जरैबाट चाहिन्छ सुधार
बेइमानी झांगिएको देशमा जरैबाट सुधार नहुँदासम्म विकास र समृद्धि मिथक बन्नेछ।
जननी जन्मभूमिश्च स्वर्गदपि गरीयसी अर्थात् जहाँ जन्म दिने भूमि नै स्वर्गसमान हुन्छ, हरेक मानिस आफू जन्मेको भूमिको ऋणी हुन्छ। आफू जन्मेको भूमिलाई स्वर्गसमान बनाउनु उसको कर्तव्य हुन्छ। आफू जन्मेको भूमिमा बस्ने जल, थल, चराचर, पशुपक्षी सबैको हित चाहेमा मुलुक स्वर्ग बन्छ। आफूलाई सबैथोक पुगोस्, अरूलाई जेसुकै होस् भन्ने व्यक्तिवादी चिन्तनले राष्ट्रको अस्तित्वमाथि नै प्रश्न उठ्न सक्छ।
सबैलाई शिक्षा, स्वास्थ्य सेवा, खान लाउन पुग्ने भएमा सिंगो राष्ट्रमा मुस्कान छाउन सक्नेछ। असल शासनमा कानुनबमोजिम काम हुन्छ। अन्यायमा परेकालाई न्यायको प्रत्याभूति हुन्छ। यसैलाई विधिको शासन भनिन्छ। हाम्रो परम्परागत भाषामा असल शासन र न्यायपूर्ण समाजलाई रामराज्य भनिन्छ। तर रामराज्य कायम हुन वर्तमान युगमा कर्मचारी, व्यापारी, शासकवर्ग, न्यायाधीश, जनता सबैले आआफ्नो तर्फबाट राष्ट्रप्रति दायित्व निर्वाह गर्न जरुरी छ। राष्ट्रभित्र बस्ने आम जनताबीच आपसी समझदारी र सहअस्तित्वको बोध सबैलाई हुनैपर्छ।
व्यापारीहरूले व्यापार गर्दा मुनाफा मात्र लिने होइन, सेवाग्राहीको हित पनि हेर्न सक्नुपर्छ। मुनाफा मात्र व्यापारको धर्म होइन। अचेल व्यापारमा जथाभावी मूल्य निर्धारण गरी लुट मच्चाएको पाइन्छ। कम मूल्यको सामानलाई अधिक मूल्यमा बिक्री गर्ने प्रवृत्ति देखिन्छ। ग्राहकको सम्पत्ति जति मेरै भागमा आओस् भन्ने प्रवृत्तिले ग्राहकलाई क्षति पुगेको हुन्छ। व्यापार गर्नेले शोषण प्रवृत्ति राख्नु उचित होइन। व्यापारबाट यथोचित रकम लिई ग्राहकको पनि बचत होस भन्ने अवधारणा हुन जरुरी छ। यस्तो भएमा मात्र मुलुकप्रति व्यापारीको दायित्वबोध कायम हुन्छ।
त्यस्तै दायित्व हुन्छ कर्मचारीको पनि। देशमा भ्रष्टाचार व्याप्त छ भन्ने नयाँ गुनासो अब रहेन। भ्रष्टाचारका एउटा महत्वपूर्ण कारक कर्मचारीतन्त्र पनि हो। सरकारले कर्मचारी वर्गलाई महिनावारी तलब दिएको हुन्छ। त्यसविपरीत कर्मचारीले खुलेआम भ्रष्टाचार गरेको सञ्चारमाध्यममा सार्वजनिक हुन्छन्। जुन कामका लागि मासिक तलब खाएको हो, त्यही कामका लागि घुस लिनु महाअपराध हो।
भ्रष्टाचार लिनेदिनेबीच गोप्य राखिनु अर्को अपराध हो। सबै भ्रष्टाचारमा प्रमाण संकलन गर्न गाह्रो हुन्छ। त्यसैले अधिकांश भ्रष्टाचार मुद्दाको निरूपण गर्दा नियमित कमाइका स्रोत र उसले जम्मा गरेको पुँजीको अन्तर कसरी भयो भन्ने प्रश्नबाट सुरु गरिन्छ। सबै मुद्दामा संकलन गरेको पुँजीको सही आँकडा पत्ता लगाउन पनि कठिन हुन्छ।
भ्रष्टाचार नियन्त्रण गर्न कठिन हुनुको अर्को कारण हो, यसमा पढालिखा नै संलग्न हुन्छन्। भ्रष्टाचारकै कारण गरिबी र अविकास बढ्छ भन्ने बुझेकै शिक्षित समुदायले झन् बढी भ्रष्टाचार गर्ने गरेको छ। अर्कोतिर भ्रष्टाचारले देशलाई धमिराले जस्तो भित्रभित्रै खाइरहेको हुन्छ। भ्रष्टाचार गर्दा एउटा कर्मचारी धनाढ्य बन्न सक्ला, तर राष्ट्र र आम जनता गरिब बनिरहेका हुन्छन्। यसलाई हेक्का राख्दै आम कर्मचारी वर्गले भ्रष्टाचार नगरी इमानदारीपूर्वक काम गर्न जरुरी छ। भ्रष्टाचार व्यापक भएको देशमा गरिबी चरम हुन्छ। आम जनता गरिबीको रेखामुनि हुन्छन्।
नेपालमा प्रजातन्त्र आएको वर्ष जन्मेका नागरिक अहिले ६८ वर्ष पुगेका छन्। त्यसपछि पनि पञ्चायती व्यवस्था फालेको पनि २९ वर्ष भयो। २०५८ सालमा भएको दरबार हत्याकाण्डपछि राजा ज्ञानेन्द्र गद्दीनसिन भए। उनले २०४८ को बहुदलीय व्यवस्था फाले। त्यो व्यवस्था ज्ञानेन्द्रको शाही शासनको अन्त्य फेरि २०६३ मा भयो र सो शासनको अन्त्य भएको पनि १३ वर्ष भएछ। प्रत्येकपटक जनताले प्रजातन्त्र र बहुदलीय व्यवस्थाका निम्ति प्राण आहुती गरे। तर हरेकपटक भएको परिवर्तनपछि देशमा साँचो लोकतान्त्रिक व्यवस्था स्थापना नभएको जनगुनासो व्यापक छ। लोकतन्त्र त आएको छ तर राजनीतिक दलका ठूला नेताहरूका लागि मात्र।
मुलुकमा अहिलेसम्म भ्रष्टाचारमाथि नियन्त्रण हुन सकेको छैन। प्रत्येक सरकारले भ्रष्टाचार नियन्त्रण गर्ने संकल्प गर्छ, तर यो वा त्यो तरिकाले भ्रष्टाचारमा आफैं जोडिन पुग्छ। भ्रष्टाचार अहिले जताततै झांगिएको छ। शक्तिसिनहरूले ठूला परियोजनामा भ्रष्टाचार गरेकोबाट सिकेरै हो सायद अहिले ससाना ठेकेदारहरूले पनि भ्रष्टाचार गर्न थालेका छन्। आफ्नो काममा कोही पनि इमानदार छैन। बेइमानी हाम्रो नसानसामा बगिरहेछ। त्यसैले त सडक बनिनभ्याउँदै उप्किन्छ वा पानीले बगाउँछ। पुल बन्छ मानिस नहिँड्दै भत्किन्छ वा खोलाले बगाउँछ। सार्वजनिक भवन बन्छ तर चुहिन्छ वा बस्न नपाउँदै भत्केको सूचना आउँछ।
इतिहासको हर घडीमा इमानको पराजय भएको छ र बेइमान विजय भएको छ। किन यस्तो भइरहेको छ ? यसको गुह्य रहस्य नखोतल्दासम्म देशले सही बाटो समाउन सक्दैन।
भनिन्छ– निर्माणका लागि विनियोजन गरिएको बजेटको आधा पनि वास्तवमा खर्च हुँदैन। त्यस्तो रकम तल्लो तहदेखि माथिल्लो तहसम्म अंशबन्डा हुँदै जान्छ। गरिबी निवारणका निम्ति भनी छुट्ट्याएको रकम गरिबसम्म पुग्दैन। विगत बीस–तीस वर्षमा जंगल मासिए, पहाडहरू जथाभावी खनिए। सरकारी जमिन जजसले सके आफ्नो नाममा गराए। दलाल, माफिया र डनहरू सरकार र दलीय नेताभन्दा बलिया छन्। तिनले चाहेको व्यक्तिलाई आसनमा स्थापित र विस्थापित गर्न अब सक्षम छन्। कसले बनायो तिनीहरूलाई यति शक्तिशाली ?
भ्रष्टाचारको मात्रा चुलिँदै गएको छ। आम जनता जहिले पनि यस्तै हो भनी मौनता साँधेर बस्न बाध्य छन्। जनताले नबोलेका होइनन्। तर भ्रष्टाचार कसुर लागेका कारबाहीमा परेनन्। निकै कम मात्र कारबाहीको भागीदार बनेका छन्। भ्रष्टाचारमा कारबाहीको प्रसंग हेर्ने हो भने ‘अरू परे साफ आफ्नालाई माफ’ को प्रवृत्ति पाइन्छ। कारबाही गर्नुको सट्टा राजीनामा दिलाउने र अवकाश दिने पेन्सन ख्वाउने चलन छ। जबसम्म भ्रष्टाचारीले आफूले अनियमितता गरेको रकम तिर्नुपर्दैन र त्यो रकम राज्यकोषमा पुग्दैन तबसम्म भ्रष्टाचार नियन्त्रण हुँदैन।
जनता बलियो नहुँदा नै भ्रष्टाचार झांगिएको हो। हो, लोकतन्त्रमा जनता नै सर्वशक्तिमान हुन्छन्। जनतालाई सार्वभौम बनाउनकै लागि पटकपटक लोकतन्त्रको लडाइँ भएको हो। तर जतिपटक लोकतन्त्र आए पनि नेपालमा त्यो निश्चित वर्गको निम्ति मात्र हुन पुग्यो। व्यक्ति फेरिए तर शासन उस्तै रह्यो भन्दा अत्युक्ति नहोला। जुन सरकार आए पनि काम नगर्ने तर प्रशस्ति र गुणगान मात्र खोजेको पाइयो आजसम्म। राणाशासनमा पनि त्यही थियो। पञ्चायतकालमा त्यही भयो र आज पनि उही पुरानै प्रवृत्तिको पुनरावृत्ति देखिँदैछ। राजनीतिक दलबीच ठोस योजनाअनुसार विकास योजना लागू गर्नेतर्पmभन्दा सत्ताकै निम्ति झीनाझप्टी भएको पाइन्छ।
लोकतन्त्रको साटो व्यक्तितन्त्र हावी भएको छ। यसको एउटै कारण नेपालमा जहिले पनि इमानदारीको खडेरी परेको देखिएको छ। देशमा सबै बेइमान छन् भन्ने यो लेखको आशय होइन। तर इतिहासको हर घडीमा इमानको पराजय भएको छ र बेइमान विजय भएको छ। किन यस्तो भइरहेछ ? यसको गुह्य रहस्य नखोतल्दासम्म देशले सही बाटो समाउन सक्दैन। देशको मुहार फेर्ने नयाँ पुस्ताले यो रहस्य खोतल्नैपर्छ। यसका कारण पत्ता लगाएर समाधानको बाटो समाउनैपर्छ।
हाम्रो देशको निर्माणसँगै नातावाद र कृपावाद स्थापना भएकोमा सम्भवतः दुईमत नहोला। खासगरी राणाशासनमा यो प्रवृत्ति निकै झांगियो। चाकरीप्रथाको सुरुवात नै त्यही बेला भयो। नातावाद र कृपावाद हावी भएकै कारण विद्वान्, आत्मस्वाभिमानी व्यक्ति र क्षमतावान् युवाशक्तिले मुलुक छाडी आफ्नो श्रम अन्य देशमा लगाउँदै आएका छन्। आफ्नो विद्वता र परि श्रमको कदर नहुने देशमा बस्ने रहर कुनै नेपालीलाई पनि हुँदैन।
राणाकालमा गर्भको बच्चालाई कप्तान, कर्णेल, जर्नेल घोषित गर्ने चलन थियो। पञ्चायतकालमा मुख्य पद शाह शासकको भागमा रहन्थे। आज पनि भएसम्म छोरा, बुहारी, पत्नी, भाइभतिजालाई नै महत्वपूर्ण नियुक्ति दिइन्छ। दलीय भागबन्डाका कारण सत्ताधारी दल बाहिरकाले आफ्नो दल सत्तामा नआएसम्म कुहिराको काग बन्नैपरेको छ। दलबाहिरका स्वतन्त्र मानिसको अवस्था दलीय शासनमा कुनै औचित्य नै रहन छोडेको छ। नियुक्तिको समयमा कुन दलको हो भनेर सोध्ने गरिन्छ। दलले छाप नलाएसम्म नियुक्ति र सिफारिस पाउन कठिन छ। जुन मुलुकमा वकालत गर्न त दलीय छापबेगर मुद्दा सेवाग्राहीले पत्याउँदैन त्यहाँ अरूको के कुरा। यस्तो लाग्छ– नेपालमा प्रत्येक राजनीतिक दलका नेता सर्वज्ञानी छन्। तिनलाई विद्वान् र विज्ञको आवश्यकता पर्दैन।
हिजो राणाकालमा नेपाली युवा भाडाकै सैनिकको रूपमा बिक्री भएका थिए। तिनले विदेशी भूमिमा रगत बगाएवापत त्यस बेलाका शासकले रोयल्टी पाउँथे। पञ्चायतकालमा पनि त्यसको निरन्तरता थियो। हाम्रा राजनीतिक नेताले विरोध गर्नुभयो। नेपालीलाई भाडाका सैनिक बनाउन पाइँदैन भनेर। अब आफैं जान्छन्। तर नेपालीका भाग्यमा बिदेसिनुनपर्ने र मुलुकमा स्वरोजगार पाउने लेखेको रहेनछ। हिजो सेनामा पठाउँथे कानुनी रूपमा। आज वैदेशिक रोजगारको सम्झौता सरकारले गरेरै पठाउँछ। मलेसिया र खाडी मुलुकमा जाने युवायुवती वास्तवमा नेपाली किसानका सन्तान हुन्। कृषिप्रधान देशमा जनताको कमीले गर्दा पाखाबारी उजाड छन्। गाउँगाउँमा वृद्धवृद्धा छन्। युवाजति परदेशमा छन्। सम्भवतः कृषिमा आधुनिक रूपले विकास गरेमा त्यो वर्ग यहीं बस्ने थियो। दैनिक पाँचवटा युवायुवतीको शव त्रिभुवन विमानस्थलमा देख्नुपर्ने पनि थिएन। कुनै सरकारले कृषिमा ध्यान दिएन। रोजगार र कृषिसम्बन्धी अनुदानको घोषणा गरे पनि आफ्नै दलका युवाको निम्ति ती स्रोत र आय बने अन्यका निम्ति भएन। हाम्रो मुलुकमा कृषि विकास कृषि उत्पादन आय, मूल्य निर्धारण वितरण कुनैमा पनि व्यवस्थित गर्न सकेको पाइँदैन।
नयाँ संविधान, नयाँ व्यवस्था यसले केही सुधार ल्याउला भन्ने थियो, तर त्यस्तो देखिएको छैन। प्रदेशका शासक वर्गले स्थानीय विकास गराउलान् भनेको त कर बढ्यो तर विकास अघि बढेन। विकास बाटोघाटोको बदला गाडी नयाँ, तलब, वेतन भत्तामा सबै रकम जान थाले। कर बढे पनि विकास भएको भए आम जनताले चित्त बुझाउने ठाउँ थियो।
देशको यो अवस्था हुनुको मुख्य कारण राष्ट्रप्रति इमानदारीको अभाव हो। सबै तह र तप्कामा भएको बेइमानी नहटाउँदासम्म देशले विकासको बाटो हिँड्न सक्दैन। आफूमात्र इमानदार भएर मात्र पुग्दैन, बेइमानहरूको पर्दाफास र उनीहरूलाई कारबाही गराउन पनि अब जनता जाग्नुपर्छ। जरैबाट सुधार नगर्दासम्म देश बन्दैन।