विश्वविद्यालयमा लगाइएकाे ताला खुल्यो
सुर्खेत : पदाधिकारी नियुक्तिको विषयलाई लिएर मध्यपश्चिमाञ्चल विश्वविद्यालयमा साढे दुई महिनाअघि लगाइएको ताला आइतबार खुलेको छ। पदीय जिम्मेवारी निर्वाह नगरी स्वार्थपूर्तिका लागि विद्यार्थी आन्दोलनमा उतारेको भन्दै तत्कालीन रजिस्ट्रार महेन्द्रकुमार मल्ललाई निलम्बन गरिएको थियो।
मल्ललाई छानबिन जारी रहेकै अवस्थामा विश्वविद्यालयका शिक्षाशास्त्र संकायका डिन यामबहादुर कार्कीलाई रजिस्ट्रारमा नियुक्त गरिएको हो। विभिन्न माग राख्दै आन्दोलनमा उत्रिएका कांग्रेसनिकट विद्यार्थी संगठन र प्राध्यापकले लगाएको ताला विश्वविद्यालय प्रशासनले प्रहरीको सहयोगमा खोलेको हो।
पदभार ग्रहणपछि नवनियुक्त रजिस्ट्रार कार्कीले आफूले कुनै हालतमा विश्वविद्यालयलाई राजनीतिक आन्दोलन गर्ने थलो नबनाउने प्रतिबद्धता जनाए।
आन्दोलन सशक्त पारिने
आन्दोलनकारी पक्षले सोमबारदेखि आन्दोलनलाई सशक्त बनाउँदै लैजाने बताएको छ। विधि विधान मिचेर विश्वविद्यालयलाई एकलौटी बनाउन खोजेको भन्दै आइतबार विश्वविद्यालयको केन्द्रीय क्याम्पसमा नाराजुलुस गरेका थिए। नेविसंघ समद्ध विद्यार्थीले लगाएको ताला आफूहरूसँग समन्वय नै नगरी ताला फोडिएपछि उनीहरूले त्यसको विरोध गरेका छन्।
नेकपासम्बद्ध विद्यार्थी संगठनले भने पठनपाठन सञ्चालनको माग राख्दै विरोध जनाएका छन्। उपकुलपति कोइरालाले मनलाग्दी निर्णय गरेकाले आन्दोलनमा उत्रिनुपरेको नेपाल विद्यार्थी युनियन मध्यपश्चिमात्तचल विश्वविद्यालय इन्जिनियरिङ संकायका सभापति राजन केसीको भनाइ छ। उनले नेकपाको बहुमत दम्भले रजिस्ट्रारलाई निलम्बन गरेको विरोधमा आन्दोलन गर्नुपरेको समेत बताए। विश्वविद्यालयका स्ववियु सभापति झक्कबहादुर शाहीले भने माग पूरा नभएसम्म प्रशासनिक काम र पठनपाठन ठप्प पार्ने चेतावनी दिएका छन्।