डलरसहित भारतीय पक्राउ
पोखरा : विदेशी मुद्राको अवैध कारोबार गरेको आरोपमा कास्की प्रहरीले भारतीय नागरिक विनयकुमार बबुलाल शाह र काठमाडौंकी चन्दा थापालाई पक्रेको छ। वडा प्रहरी कार्यालय बैदामले उनीहरुलाई लेकसाइडबाट बिहीबार ३१ लाख २८ हजार रुपैयाँसहित पक्रेको हो।
प्रहरीले उनीहरुबाट अमेरिकी डलर, युरोलगायत विदेशी मुद्रा पनि बरामद गरेको छ। डीएसपी नवीन कार्कीका अनुसार भारतमा थुप्रै मानिसलाई ठगेर भागेका शाह नेपालमा अवैध मुद्रासहित पक्राउ परेका हुन्। उनीहरुबाट अमेरिकी डलर सयको १ सय ९७ थान, ५० को ५ थान, २० को २ थान र १० एक थान नोट समेत बरामत गरेको छ। युरो ५ सयको ४ थान, ५० को ७ थान र पाउन्ड ५ को २ थान नोट बरामद भएको छ। उनीहरुबाट एटिएम, चेकबुक, ल्यापटप, मोबाइल र पेनड्राइभ पनि प्रहरीले नियन्त्रणमा लिएको छ।
जति पैसा हाल्यो १४ महिनामा त्यसको दोब्बर बनाइदिने भन्दै शाहले गुजरातमा ठगी धन्दा चलाएको भारतीय सञ्चार माध्यमले जनाएको छ। शाहविरुद्ध गुजरातको अहमावादका प्रहरी थानामा नोभेम्बरमा मात्रै १० उजुरी परेका थिए। भव्य कार्यालय राखेर प्रलोभनमा पार्न सफल उनको पोल खुल्नासाथ भागेको खुलेको छ। भारतीय सञ्चार माध्यमले शाहले धेरैलाई ठगेर दुबई बसाइँ सरेको समाचार दिएको छ। तर नेपाल प्रहरीले उनलाई समात्न सफल भएको हो। डीएसपी कार्कीले भारतीय प्रहरीले खोजिदिन नेपाल प्रहरीलाई आग्रह गरेकोबारे आफूलाई थाहा नभएको बताए। ‘हामीलाई हाम्रै सूचना प्राप्त भएको हो’, उनले भने।
त्यति मात्रामा विदेशी मुद्रा लिन नपाइने आधारमा शाह र थापालाई पक्रेको डीएसपी कार्कीले जानकारी दिए। ‘नेपालमा प्रतिबन्धित दरका भारतीय नोट पनि शाह र थापासँग थिए’, उनले भने। अवैध मुद्रा कारोबारको मुद्दा राजस्व अनुसन्धान विभागले हेर्ने हुँदा प्रहरीले शाह र थापालाई सोही विभागमा बुझाउने भएको छ।
प्रहरीको प्रारम्भिक अनुसन्धान अनुसार काठमाडौंकी २९ वर्षे चन्दा थापा पहिले भारतमा शाहसँगै कार्यरत थिइन्। भारतमा ठगी धन्दा गरेकाले प्रहरीले पक्रने डरले उनीहरु नेपाल आएका हुन्। प्रेमसम्बन्धमा रहेका उनीहरुले पोखरामा घरसमेत किनेर बसेको प्रहरीले पत्ता लगाएको छ। ‘थापाले अब पक्राउ परिन्छ नेपाल जाऊँ भन्दै शाहलाई ल्याएकी रहेछिन्’, डीएपसी कार्कीले भने।