हवाई ट्राफिक जामले सास्ती

हवाई ट्राफिक जामले सास्ती

काठमाडौं : त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा हुने हवाई ट्राफिक जामले वायुसेवा कम्पनी, विमानस्थल टावर र यात्रुलाई सास्ती भएको छ। जहाज उडान र अवतरणका क्रममा यो अवस्था दैनिक बढ्दो छ। उडान र अवतरणको समय मिलाउनसमेत हम्मेहम्मे परिरहेको छ।

हवाई ट्राफिकका कारण उडान तालिका नै प्रभावित हुने गरेको त्रिभुवन विमानस्थल कार्यालयका प्रवक्ता प्रतापबाबु तिवारीले जानकारी दिए। उनका अनुसार एउटै मात्र धावनमार्ग, आन्तरिक र अन्तर्राष्ट्रिय उडानका जहाजको कन्ट्रोल गर्नेदेखि भीभीआईपीसम्मको उडान व्यवस्थापन मिलाउनुपर्ने हुँदा समस्या छ। विमानस्थलबाट हुने हवाई चाप मिलाउन गाह्रो भइरहेको छ। मौसमको खराबीले उडान प्रभावित हुने गरेको छ। यसले हवाई ट्राफिक व्यवस्थापनमा थप सास्ती भइरहेको उनको भनाइ छ।

त्रिभुवन विमानस्थलबाट दैनिक तीन सय ५० देखि चार सयसम्म उडान हुने गरेको छ। आन्तरिक उडान नै दैनिक दुई सय ५० देखि तीन सयवटा र अन्तर्राष्ट्रिय उडान एक सयभन्दा बढी हुने गरेको विमानस्थल टर्मिनल म्यानेजमेन्ट डिभिजनका उपनिर्देशक उत्सव खरेलले बताउँछन्। उनका अनुसार जाडो महिना भएकाले बिहान विमानस्थल नै ढिलो खुल्ने गरेको छ। काठमाडौं विमानस्थल खुले पनि तराई क्षेत्रसहतिका अन्य अन्तरिक विमानस्थल खुल्न ढिलो हुँदा यसको प्रभाव दिनभरजसो हवाई उडानमा पर्ने गरेको पनि खरेलले बिहीबार अन्नपूर्णलाई जानकारी दिए।

जाडो मौसममा गर्मीमा जस्तो अन्तर्राष्ट्रिय उडान पनि बिहानैबाट हुँदैन। यस अघि बिहान सात नबज्दै हुने टर्कीस एयरको उडान पनि १० बजेपछि मात्रै हुने गर्छ। बिहान एक घण्टा मात्रै जहाज उडान ढिलो हँुँदा त्यसको व्यवस्थापन मिलाउँदा आन्तरिक तथा अन्तर्राष्ट्रिय उडानका वायुसेवाको उडान तालिकामा ढिलो हुने, डाइभर्ट गर्नुपर्नेदेखि आन्तरिक उडान रद्दसम्म हुने गरेको छ। हवाई चाप बढेकोले यसलाई व्यवस्थापन गर्दागर्दै आकाशमै ट्राफिक जाम हुने गरेको खरेल बताउँछन्।

गर्मी मौसममा बिहान ६ नबज्दै काठमाडौंबाट लुक्ला उडान एक दर्जनभन्दा बढी हुने गरेकामा अहिले जाडो मौसममा विमानस्थल कतिबेला खुल्छ र उडान गर्ने भनेर पखर्नुपर्ने बाध्यता छ। बिहान विमानस्थल ढाक्ने गरी लाग्ने तुँवालोका कारण उडान व्यवस्थापन मिलाउन सास्ती हुने गरेको खरेलको भनाइ छ।

विमानस्थलमा आन्तरिक उडानका लागि १८ वटा र अन्तर्राष्ट्रिय उडानका लागि नौ वटा मात्रै पार्किङ छन्। पार्किङ कम हुँदा र उडान समय मिलाउँदा हरेकजसो उडान ग्राउन्डमै एक÷डेढ घण्टासम्म र आकाशमा आधा घण्टासम्म होल्ड गर्नुपर्ने बाध्यता रहेको जानकारी खरेलले दिए। ‘आकाशमा हुने होल्डको समय कम गर्दा ग्राउन्डमा बढी समय खर्च हुन्छ। यसका कारण उडान रद्द हुनेदेखि निर्धारित समयभन्दा ढिलोको बिकल्पसमेत हामीलाई हुँदैन’, खरेलले भने।

त्रिभुवन विमानस्थलबाट दैनिक तीन सय ५० देखि चार सयसम्म उडान हुने गरेको छ।

बिहानको समयमा अहिले नर्मलभन्दा बढी चाप सबै उडानमा पर्ने गरेको छ। ‘स्पेसल भीएफआर (आँखाले हेरेर गर्ने उडान) र आईएफआर (प्रविधिको सहायताले गर्ने उडान)मा हुने उडानमा एउटा जहाज निश्चित दूरीमा पुगिसकेपछि मात्रै अर्को जहाज छोड्नुपर्ने हुँदा पालो पर्खेरै उडान गर्नुपर्छ’, एभरेस्ट हेलिका वरिष्ठ पाइलट निरञ्जनकान्त सिलवालले भने।

उनका अनुसार हवाई चापकै कारण हेलिकप्टरको समेत उडान र अवतरण कम्तीमा १० मिनेटदेखि आधाघण्टासम्म होल्ड गर्नेपर्ने बाध्यता छ। यही चाप कम गर्न हेलिकप्टरलाई जहाजभन्दा कम उचाईमा उडान गर्ने गरी हेलिकप्टर सोसाईटीको अग्रसरतामा अलग्गै रुट तय भएको हो। यो रुट कार्यान्वयनपछि हेलिकप्टरले हवाई उडानको चापलाई कम गर्ने बुझाइ सिलवालको छ।

‘मौसमकै कारण उडान प्रभावित हुनु, नयाँ अन्तर्राष्ट्रिय उडानका वायुसेवा थपिनुले एयर ट्राफिक कन्ट्रोलरलाई उडान व्यवस्थापन मिलाउन हम्मे पर्नुलगायत कारण आकाश तथा ग्राउन्डमा जहाजको होल्ड बढेको बुद्ध एयरका अपरेसन निर्देशक सुवर्ण खरेल बताउँछन्। जहाज उडानमा हुने ढिलाई, होल्ड, मौसमको खराबीसहितका कारण आन्तरिक उडानको बुद्ध एयरले मात्रै तीन दिनमा १२ वटा उडान रद्द गरिसकेको छ।

त्रिभुवन विमानस्थमा एउटा मात्रै धावनमार्ग, आन्तरिक र अन्तर्राष्ट्रिय उडानका वायुसेवाको उडान तथा अवतरण रुट एउटै र दैनिक उडानको चाप बढिरहनुले हवाई ट्राफिकको समस्या कम हुन नसकेको विमानस्थल कार्यालयको भनाइ छ।
 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.