तिरमिराएका आँखामा सुन्दरीको ताज
यति बेला कम्युनिस्ट ब्रान्डको मुलुक चीनमा विश्वसुन्दरी प्रतियोगिता भइरहेको छ। नेपालमा चाहिँ नेपाल सुन्दरी शृंखला खतिवडा चर्चामा छिन्। हिडन ट्रेजरलाई नेपालीमा मोटामोटी गाडधन भन्न सकिन्छ। हिडन ट्रेजरको गाडधन नेपालका कम्युनिस्ट ब्रान्डधारी नेताहरू पो रहेछन्। सामाजिक सञ्जालमा शृंखलाका निम्ति भोट क्याम्पेन गर्ने बेला उनै नेताहरू भन्न थाले, ‘सुन्दरी प्रतियोगिता त बौद्धिकता नाप्ने प्रतियोगिता पनि हो। शरीर नापजोख र विज्ञापनको प्रतियोगिता हो भनेर जसले भन्छन्, तिनीहरू संकीर्ण हुन्।’
यो कथा स्वतः प्रगतिशील एक गिलासको हो। गिलास टेबलमा टक्क उभिएको छ। यो अवस्थितिको आफ्नै वैज्ञानिकता छ। गिलासको भौतिकी पनि छ, रसायनशास्त्रीय तर्क पनि। गिलास त्यसै गिलास भएको होइन। जादु वा टुनामुनाको बलमा गिलास बन्दैन। गिलास कुनै दैवी शक्तिले टेबलमा अडिएको पनि होइन। यसमा गुरुत्वाकर्षणको भरपूर उपयोग भएको छ। अनि, गुरुत्वाकर्षण निख्खुर वैज्ञानिक तर्क हो। यतिका धेरै वैज्ञानिक तर्कहरू भएपछि गिलास स्वतः प्रगतिशील भएन त ?
स्वतः प्रगतिशील गिलासको यो सिद्धान्त नेपालको मौलिक आविष्कार हो। यो सिद्धान्तको प्रयोग गरेर पुष्पक विमानदेखि पृथ्वीनारायणको प्रगतिशील चरित्रसम्म सबथोक व्याख्या गर्न सकिन्छ। सबैभन्दा महत्वपूर्ण तथ्य त के भने यो सिद्धान्त नेपालका एकथरी प्रगतिशीलहरूले नै आविष्कार गरेका हुन्। त्यसैले महेन्द्रको राष्ट्रवाददेखि ओलीको पानीजहाजसम्म, जिससपुत्रीको ‘होली ग्रेल’देखि सुन्दरी प्रतियोगितासम्म सबै चीजको वैज्ञानिकता र प्रगतिशीलता पुष्टि गर्न यसको उपयोग भइरहेको छ।
यति बेला कम्युनिस्ट ब्रान्डको मुलुक चीनमा विश्व सुन्दरी प्रतियोगिता भइरहेको छ। नेपालमा चाहिँ नेपाल सुन्दरी शृंखला खतिवडा चर्चामा छिन्। तर, शृंखलाको रुचि/अरुचि, आकांक्षा/महत्वाकांक्षा, सफलता/असफलताको कथा आदि यो लेखको क्षेत्रभित्र पर्दैन। कम्युनिस्ट आन्दोलनबाट आएका र कम्युनिस्ट ब्रान्डको पार्टीबाट चुनाव जितेर मुलुकको महत्वपूर्ण राजनीतिक ओहदामा पुगेका उनका बाबुआमाको पुत्रीप्रेमको प्रसंग पनि यहाँ छलफलको विषय होइन। प्रधानमन्त्रीका सल्लाहकार विष्णु रिमालदेखि नेकपा सांसद योगेश भट्टराईसम्मले शृंखलालाई विश्व सुन्दरी बनाउने अभियानमा सामाजिक सञ्जालमा भोट मागेको प्रसंग पनि यतै छाडौं।
प्रसंग सुन्दरी प्रतियोगिता आयोजक संस्था हिडन ट्रेजरको २४ वर्षे यात्राको एक महत्वपूर्ण उपलब्धिमा आएर टक्क रोकिएको छ। हिडन ट्रेजरलाई नेपालीमा मोटामोटी गाडधन भन्न सकिन्छ। हिडन ट्रेजरको गाडधन नेपालका कम्युनिस्ट ब्रान्डधारी नेताहरू पो रहेछन्। होमा हो मिलाउने कार्यकर्ताहरूको यहाँ कुरा गरिरहनु परेन। नेपालका सबै कम्युनिस्ट पार्टीका नेताले नबिराई सुन्दरी प्रतियोगिताको विरोध गर्ने गर्थे। यो इतिहास आलै छ। सामाजिक सञ्जालमा शृंखलाका निम्ति भोट क्याम्पेन गर्ने बेला उनै नेताहरू भन्न थाले, ‘सुन्दरी प्रतियोगिता त बौद्धिकता नाप्ने प्रतियोगिता पनि हो। शरीर नापजोख र विज्ञापनको प्रतियोगिता हो भनेर जसले भन्छन्, तिनीहरू संकीर्ण हुन्।’
यही तर्क त हो- हिडन ट्रेजरले अढाई दशकदेखि बुझाउन खोजेको ! यता कम्युनिस्ट पार्टीका सांस्कृतिक संगठन, नेता र अरू कैयौं प्रगतिशील लेखक/कलाकार/सांस्कृतिक अभियन्ता सुन्दरी प्रतियोगिताको विरोधमा जुलुस निकाल्थे, उता हिडन ट्रेजर युवतीहरूको बौद्धिकताकै प्रतियोगिता भएको स्पष्टीकरण दिन्थ्यो। आज आएर बल्ल पासा पल्टियो। सुन्दरी प्रतियोगिताले महिलाको शरिरलाई वस्तुको रूपमा व्यवहार गरेको, महिलालाई सोकेसमा सजाइने र विज्ञापनमा देखाइने वस्तु बनाएको आदिआदि विषयमा दर्जनौं लेख लेखिए, पुस्तकका च्याप्टर कोरिए। महिला अधिकारवादीहरूले वैचारिक अभियान चलाए। आखिरमा यो त स्वतः प्रगतिशील पो भैगयो !
हिडन ट्रेजरले प्रगतिशीलहरूलाई ‘कन्भिन्स’ गरिदियो।
सुन्दरताको कसी
खेलमा प्रवेश गरेपछि खेलको नियम मान्नुपर्ने हुन्छ। सुन्दरी प्रतियोगिता पनि एक खेल हो। हिडन ट्रेजरले सार्वजनिक रूपमा सुन्दरी प्रतियोगितामा भाग लिनेका लागि केही सर्त तोकेको छ। ती सर्त यस्ता छन् ः १) प्रतियोगितामा भाग लिने युवती अविवाहित हुनुपर्छ। २) उसको उमेर १९–२५ हुनुपर्छ। ३) न्यूनतम उचाइ ५ फिट ४ इन्च हुनैपर्छ। ४) प्रतियोगीको स्वास्थ्य राम्रो हुनुपर्छ। ५) शरीरमा कुनै ट्याटु खोपिएको हुन हुन्न आदि। यी भए खुला सर्त, करारनामामा अरू पनि थुप्रै सर्त हुने गर्छन्। विजेता भइसकेपछि सुन्दरीले तोकेका विज्ञापन खेल्नुपर्ने, तोकिएका बाहेक अरू विषयमा कमेन्ट गर्न नपाइने, उसले सहभागी हुन मिल्ने भनेका बाहेक कार्यक्रममा सहभागी हुन नपाइने आदि। अर्थात् विजेता तोकिएको अवधिसम्म आयोजकले चाहेको जस्तो व्यापारिक प्रयोजनमा प्रयोग हुनैपर्छ।
अर्को महत्वपूर्ण तथ्य के हो भने सुन्दरी प्रतियोगिता एक खेल मात्र होइन, एक व्यापारिक परियोजना पनि हो। सुन्दरी छान्न, सिँगार्न र संसारको सामुन्ने प्रदर्शन गर्न जसको लगानी भएको छ, उसले लगानी उठाउने नै भयो। लगानी उठाएर मात्र हुँदैन, नाफा पनि कमाउनु पर्यो। व्यापारको यो सामान्य सर्त हो। खेलको करारनामामा हस्ताक्षर गरिसकेपछि शृंखला हुन् वा अरू कुनै युवती, उनको मुस्कानमा समेत लगानीकर्ताको लालित्य पोतिएको हुन्छ। उनको स्विम कस्ट्युम होस् वा बुटिक निर्मित फेसन, क्याटवाकको चाल होस् वा क्यामराका अघिल्तिर प्रदर्शन गरिने कुनै पोज, सबका सब नियन्त्रित हुन्छन्।
सुन्दरी प्रतियोगिता एक खेल मात्र होइन, एक व्यापारिक परियोजना पनि हो। सुन्दरी छान्न, सिँगार्न र संसारको सामुन्ने प्रदर्शन गर्न जसको लगानी भएको छ, उसले लगानी उठाउने नै भयो।
संसारभर सुन्दरताको व्यापारिक परियोजना एक ठूलो उद्योग हो। अरू उद्योगभन्दा फरक के भने यसमा बिक्रीका लागि मान्छेका शरीर, उसका अंगप्रत्यंगको पोज, मुस्कान, पर्दा पछाडिको आँसु र पर्दा अगाडिको हाँसो सब सजाइएको हुन्छ। सुन्दरी प्रतियोगिताका सर्तनामा र विश्व बैंकले दिने ऋण/अनुदानको सर्तनामा उस्तैउस्तै हुन्। ऋण/अनुदानमा हस्ताक्षर गर्ने बेला विश्व बैंकको डलरका अघिल्तिर नेपालजस्तो गरिब देशका शासक/प्रशासक सर्तनामा नै नदेख्ने गरी नतमस्तक हुन्छन्। मेलम्ची परियोजना त्यस्तै सर्तको चक्करमा वर्षौंदेखि बन्धक छ। अहिले हेर्नुस्, परियोजना स्वयं विश्व बैंकको सर्तले अप्ठ्यारो पारेको रोदन सार्वजनिक गरिरहेछ। पितृसत्ताको पिँजराभित्र हुर्किन बाध्य युवतीहरू झन् सुन्दरी प्रतियोगिताको झल्झलाकार रूपबाट त्यसैत्यसै मोहित किन नहुन्।
सन् १९६० को दशकमा अमेरिकाबाट सुरु भएको नारी आन्दोलनले संसारभर प्रतिरोध जन्माएको पनि वर्षौं भइसकेको छ। त्यो आन्दोलनको महत्वपूर्ण एजेन्डा सुन्दरी प्रतियोगिताको विरोध पनि थियो। नेपालमा खासगरी कम्युनिस्ट पार्टी र त्यससम्बद्ध सांस्कृतिक, साहित्यिक र महिला संगठनहरूले प्रतिरोधी नारी आन्दोलन उठाएको इतिहास ताजै छ। त्यसैले सुन्दरी प्रतियोगिताले नारी शरीरमाथि गर्ने व्यापार र पितृसत्तात्मक राजनीतिको कुरा नौलो होइन। भारतीय अभिनेता आमिर खानले टेलिभिजन कार्यक्रम ‘सत्यमेव जयतेः’मा आफूले खेलेका चलचित्रमा पनि नारीलाई केवल पुरुष मनोरञ्जनको साधन बनाइएकोमा ग्लानि व्यक्त गरेका थिए। बलिवुडका गीत र सिनेमामा प्रयोग हुने नारी विम्बप्रति उनी आजसम्म विरोध जनाइरहेका छन्।
भारतीय कलाकार कंगना रनावतले फेयरनेस क्रिमको विज्ञापन खेल्न किन अस्वीकार गरिन् ? सुन्दरताको परम्परागत परिभाषा अस्वीकार गर्ने यो एक कदम थियो। संसारभर सुन्दरताका उपभोग्य सामग्री उत्पादन गर्ने अनेकौं कम्पनी छन्। ती कम्पनीहरू सुन्दरताको त्यही परिभाषा बेचेर पैसा कमाउँछन् जो चलिआएको छ। र, त्यो परिभाषामा सुन्दरताका लागि नारी शरीर नै पहिलो र अन्तिम सर्त हो जसलाई निखार्न र सजाउन अर्बाैं डलरको उद्योग चलेको छ। बेलायती फिल्म सिद्धान्तकार लौरा मल्भीले फिल्ममा प्रयोग गरिने सौन्दर्य दृष्टिको व्याख्या गर्न ‘मेल गेज थ्योरी’ विकास गरेकी छन्। मेल गेज मतलब पुरुष हेराइ। पुरुष दर्शकको मनोरञ्जन नै मुख्य मानेर फिल्महरू निर्माण गरिने र त्यसमा प्रयोग गरिने कथा र नारी पात्र फगत पुरुषको मनोरञ्जनका लागि प्रयोग हुने गरेको उनको निष्कर्ष छ।
निःसन्देह मल्भीको निष्कर्ष सबै चलचित्रमा लागू हुँदैन। तर, नारी अस्मिताको हुर्मत लिने ‘छक्कापञ्जा’ जस्ता चलचित्र हाम्रै देशमा पनि चले। कथित् मूलधारका कैयौं चलचित्रले बलवान् पुरुषको ‘पुरुषार्थ’ र सुन्दर युवतीको सुन्दरताको फर्मुला बेचिरहेकै छन् भन्न धक मान्नु पर्दैन। सुन्दरी प्रतियोगिताका अधिकांश सर्तहरू यही ‘पुरुष हेराइ’का लागि डिजाइन गरिएका हुन्छन्। ग्ल्यामरको अर्थ केवल नारीको शरीरसम्म पुगेर रोकिन्न, त्यसमा पुरुष हेराइको तुष्टि मिसिएपछि बल्ल ग्ल्यामरले पूर्णता पाउँछ। यो लैंगिक तहमा गरिने राजनीति हो र पुँजीवादमा यही राजनीतिलाई व्यापारको औजार बनाउन बजार प्रतिबद्ध छ।
कथाले मागेपछि...
चलचित्रहरू बाक्लै बन्न थालेपछि नेपालमा पनि अंग प्रदर्शनको विषयलाई लिएर सार्वजनिक बहस हुने गथ्र्यो। त्यति बेला चलचित्रका निर्देशक, निर्माता र नायिकाहरू भन्ने गर्थे- कथाले मागेपछि केही ग्ल्यामर देखाइएको हो। इन्टरनेट र ट्याब्ल्वाइट साप्ताहिकहरूको जमानामा अंग प्रदर्शनको त्यो बहस नै गायब भयो, किनभने नग्नताको व्यापारले अब आँखा तिर्मिराउन छाडिसक्यो। तर, ‘कथाले मागेपछि’ भन्ने कुरो अहिले स्वतः प्रगतिशील गिलासको सिद्धान्तका लागि भने उपयोगी देखिएको छ।
कथाले माग्यो, त्यसैले सुन्दरीका लागि भोट मागियो। कथाले मागेकै हुनाले हिडन ट्रेजरको सुन्दरीमा बौद्धिकता खोज्ने तर्क दोहोर्याइयो। अझ हजार चोटि रटेर सत्य नै साबित गरिन्छ। चालढाल, सिँगारपटार, गहनागुरिया सबका सब आखिर नारीकै निम्ति हुन् भन्न परे पनि भन्न पर्यो। आमाको मन राख्नका लागि भाकल गरेरै भए पनि देवीदेउतासँग केही माग्नु छ भने कथाको माग हो। लोग्नेको दीर्घायुका लागि व्रत बसिदिएर हुन्छ भने तीजको व्रत किन नबस्ने ? पञ्चमीको पूजा लाउँदा पण्डितले सुनाउने रजस्वला भएका महिलाले छोइदिएकै कारण मरिसकेका पुर्खाले त्यत्रो भुक्तमान खप्नु परेको कथा छ। यो कथाले पनि माग्छ कि रजस्वला हुनुलाई नारीले एक अभिशापको रूपमा, पापको रूपमा बुझून् र पाप पखाल्न व्रत बसून्।
एक दिन केही मित्र भूतप्रेतको भ्रमबारे केटाकेटीका लागि डकुमेन्ट्री बनाउन विद्वान् मोदनाथ प्रश्रितकहाँ पुगे। उहिले ‘देवासुर संग्राम’ लेखेर देउता र दानवको मानवशास्त्रीय पाटो खोतलेका प्र िश्रत। ‘भूतप्रेतको कथा’ लेखेर भूतप्रेतबारे वैज्ञानिक दृष्टिकोण सिकाउन अभिप्रेरित गर्ने प्र िश्रत। मित्रहरू छक्क त्यति बेला परे जब प्र िश्रतले भूतप्रेतको प्रासंगिकता र त्यसको वैज्ञानिक पाटोबारे व्याख्यान दिन थाले। आजका जल्दाबल्दा ‘कम्निस्ट’हरू हिडन ट्रेजरको तर्कसँग ‘कन्भिन्स’ भएझैं प्र िश्रत उहिल्यै पूर्वीय दर्शनको महत्ता खोज्दाखोज्दै धर्मसत्ताका तर्कसँग घुलित भइसकेका छन्। यसमा छक्क पर्नु पो अचम्म हुनु हो।
सुदूरपश्चिमका एक मित्रलाई छाउपडीबारे खोजबिन गरेर लेख्ने जङ चल्यो। उनी गाउँ गए र गाउँका पाका पुराना मान्छेसँग रिसर्च गर्न लागे। रिसर्च यानी अनुसन्धानको परिणाम यस्तो निस्कियो कि लेखक मित्र भावुक भए। उनले पत्ता लगाएका केही तथ्य रोचक छन्। जस्तै, छाउपडी एक आदिम परम्परा रहेछ। मानिसहरूको हृदयमा त्यसले गहिरो गरी बास गरेको हुनाले छाउपडीलाई खराब वा अनावश्यक ठानिँदैन। छाउपडी प्रथा उल्लंघन गर्यो भने कुलदेउता रिसाउँछन्, पितृले क्षोभ मनाउँछन्। छाउ भएकी नारीले छोइछिटो गर्नासाथ कुलका मूली बिरामी पर्ने वा मर्ने नै सम्भावना रहन्छ। त्यसैले छाउपडीमा मान्छेको गहिरो विश्वास रहेछ। गरेको अनुसन्धान नै हो, भेला पारेको तथ्य नै हो, उदाहरणहरू पनि छन्। निष्कर्षचाहिँ छाउपडी ठीकै त छ भन्ने पो निस्कियो।
यी सब चीजमा वैज्ञानिकता र प्रगतिशीलता खोज्नु छ भने, पूर्वीय दर्शन र सभ्यताको भव्यता खोज्नु छ भने हाजिर छ- स्वतः प्रगतिशील गिलासको सिद्धान्त। यो सिद्धान्त फिट गर्नासाथ जिससपुत्रीको आशीर्वादस्वरूप ‘होली वाइन’ पिउन कम्युनिस्ट नेता माधव नेपाललाई कुन कथाको मागले प्रेरित गर्यो, त्यो थाहा पाइन्छ। धर्मनिरपेक्षता कताबाट आयो पत्तै नपाउने प्रधानमन्त्री ओली ‘सुशासन’को १ लाख डलर पुरस्कार लिन कथाले मागेकै कारण तयार भएका होलान्। नारी सौन्दर्यमाथि शास्त्रहरूमा प्रशस्तै लेखिएको हुनाले सुन्दरी प्रतियोगिताको वैज्ञानिकता पुष्टि गर्न पनि सजिलै सकिने होला। पूर्वीय दर्शनको विरासत लेख्ने ऋषिमुनिले नै पुरुषको आँखाका लागि नारी सौन्दर्यको त्यत्रो बखान गरिसकेपछि यस्ता प्रतियोगिताले ल्याउने बौद्धिक निखार पनि स्वतःसिद्ध हुने होला।
अन्त्यमा...
मार्क्सले भनेका छन्- संसारमा सब चीज परिवर्तनशील छन्। त्यसो भए कम्युनिस्ट पार्टीका मान्छेको विचारचाहिँ किन परिवर्तन हुन नहुने ? त्यसमाथि नेपालमा पुँजीवाद आइसक्यो भनेर ठोकुवा नै गरिसकेपछि सुन्दरी प्रतियोगिताको भौतिकवाद स्वतः पुष्टि हुन्छ। अथवा भनौं पुँजीवाद आइसकेको मानेपछि पुँजीवादअन्तर्गत सुन्दरी प्रतियोगिताको प्रचारप्रसार र बढाइँ गर्नु स्वतः प्रगतिशील कुरा हो। यो त सामन्तवादबाट एक कदम प्रगतिशील हो भन्न पनि त सकिन्छ।
एवं रीतले शृंखला खतिवडा हिडन ट्रेजरले फेला पारेको एक बहुमूल्य गाडधन हुन गइन्। किनभने उनका कारणले कम्युनिस्टहरू संकीर्णबाट खुला र प्रगतिशीलमा रूपान्तरित भएका छन्। राष्ट्रपति विद्या भण्डारीले १८ करोडको गाडी चढ्ने, आँगनमा हेलिप्याड राख्ने आदि कुराको पनि विरोध गर्नुको कुनै तुक छैन। पुँजीवादमा गइसकेको मुलुकमा यी सब जायज ठहर्याउन गाह्रो छैन। मन्त्री रवीन्द्र अधिकारीले वाइडबडी जहाजको हिन्दू विधिअनुसार पूजा गर्नु वा प्रचण्डले भैंसी पूजा गर्नु सबै स्वतः प्रगतिशील हुने गिलासकै कथा हुन्।
बाँकी रहे- न्यायपूर्ण र समतामूलक समाज स्थापनाका आदर्श। ती आदर्श चैं आदर्श रहिरहनेछन्। विश्व सुन्दरीको ताज जितेर शृंखलाले देश चिनाइन् भने देश चिनाउने अरू दुःख पनि गर्न परेन।
स्वतः प्रगतिशील गिलासको जय होस् !