बैंकिङ बिमाको औचित्य
कतिपय बैंकमा बचत खाता खोल्नेबित्तिकै बिमा सेवा उपलब्ध छ भने कतिपयले कुनै विशेष बचत योजनामा मात्र उक्त सुविधा उपलब्ध गराएका छन्।
१० दिन अघिमात्रै नबिल बैंकले आफ्ना बचतकर्तालाई २५ हजार रुपैयाँ वा त्यसभन्दा बढीको बचतमा तीन लाखको बिमा सुरक्षण दिने घोषणा गर्यो। १३ घातक रोगमा तीन लाख रुपैयाँको मेडिकल इन्स्योरेन्स र मृत्यु भएमा अतिरिक्त ७५ हजार रुपैयाँको मृत्यु लाभ बचतकर्तालाई दिने भन्दै मेटलाइफ कम्पनीसँगको सहकार्यमा बैंकले उक्त योजना ल्यायो।
घोषणाको क्रममा नबिल बैंकका प्रमुख कार्यकारी अधिकृत अनिलकेशरी शाहले व्यक्तिगत बचतकर्ताको हितलाई ध्यान दिँदै यो बिमा योजना ल्याएको बताए। उक्त योजनाअनुसार नयाँ व्यक्तिगत बचत खाता खोल्ने ग्राहकले न्यूनतम २५ हजार रुपैयाँ मौज्दात राखेर उक्त बिमा सेवाको लाभग्राही बन्न सक्नेछन्। यदि खाता खोल्दाको समयमा सेवाग्राही कुनै रोगबाट पीडित भएको भए उक्त सुविधा लागू हुने छैन। ‘यो योजना १६ वर्ष पूरा भई ६५ वर्ष ननाघेका बचतकर्तालाई लक्ष्य गरिएको छ’, शाह भन्छन्, ‘क्यान्सर, लिभर, हृदयघातजस्ता घातक रोग लाग्ने क्रम दिन प्रतिदिन बढ्दै गएकाले महँगो उपचार सेवालाई केही राहत पुर्याउन यो योजना ल्याइएको हो।’
बैंकिङ बिमामा नबिल बैंकले ल्याएको यो एउटा उदाहरण मात्र हो। नबिल बैंकले जस्तै अहिले नेपालमा रहेका धेरैजसो बैंकले आफ्ना बचतकर्तालाई बिमा सुविधा उपलब्ध गराउँदै आएका छन ्। सनराइज बैंकले पनि ‘बचतकर्ता सामूहिक दुर्घटना बिमा व्यवस्था’अन्तर्गत बचतकर्तालाई बिमा सुविधा प्रदान गर्दै आएको छ। त्यसका लागि बैंकले शिखर इन्स्योरेन्स कम्पनी लिमिटेडसँग सहकार्य गरेको छ। दुर्घटनामा परी कुनै बचतकर्ताको मृत्यु भए वा स्थायीरूपमा अशक्त भए पाँच लाखमा नबढ्ने गरी बैंकले बचत खातामा रहेको मौज्दातको चार गुणासम्म रकम दाबी गर्न सक्ने सुविधा दिएको छ। सनराइजकै बचतमा स्वास्थ बिमा सेवा पनि छ।
कतिपय बैंकमा बचत खाता खोल्नेबित्तिकै यो सेवा उपलब्ध छ भने कतिपय बैंकले कुनै विशेष बचत योजनामा बिमा सुविधा उपलब्ध गराएका छन्। जस्तो, नेपाल बैंगलादेश बैंकले बचत खाता खोल्नेबित्तिकै बिमा सेवा उपलब्ध गराउँछ। त्यसका लागि बैंकको खातामा न्यूनतम १० हजार रुपैयाँ मौज्दात हुन जरुरी छ। यसरी बैंकहरूले दिइरहेको बचत बिमा सेवाको औचित्य के ? नबिल बैंकका कार्यकारी अधिकृत शाह भन्छन्, ‘यो बिमा साक्षरता र बचत गर्ने बानीको विकास नै हो।’
शाह थप्छन्, ‘अहिले पनि नेपालमा दुइटा चिजको कमी छ। एउटा बचत र अर्को बिमा। बैंकहरूले बचतमा दिने बिमा सेवाले बचत र बिमा दुवैलाई समायोजन गर्ने प्रयास गरेको छ। यसले बैंकका बचतकर्तालाई पनि बचत गर्न प्रोत्साहन गर्छ भने नयाँ बचतकर्तालाई पनि बैंकमा बचत गर्न आकर्षण गर्ने शाह बताउँछन्। पक्कै पनि प्रमुख कार्यकारी अधिकृत शाहले भनेजस्तै यस्ता बिमा योजना बचतकर्ताका लागि आकर्षण नै हो। तर बैंकलाई यसबाट के फाइदा ? सानीमा बैंकका प्रमुख कार्यकारी अधिकृत भुवन दाहाल भन्छन्, ‘बैंकले आफ्नो बचतलाई सुदृढ बनाउने प्रयासको रूपमा यो कदम चालेका हुन्।’ यस्तो योजना ल्याउँदा बैंकको केही खर्च होला। किनकी बिमा भन्नेबित्तिकै बिमा प्रिमियमको कुरा आउँछ। त्यो बैंक स्वयंले तिरिदिने भएकाले त्यसमा बैंकको खर्च हुन्छ। तर त्यो भन्दा पनि महत्वपूर्ण पक्ष बैंकमा कम दर रेटको बचत रकम बढ्यो भने बैंकले त्योभन्दा बढी दर रेटमा कर्जा प्रवाह गर्न सक्छन्। जुन बैंकको मुख्य आम्दानीको स्रोत पनि हो।
यो कुरामा नबिल बैंकका प्रमुख कार्यकारी अधिकृत शाह पनि सहमत जनाउँछन्। शाह भन्छन्, ‘पक्कै पनि बैंकहरूले आफ्नो बचत वृद्धिका लागि पनि यस्तो योजना ल्याएका हुन्। बैंकको बचत बढ्छ। नयाँ ग्राहक थपिन्छन्। ग्राहकमा बचत गर्ने बानी बस्छ र बिमाको पहुँच पनि वृद्धि हुन्छ भनेर बैंकले बिमा कम्पनीसँग मिलेर आफ्नो बचत खातामा बिमा सुविधा दिएको उनी बताउँछन्। त्यो भन्दा पनि ग्राहक स्वयंले यस्तो बिमा गर्नुपर्दा बढी प्रिमियम भुक्तानी गर्नुपर्ने हुन्छ तर बैंकको यस योजनामा सामेल हुँदा बिमा प्रिमियमको खर्च बैंकले बेहोर्छ। त्यसैले पनि बैंकहरूले बिमा कम्पनीसँगको सहकार्यमा यस्ता बिमा योजना ल्याइरहेका हुन्।
शाहका अनुसार बैंकले उपलब्ध गराउने बिमा विशेषतः दुई किसिमको हुन्छ। एउटा ग्रुप इन्स्योरेन्स र अर्काे बैंकास्योरेन्स। बचत खातामा दिइने बिमा सेवा ग्रुप इन्स्योरेन्सभित्र पर्छ। बैंकले कुनै बिमा कम्पनीसँग बैंकको सबै बचत खाताका लागि एकमुष्ट एक/दुई लाखसम्म बिमा गरेको हुन्छ, त्यो ग्रुप इन्स्योरेन्स हो। यस्तो ग्रुप इन्स्योरेन्समा कुनै पनि ग्राहकलाई केही भएको दाबी पर्न आएमा बैंकले उक्त बिमा रकम उठाएर ग्राहकलाई दिन्छ।’
अर्को भनेको बैंकास्योरेन्स हो। बैंकहरू नै बिमा कम्पनीका एजेन्ट बन्छन्। एजेन्ट बनिसकेपछि बैंकले ग्राहकलाई इन्स्योरेन्स बेच्ने काम गर्छ। यसमा ग्राहकले लाइफ, ननलाइफका साथै अन्य कुनै पनि इन्स्योरेन्स सेवा बैंकबाटै किन्न सक्नेछन्। त्यो इन्स्योरेन्स बेचेबापत बैंकले पनि अरू बिमा एजेन्टले जस्तै कमिसन पाउने हो। तर बैंकबाट यसरी सेवा दिँदा यस्ता सेवाले मान्छेलाई बिमाप्रति आकर्षित गराएको छ। अर्कोतर्फ बिमा कम्पनीकै व्यवसायमा बैंकले सहयोग गरिरहेको एनएमबी बैंकको प्रमुख कार्यकारी अधिकृत सुनिल केसीको बुझाइ छ।
‘यी सबै बैंकले आफ्ना ग्राहकलाई दिएको सेवा हो’, केसी भन्छन्, ‘बैंकले दिने यस्ता सेवाले बिमा कम्पनीलाई आफ्नो पहुँच विस्तार गर्न सबैभन्दा महत्वपूर्ण भूमिका निर्वाह गरेको छ।’ अहिले बैंकले दिने यस्ता बिमा सेवा बैंकका आफ्नै प्रोडक्ट हुन् भन्ने परेको छ। तर त्यो होइन’, केसीले भने। यो त बिमा कम्पनीसँग बैंकले सहकार्य गरेर आफ्ना ग्राहकलाई सेवा उपलब्ध गराएको मात्र हो। बैंक आफैंलाई बिमासम्बन्धी जानकारी नै हुँदैन। राष्ट्र बैंकले पनि यस्तो गर्न दिँदैन।
‘ग्राहकलाई सेवा दिने क्रममा यस्ता प्रोडक्ट बैंकले प्रस्तुत गरिरहेका हुन्छन्’, केसी भन्छन, ‘जस्तो बैंकले अहिले बैंकमा बचत खाता खोल्दा कुनै हस्पिटलसँग सहकार्य गरेको छ भने उक्त हस्पिटलमा जाँच गराउँदा छुट, कुनै स्टोरमा सहकार्य गरेर उक्त स्टोरबाट बैंकका ग्राहकले सामन किन्दा सीमित मात्रामा छुट दिए जस्तै हो यो बिमा पनि। ‘बैंकले मात्र सुविधा प्रदान गरेको हो। यो थप सुविधा मात्र हो। यसले बिमाको बजारलाई माथि लैजान मद्धत पुगेको उनले उल्लेख गरे। ‘अहिले बैंकको पहुँच ६० प्रतिशत हाराहारी छ’, केसी भन्छन्, ‘यसले बिमा कम्पनीलाई बैंकको त्यति ठूलो ग्राहकसम्म पुग्न मद्दत गरेको छ। उनीहरूलाई आफ्नो पहुँच नभएको ठाउँमा बैंकमार्फत बिमा कम्पनी ग्राहकमाझ पुगिरहेका छन्।
बिमा समितिका निर्देशक राजुरमण पौडेलका अनुसार अहिले बिमाको पहुँच ११–१३ प्रतिशत हाराहारी छ। उता बैंकको पहुँच ६० प्रतिशत हाराहारी छ। ६० प्रतिशत पहुँच भएको संस्थासँग सहकार्य गरेर जाँदा बिमा कम्पनीलाई धेरै सहज भइरहेको केसीले बताए। ‘बिमा कम्पनीले जति धेरै बिमा लेख बेच्न सक्यो, त्यति धेरै पैसा कमाउँदै जाने हो। उनीहरूलाई बेच्नै गाह्रो भइरहेको अवस्थामा बैंकले सहज बनाइदिएको छ’, उनले भने।