शिखर शैलीमा बन्दैछ रानी पोखरी : सरकारले दियो साढे पाँच करोड
काठमाडौं : पुरात्वातिक सम्पदा रानी पोखरी शिखर शैलीमा निर्माण गर्ने निर्णय सहित निर्माण कार्य अघि बढेको छ। पोखरीमा रहेको बालगोपालेश्वर गुम्बज वा शिखर शैलीमध्ये कुन शैलीमा निर्माण गर्ने सम्बन्धमा विवाद भएको थियो। विवाद टुंगो लागेसँगै अबको साढे एक वर्षभित्र सक्ने गरी सो निर्माण कार्य अघि बढाएको राष्ट्रिय पुन निर्माण प्राधिकरणका प्रमुख कार्यकारी अधिकृत सुशील ज्ञवालीले जानकारी दिए।
पोखरी निर्माणको लागि विभिन्न पाँच वटा समिति निर्माण गरिएको छ। पोखरी निर्माणको लागि हाल साढे पाँच करोड उपलब्ध गराइएको ज्ञवालीले जानकारी दिए। हाल काठमाडौं महानगरपालिकाबाट पोखरी वरिपरिको संरचनाहरूको जिर्णोद्वार तथा पुनर्निर्माण भइरहेको छ।
२०७२ माघ २ गते राष्ट्रपति विद्यादेवी भण्डारीले रानी पोखरी पुनर्निमार्णका लागि शिल्यान्यास गरेकी थिइन। २०७३ मा वैशाखमा कात्तिकसम्म निर्माण सम्पन्न गर्ने गरी ६ करोड २९ लाखमा पोखरीको पुनः निर्माणको ठेक्कापट्टा पनि लागेको थियो।
पोखरीको बीचको बालगोपालेश्वर मन्दिर निर्माण विवाद उत्पन्न भएपछि लामो समय निर्माण कार्य अघि बढ्न सेकेको थिएन। पहिला बालगोपालेश्वरको मन्दिर पुनर्निर्माणका लागि एक करोड ४० लाख २८ हजारमा ठेक्का भएको थियो।