लुक्ला उडानमा हेलिकप्टरलाई छुट्टै रुट
काठमाडौं : त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट उडान तथा अवतरण हुने हेलिकप्टरका लागि अलग्गै रुट तय भएको छ। हेलिकप्टर सोसाइटी अफ नेपालले लुक्ला विमानस्थलका निम्ति पनि अलग्गै हेली रुट तय गरेको हो। लुक्ला विमानस्थलका लागि चारवटा हेली रुट तय गरेर बुधबार नेपाल नागरिक उड्डयन प्राधिकरणसमक्ष पेस गरेको सोसाइटीका महासचिव तथा हेली एभरेस्टका प्रमुख कार्यकारी अधिकृत (सीईओ) योगराज शर्मा कँडेलले बताए।
उनका अनुसार दैनिक साढे दुई सयभन्दा बढी हवाई उडान हुन थालेको लुक्ला विमानस्थलबाट बाहिरिने र प्रवेशमा हेलिकप्टर तथा फिक्स विंङ्स जहाजका लागि अलगअलग रुट तय गरिएको छ। जसका कारण हवाई चाप हुँदा नियमित उडानका जहाज र हेलिकप्टरले आफ्नै रुटबाट अवतरण गर्न सक्छन्।
कँडेलका अनुसार लुक्ला विमानस्थलमा १० हजार पाँचसय फिटभन्दा तल हेलिकप्टरले उडान गर्ने गरी विभिन्न चारवटा रुट तय गरिएको छ। यसअघि दुई वटा रुटबाट मात्रै हेली उडान तथा अवतरण भएकोमा अब दुईवटा रुट थप हुने भएको छ। हेली रुटका लागि दूधकोशी नदीलाई आधार मानेर विमानस्थलमा उडान तथा अवतरणका लागि नाम्चे नर्थ र नाम्चे साउथका दुईवटा रुट छन्। काठमाडौं–लुक्ला क्षेत्रका लागि जुनिबेसी र लुक्ला–काठमाडौंका लागि फेरा रुटमा प्राविधिक छलफलपछि लागू हुने उल्लेख छ।
पछिल्लो समय लुक्ला विमानस्थल निकै व्यस्त हुने सूचीमा पर्छ। यो विमानस्थलमा एक साताको जहाज तथा हेलिकप्टर उडान तालिकालाई लिएर सोसाइटीले उपयुक्त रुट सिफारिस गरेको हो। लुक्लाका नियमित उडानमा रहेका जहाजले ३३ देखि ५८ वटासम्म उडान गर्न थालिसकेका छन्। हेलिकप्टरले भने ५९ देखि ८५ वटासम्म उडान गर्ने गर्छ।
यो विमानस्थमा हुने यस्तो कुल उडान दैनिक साढे दुई सयभन्दा बढी हुन थालेकाले विमानस्थलमा हवाई चाप बढेको हो। लुक्लामा हवाई औसतमा उडान दुई सय वटा हुने गरेको छ। लुक्लामा हवाई उडान सहरीकरण गर्न र नियमित उडानमा सहजीकरण गर्नकै लागि नेपाल नागरिक उड्डयन प्राधिकरणले छुट्टै हेलिपोर्टको तयारी गरिरहेको छ।
लुक्ला विमानस्थलमा १० हजार पाँचसय फिटभन्दा तल हेलिकप्टरले उडान गर्ने गरी विभिन्न चारवटा रुट तय गरिएको छ।
नयाँ हवाई रुटलाई कार्यान्वयन गर्न जटिलता नरहेको पनि सोसाइटीका महासचिव कँडेलले बताए। उनका अनुसार यसअघि पहिलो चरणमा सोसाइटीले काठमाडौंबाट हुने हेली उडानमा नयाँ रुट तय गर्न परामर्श सुरु गरेको छ। आइतबारबाट लागू गर्ने भनिए पनि तयारी नपुगेकाले एक साता ढिलो भएको छ। काठमाडौं विमानस्थलका लागि तय भएको नयाँ रुटमा आइतबारदेखि परीक्षण उडान सुरु गर्ने र परीक्षणको १५ दिनपछि नियमित रूपमा लागू गराउने योजना छ। काठमाडौं र लुक्लापछि सोसाइटीले पोखरा विमानस्थलबाट हुने उडान तथा अवतरणमा पनि हेलिकप्टर र जहाजको उडान रुट तय गर्नेछ।
लुक्ला पछिल्लो समय पर्यटकीय सिजनमा निकै व्यस्त हुने विमानस्थल हो। यसको उडान तथा अवतरण गर्ने धावनमार्ग पनि भू–बनोटका कारण विश्वमै साहसिक मानिन्छ।