एउटा पोलिम्याथको सम्झनामा

एउटा पोलिम्याथको सम्झनामा

प्राध्यापक कमलप्रकाश मल्लको निधन भयो भन्ने समाचार सुन्नासाथ मेरो मस्तिष्कमा उहाँसँग जोडिएका सम्झनाहरू दोहोरिन थाले। उहाँसँगका भेटघाट मनमा ताजा भए। सन् २००७-०८ तिर हुनुपर्छ, म ‘गडेस अफ् काठमान्डु’ लेख्ने तयारीमा थिएँ। त्यसैका लागि सन्दर्भ सामग्री बटुलिरहेथें। सोही क्रममा मण्डला बुक्समा मल्लसँग भेट भयो। उहाँले सोध्नुभयो, ‘के गर्दैछौ ? ’

मैले भनें, ‘पढाइरहेछु।’ उहाँले तत्काल जवाफ दिनुभयो, ‘एउटा कुरा सम्झ पढेर मात्र हुँदैन, लेख्नु पनि पर्छ।’

आपूmले लेख्दै गरेको किताबबारे पनि बताएँ। साथै बौद्ध दर्शनका किताबबारेमा कुरा गरें। मध्यकालका ज्ञानीहरूबारेमा उहाँसँग सोधिमागेको थिएँ। उहाँले ‘ब्लु एनल्स’ भन्ने किताब पढ्न सिफारिस गर्नुभएको थियो। सोही सन्दर्भमा उहाँले मलाई बुद्धिज्मको विकासबारे छोटकरीमा बताउनुभयो। उहाँले भन्नुभएको अहिले पनि सम्झन्छु, ‘महायान र बज्रयानमा देवीदेउता धेरै छन्। हिनयानमा कर्मकाण्ड धेरै छ। तिमी गम्भीर विषयमा पस्न खोजिरहेछौ। दुवै धार बुझ्न एकदुई वर्ष पढ्नुपर्छ।’

खासमा अंग्रेजी विभागका शिक्षकले नेपालीमा नलेखेकोमा कमलप्रकाश मल्ल चिन्तित हुनुहुन्थ्यो। उहाँ जहिल्यै पनि लेख्न प्रोत्साहन गर्नुहुन्थ्यो। नलेखेपछि कसैले पनि सम्झँदैन भन्नुहुन्थ्यो। त्यो चिन्ता उहाँको लेखनमा पनि झल्किन्छ। ‘रोड टु नो ह्वेर’ नामक उहाँका लेखहरूको संग्रहमा राखिएको लेख ‘द इम्पोर्टेन्स अफ बिइङ क्रिटिकल’ मा उहाँ लेख्नुहुन्छ—

‘सन् १९५० भन्दा पहिला अंग्रेजी शिक्षकहरूको नेपाली साहित्यमा कुनै विशेष प्रकाशन छैन। थोरै मात्र योगदान सम्झिन सक्छु। सरदार नरेन्द्रमणि आचार्य दीक्षितले ‘युरोपिय साहित्यको नमुना’ प्रकाशन गर्नुभएको थियो। यदुनाथ खनालले ‘समालोचनाको सिद्धान्त’ प्रकाशन गर्नुभएको थियो। प्राध्यापक ईश्वर बरालका तीन संग्रह ‘झ्यालबाट’ (समालोचना), ‘सयपत्री’ (निबन्ध) र ‘हिमाञ्चुली (कविता)।’

कमलप्रकाश मल्ललाई पहिलोपटक शिक्षकको रूपमा चिनें। सन् १९८० को मध्यतिर त्रिभुवन विश्वविद्यालयको अंग्रेजी विभागमा स्नातकोत्तरमा भर्ना भएँ। त्यतिबेला उहाँ भाषाशास्त्र पढाउनुहुन्थ्यो। पछि उहाँले आलोचनात्मक समालोचना पनि पढाउनुभयो। सोही सन्दर्भमा उहाँले भारतीय समालोचक वाई. बी. कृष्णमूर्तिले गर्नुभएको एमबीबी शाह (राजा महेन्द्र) को कवितामाथिको समालोचनाप्रति नै टिप्पणी गर्नुभयो। उहाँले भन्नुभएको थियो, ‘कृष्णमूर्तिले एक किसिमको जबर्जस्ती गरेर अद्वैत र उपनिषद्को भाव मिसिएको छ भनेका छन्। एमबीबी शाहको कवितामा कति नेपालीपन छ भन्ने लेखिदिएको भए राम्रो हुन्थ्यो।’

त्यतिबेला राजसंस्थाको बलियो पकड थियो। मानिसहरू राजासँग डराउँथे। महेन्द्र शासन चरममा भएको बेला पनि यस्तो लेख्ने साहस गर्नुभयो। उहाँको स्वभाव नै त्यस्तै थियो, निडर र साहसी। उहाँको त्यो विशेषता मैले विद्यार्थी र शिक्षक दुवै हुँदा अनुभव गरें।

निकै आकर्षक हुनुहुन्थ्यो मल्ल सर। क्लासमा चिटिक्क परेर आउनुहुन्थ्यो। सधैं कालो कोट-पाइन्टमा सजिनुहुन्थ्यो। त्यतिबेला क्लासमा चक प्रयोग हुन्थ्यो। तर त्यसको एक कण पनि उहाँको सुटमा लाग्दैनथ्यो। सुटकेस लिएर आउनुहुन्थ्यो। त्यसभरि किताब हुन्थे। क्लासमा पसेपछि किताब निकालेर बीचबीचमा त्यसका अंश पढ्दै व्याख्या गर्नुहुन्थ्यो। गज्जबको व्याख्या गर्नुहुन्थ्यो उहाँ। मलाई पढाएका शिक्षकमध्ये राम्रोसँग व्याख्या गर्ने निकै कममध्ये उहाँ एक हुनुहुन्थ्यो। बोर्डमा लेखीलेखी व्याख्या गर्ने उहाँको पद्धतिले हामीलाई अंग्रेजी भाषामा बलियो बनायो। म र मेरा समकालीनको भाषाशास्त्र बलियो हुनुको कारण उहाँले जग हालिदिएकैले हो।

हामीलाई भने उहाँ निकै रहस्यमय व्यक्ति लाग्थ्यो। समयमै आउनुहुन्थ्यो, पढाउनासाथ हिँड्नुहुन्थ्यो। कतिसम्म हल्ला थियो भने उहाँले रिकमेन्डेसन लेखिदिए विश्वका कुनै पनि विश्वविद्यालयमा भर्ना हुन्छ भनिन्थ्यो।

विद्यार्थीलाई माया गर्ने भए पनि रिजर्भ बस्ने उहाँको स्वभाव थियो। त्यसैले उहाँसँग खासै गहिरो संसर्ग भने हुन पाएन। निकै स्वाभिमानी हुनुहुन्थ्यो उहाँ। विश्वविद्यालयमा मन्त्री, सचिवहरू आइरहन्थे। अधिकांश प्राध्यापक र शिक्षकहरू उनीहरूलाई नमस्कार गर्न पुग्थे। मल्ल सर भने भेट भयो भने हात मिलाउने र हिँडिहाल्ने गर्नुहुन्थ्यो। एकान्तमा बसेर आफ्नो लेखपढ गर्ने स्वभाव थियो उहाँको।

त्यसैले एकपटक उहाँले एउटा डेस्क र कुर्सीसहितको बेग्लै कोठा माग्नुभएको थियो। त्यतिबेला म अंग्रेजी विभागको शिक्षक भइसकेको थिएँ। धेरैले मल्ल सरको मागलाई लिएर हसीमजाक उडाए, तर उहाँ गम्भीर हुनुहुन्थ्यो। हरेक प्राध्यापकले अध्यापनसँगै अध्ययन, अनुसन्धान र लेखनमा लाग्नुपर्छ। त्यसका लागि प्राध्यापकलाई सुविधा दिइनुपर्छ भन्नुहुन्थ्यो उहाँ। हुन पनि विश्वभरका विश्वविद्यालयको अभ्यास त्यही नै हो। तर हामीकहाँ त गरिबीको पनि ग्लोरिफाई (महिमामण्डन) गर्ने स्वभाव छ।

कमलप्रकाश मल्ल खासमा एकेडेमिसियन हुनुहुन्थ्यो। नेपाली समाज र संस्कृतिको अध्ययनमा उहाँको निकै योगदान छ। उहाँलाई नपढी नेपाली समाज र संस्कृति बुझिँदैन। उहाँले नेपाली समाजको विविधतापूर्ण चित्रलाई स्पष्ट ढंगले अगाडि राख्नुभयो।

कोहीकोही उहाँले नेवारी संस्कृति र परम्परालाई मात्रै जोड दिनुभयो भन्ने गर्छन्, जुन निकै सतही टिप्पणी हो। उहाँ काठमाडौंको स्कलर हुनुहुन्थ्यो। उहाँले अवश्य पनि नेवारी संस्कृति र साहित्यबारे लेख्नुभएको छ। तर के बुझ्न जरुरी छ भने नेवारी सभ्यता र संस्कृतिको अध्ययनसँगै तिब्बत र भारतसँगको सम्बन्ध जोडिन्छ। नेवारी भाषाको अध्ययनसँग मैथिली भाषाको पनि अध्ययन हुन्छ। नेवार सभ्यताको अध्ययनमा सेन राज्य र नालन्दासम्मको अध्ययन हुन्छ। भक्तपुरको अध्ययन गर्दा केवल भक्तपुरको मात्रै अध्ययन हुँदैन भन्ने बुझ्न आवश्यक छ।

त्यसमा मैथिली भाषा, सेन राज्य र नालन्दासम्मको चर्चा हुन्छ। जसले प्राध्यापक मल्लको आलोचना गर्‍यो, त्यसले आलोचनाका लागि मात्र पढ्यो। नेवारी साहित्य र संस्कृति एक फङसनल स्पेस हो, जहाँबाट तीन हजार वर्षको इतिहाससँगै भारत र चीनसँग नेपालको सम्बन्ध चियाउन सकिन्छ।

मल्ल सरको विशेषता नै काठमाडौंमा रहेको नेवारी सभ्यता र संस्कृतिको अध्ययन हो। उहाँले यसको विषद अध्ययन गर्नुभएको छ। उहाँले नेवारी संस्कृति बहुआयामिक, इन्टरडिसप्लरी (अन्तरविधागत), पोस्टरिप्रेजेन्टेटिभ भएको स्थापित गर्नुभयो। यो नै उहाँको ठूलो देन हो।

त्यसैले कसैले उहाँलाई नेवारी साहित्यको मात्रै अध्येता भन्दा मलाई छट्पटी हुन्छ। यो उहाँमाथि गरिएको सतही आलोचना हो। त्यस्तो सतही टिप्पणी गर्नेलाई गायत्री स्पिभाकले रवीन्द्रनाथ ठाकुरको उपन्यास ‘गोरा’ को सन्दर्भमा गरेको टिप्पणी सम्झाउन उचित हुन्छ। गोरालाई भारतीय उपन्यास भन्दा उनले टिप्पणी गरेकी थिइन्, ‘आई डन्ट अन्टरस्ट्यान्ड हाउ गोरा इज् एन इन्डियन फिक्सन ? ( म बुझ्दिनँ, गोरा कसरी भारतीय उपन्यास मात्र हो।)’

के सिद्धिचरण श्रेष्ठको कवितालाई नेवारी कविताको रूपमा मात्र पढ्न मिल्छ ? नेवारी नेवारको मात्र हो भन्नु गलत र सतही दृष्टिकोण हो।

प्राध्यापक मल्लको जीवनका अनेक पाटा छन्। केही नदेखिने पाटा पनि छन्। त्यस्तो नदेखिने पाटो सन् १९८९-९९ तिर देखिएको थियो। त्यतिबेला म अंग्रेजी विभागमा नयाँ शिक्षक थिएँ। अंग्रेजी विभागको पाठ्यक्रम परिवर्तनको तयारी भइरहेको थियो। त्यो समय संसारभर नै साहित्य सिद्धान्तमा नयाँनयाँ विषयबारे चर्चा भइरहेको थियो। अंग्रेजी विभागको पाठ्यक्रममा ननवेस्टर्न (गैर-पश्चिमा) साहित्य, पोस्टस्ट्रक्चरल थ्योरी (उत्तरसंरचनावाद), पोस्टक्लोनियल थ्योरी (उत्तरउपनिवेशवाद), इन्टरआर्ट स्टडिज, मिडिया स्टडिज, कल्चरल स्टडिज, क्रिएटिभ राइटिङ, हिस्ट्री अफ मोडर्न आइडियाज् र रेटोरिकजस्ता कोर्स भित्याइँदै थियो। यस्तो परिवर्तन श्रीधर लोहनी, अभि सुवेदीहरूको नेतृत्वमा भइरहेको थियो। उहाँहरू मेरो गुरु हुनुहुन्छ भने प्राध्यापक मल्ल उहाँहरूको पनि गुरु।

पाठ्यक्रम परिवर्तनको सन्दर्भमा भने प्राध्यापक मल्लले फरक मत राख्नुभएको थियो। उहाँ एक प्रकारको प्युरिस्ट (शुद्धतावादी) हुनुहुन्थ्यो। अंग्रेजी विभागमा साहित्य समालोचना र साहित्यको पाटोमा मात्र ध्यान दिनुपर्छ भन्ने मान्यता राख्नुहुन्थ्यो। विभागमा नयाँ विषय भित्याउन थालिएकोमा उहाँले विरोध गर्नुभयो। उहाँ भन्नुहुन्थ्यो- शुद्धसँग अंग्रेजी लेख्न र पढ्न नआउनेले अमेरिकी विश्वविद्यालयको कोर्स राखेर के काम ? विभागमा नयाँ विषय भित्याउन लागिएकोमा उहाँले आलोचना लेख्नुभएकै छ, ‘प्रतिस्पर्धी शिक्षक र बुद्धिजीवी बनाउने मात्र अंग्रेजी विभागको काम हो।’ (‘पोलिटिक्स, एजुकेसन एन्ड लिंग्युस्टिक’, फ्रम लिटरेचर टु कल्चर, पृष्ठ ३८)

पाठ्यक्रम परिवर्तन सम्बन्धमा भएको बहसमा उहाँको भूमिका अहिले पनि सम्झन्छु। पाठ्यक्रमबारे त्रिभुवन विश्वविद्यालयमा एउटा सम्मेलन नै भएको थियो। सम्मेलनमा उहाँले आफ्नो शुद्धतावादी मत दोहोर्‍याउनुभएको थियो। कतिसम्म भने सिंगो कोर्स नै ४५ मिनेटमा बनाएको भनिदिनुभयो। अंग्रेजी विभागलाई फरक धारमा लैजान खोजिएकोमा उहाँ निकै दुःखी देखिनुहुन्थ्यो।

उहाँका विचार सुनेर त्यहाँ उपस्थित शिक्षक दुःखी भए, तर कसैले पनि उहाँको टिप्पणी गर्ने हिम्मत गरेन। त्यतिबेला मैले इन्टरआर्ट स्टडिज पढाउन सुरु गरेको थिएँ। त्यो कोर्स बनाउन महिनौं लागेको थियो। उहाँले भनेजस्तो ४५ मिनेटमा बनाइएको थिएन। मलाई पनि दुःख लाग्यो। मैले गएर श्रीधर लोहनी र अभि सुवेदीलाई भनें, ‘म बोलूँ ? ’

उहाँहरूले अनुमति दिएपछि मैले भनें, ‘ग्लोबल रूपमा कोर्स फेरिइरहेको छ भने हामीले अपडेट गर्नुपर्छ। हाम्रा विद्यार्थीलाई अपडेट गर्नुपर्छ। कोर्समा राखेपछि केही न केही त थाहा हुन्छ। अंग्रेजी विभागलाई टिचर्स ट्रेनिङमा मात्र सीमित राख्नु हुन्न।’

मेरो प्रतिवाद भने प्राध्यापक मल्लले सुन्न पाउनुभएन। आफ्नो भनाइ राखेर उहाँ हिँडिहाल्नुभएको थियो। मलाई भने केही साथीले लोहनी र सुवेदी सरको चाप्लुसी गरेको सम्म आरोप लगाए। तर साथीहरूले के बुझेनन् भने विचारमा हुने द्वन्द्वले नै नयाँनयाँ विभाग बन्छ। शुद्धतावादी र परिवर्तनवादीको विभागले गर्दा अंग्रेजी विभागको कोर्स बलियो बन्यो। मल्ल सरले भनेको शुद्ध साहित्यसँगै नयाँ विचार पनि अटाए। साथै नयाँ विचारको समर्थन गर्ने हामीमा पनि चुनौती थपियो। हामी नयाँ विचारलाई स्थापित गर्न पनि मरीमरी पढ्थ्यौं। डर थियो, कतै कमलप्रकाश सरको अगाडि कमजोर भइने हो कि ?

प्राध्यापक मल्ललाई भने पछिसम्म पनि विभाग बिग्रियो भन्ने लागिरह्यो। त्यो उहाँको इमानदारी थियो। एक अर्थमा उहाँलाई प्रशंसा गर्नुपर्छ। उहाँ ठान्नुहुन्थ्यो, ‘विषयगत तवरमा विद्यार्थीलाई बलियो बनाऔं, त्यसपछि विचारको प्रयोग गरौंला।’

लोहनी, सुवेदी सरलगायत हामीले भने विश्वभर आएको नयाँ विचारबारे विद्यार्थीलाई जानकार गराउनुपर्छ भन्ने मान्यता राख्थ्यौं। प्राध्यापक मल्लको प्रतिवादका कारण अभि सर र श्रीधर सरका अनुहारमा तनाव देख्थें म। त्यस्तै तनावले नै विभागलाई परिष्कृत र बलियो बनाउने हो। 

पाठ्यक्रम निर्माण सन्दर्भमा शुद्धतावादी देखिए पनि प्राध्यापक मल्ल आपैmंमा पोलिम्याथ हुनुहुन्थ्यो। उहाँको ज्ञानको दायरा निकै फराकिलो थियो। संस्कृति, इतिहास, आर्कियोलोजी, सोसियोलोजी, भाषाशास्त्र, शिक्षा, कला, एपिग्राफी सबैमा उहाँको दक्खल थियो।

अर्कोतर्फ उहाँ नवसमालोचकहरूलाई खुब मन पराउनुहुन्थ्यो। एफआर लिभिसको निकै चर्चा गर्नुहुन्थ्यो। उहाँको कुरा सुन्दा र लेखहरू पढ्दा एपिग्राफीमा पनि उहाँ दक्खल हुनुहुन्थ्यो।

त्यसैले नै अभि सर जहिल्यै पनि प्राध्यापक मल्लको चर्चा गर्नुहुन्छ। उहाँले गर्नुभएको चर्चाबाटै मैले गुरुको आदर गर्न सिकें। आपूmभन्दा फरक मत राखे पनि अभि सरले सधैं प्रशंसा गर्नुभएको सुनेको छु। मल्ल सर विभागभित्र छिर्नासाथ अभि सर, श्रीधर सरलगायत सबै जुरुक्क उठिहाल्नुहुन्थ्यो। श्रीधर सरलाई पनि ‘के छ श्रीधर ? ’ भन्ने उहाँ मात्र हुनुहुन्थ्यो।

त्यस्तै अंग्रेजी विभागका पुराना प्राध्यापक दुर्गाप्रसाद भण्डारी र प्राध्यापक मल्ल सहपाठी हुनुहुन्थ्यो। कोर्स निर्माण गर्ने क्रममा भने उहाँहरू दुई कित्तामा उभिनुभए पनि तीक्तता भने कहिल्यै आएन। व्यवहारमा भने निकै फरक हुनुहुन्थ्यो- भण्डारी सर रेडिकल र मल्ल सर अनुशासित।
 


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.