्रसाद भण्डारी, मोतीकाजी स्थापित, गणेशराज शर्मा, सर्वज्ञरत्न तुलाधरजस्ता दिग्गज अनि सेवाप्रति समर्पित व्यक्तित्वहरूलाई देखेकी थिएँ। उहाँहरू धेरैजसो यो संसार छाडेर गइसक्नुभएको छ।
वरिष्ठ अधिवक्ताहरू शम्भुप्रसाद ज्ञवाली, कृष्णप्रसाद पन्तहरूले राजनीतिक सिद्धान्त प्रक्षेपण गराई बारलाई कहिल्यै पनि वैचारिक रूपमा खण्डित गराउनुभएन। त्यसको प्रतिफल नेपाल बार एक ढिक्काको रूपमा रहेरै फस्टाउन सकेको हो।
यो प्रकृतिको नियम हो– संसारमा कोही बाँचिरहँदैन। ‘ओल्ड इज गोल्ड’ भने झैं उहाँहरू अकबरे सुन हुनुहुन्थ्यो। उहाँहरू हाम्रा अग्रजहरू हुनुहुन्थ्यो, जसलाई हामी स्मरण गर्न चाहन्छौं। उहाँहरू महान् हस्ती हुनुहुन्थ्यो, जसले नेपाल बारलाई बारकै रूपमा सैद्धान्तिक कर्म र मान्यता दिलाउन सफल हुनुभयो। उहाँहरूले राजनीतिक सिद्धान्त प्रक्षेपण गराई बारलाई कहिल्यै पनि वैचारिक रूपमा खण्डित गराउनुभएन। त्यसको प्रतिफल नेपाल बार एक ढिक्काको रूपमा रहेरै फस्टाउन सकेको हो। त्यसकारण बारको भाषा र बोली एउटै कायम हुन सक्यो।
पुराना पुस्ता नयाँ पुस्तालाई स्थापित गर्न चाहन्थे र नयाँ युवा पुस्तामा उत्साह जगाउन चाहन्थे। उनीहरू प्रत्यक्ष सहयोग गर्दथे र प्ररेणा प्रदान गर्दथे। मोतीकाजी स्थापित र वासुदेव ढुंगाना (स्वर्गीय) न्याय परिषद्मा हुँदा परिषद् आस्थाका आधारमा होइन, सैद्धान्तिक आधारमा परिचित थियो। म न्यायाधीशमा नियुक्ति हुँदा उहाँहरू न्याय परिषद्मा कायम हुनुहुन्थ्यो। उहाँहरूले न्याय परिषद्मा कहिल्यै पनि राजनीति घुसाउन चाहनुभएन। न्याय परिषद्को त्यसबखतको मूल्य र मान्यता अनि कार्य कानुनबमोजिम हुन सकेको थियो।
मैले कुसुम दाइसँग २०६५ सालसम्म भेट गर्न पाइरहें। उहाँसँगको भेट पातलो हुनुको कारण थियो– उहाँले नेपाल ल फर्म छाडी छुट्टै ल फर्म खोल्नुभयो। नेपाल ल फर्ममा हुँदा उहाँसँग भेट गर्न सरल थियो। सर्वोच्च अदालत आउँदा हामी उहाँको ल फर्ममा सरासर पुग्थ्यौं। म २०६५ साल माघमा न्यायाधीश भएपछि उहाँसँग भेटघाट हुन सकेन। उहाँले बहस गर्न छाडिसक्नुभएको थियो। न्यायाधीशहरू प्रायः वकिलका घरमा जाने र भेट गर्ने चलन थिएन। भेट्दा आपत्ति त हुने होइन, तर म कठोर नियम पालन गर्ने पक्षमा थिएँ। यसपछि कुसुम दाइका मुद्दा हेर्ने सौभाग्य मैले पाइनँ। किनकि उहाँका मुद्दा मेरो बेन्चमा आएनन्। र, भेट पनि हुन सकेन। तर उहाँका बारेमा म खोजबिन र सोधपुछ गरिरहन्थें।
यसैबीच स्वास्थ्यमा केही असर परे पनि उहाँ नित्यजसो फर्म वा घरमा भएको च्याम्बरमा बसेर पनि ‘च्याम्बर प्राक्टिस’ गर्नुहुन्छ भन्ने जानकारी भइरहेको थियो। यथार्थमा कुसुम दाइ मेरा प्रेरणाका स्रोतमध्येका एक हुनुहुन्थ्यो। उहाँले मलाई वकालत गर्ने प्रेरणा दिनुहुन्थ्यो। म उहाँको आत्माको चिर शान्तिको कामना गर्दछु।