ज्याकी–पुत्रीले गरिन् केटीसँग विवाह
सुपरस्टार ज्याकी च्यानकी छोरी एटा एनजीले विवाह गरेकी छिन्। तर, एटाले केटासँग नभई केटीसँग विवाह गरेकी हुन्। एटाले आफूभन्दा १२ वर्ष जेठी केटीसँग हालसालै विवाह गरेको हलिउडमा खबर छ। दुवैले एक वर्ष एक अर्कालाई डेट गरिरहेका थिए।
जोडीले विवाहको खबर सामाजिक सञ्जालमा विवाहको सर्टिफिकेट सार्वजनिक गर्दै दिएको थियो। एटा र उनकी दुलही एन्डी आटमले यही महिनाको सुरुमा क्यानडामा विवाह गरेका हुन्।
छोरीको विवाहलाई लिएर ज्याकी च्यानले गरेको कुनै पनि टिप्पणी बाहिरिएको छैन। एटा ब्युटी क्विन एलायने एनजीकी छोरी हुन्, जोसँगबाट च्यानले विवाह नगरी बच्चा जन्माएका थिए।
एन्डीले इन्स्टामा एटाको फोटो सेयर गर्दै ‘पत्नी र पत्नीका रूपमा हामी हङकङ फर्किसकेका छौँ। म आफ्नो भावना व्यक्त गर्न सकिइरहेकी छैन। एटाको आगमनले मभित्रको सारा नकारात्मकता सकिएको छ। असल मान्छे बन्ने बाटोमा छु।’
छोरीको लेस्बियन अफेयरका बारेमा थाहा पाएलगत्तै परिवारले एटालाई घरबाट निकालिदिएको थियो। एन्डीका अनुसार दुवैले यसपछि धेरै रात पुलमुनि बिताएका थिए। खानलाई पैसासमेत नभएको भन्दै एटाले एक भिडियो सार्वजनिक गर्दै ज्याकी च्यानलाई दोष दिएकी थिइन्। तर, पैसा नभए काम गर्नु भन्दै एलायनेले ज्याकीको पक्ष लिएकी थिइन्। ज्याकीकी विवाहित पत्नी जोन लिनबाट एक छोरा छन्।