कीराको संक्रमणले उदयपुरमा सुन्तला उत्पादन घट्यो
गाईघाट : कीराको संक्रमणले उदयपुरको पहाडी भेगमा किसानले लगाएको सुन्तला यस वर्ष सोचेअनुरूप उत्पादन हुन सकेको छैन।
जुनार, निबुवा र मौसममा दाना लाग्दै गर्दा लाग्ने कीराको संक्रमण सुन्तलामा सरेपछि सुन्तला बोटमै कुहेर झर्ने गरेको हो। किसानले रोग लागेपछि नफल्ने भन्दै बोटबिरुवा निकाल्ने र बाँकीको स्याहारसुसारमा ध्यान नदिँदा सोचेअनुरूप उत्पादन हुन नसकेको सुपर सुन्तला जोन कार्यक्रम उदयपुरका वरिष्ठ कृषि अधिकृत दीपक अधिकारीले बताए।
‘कीरा लाग्यो, बोट ओइलियो भने त्यसै छोड्छन्’, उनले भने, ‘त्यसलाई पानी, मलजल, औषधिको उचित व्यवस्थापन र प्राविधिकको सम्पर्कमा बस्ने हो भने राम्रो फल्छ।’ जिल्ला कृषि ज्ञान केन्द्र उदयपुरको तथ्यांकअनुसार यस वर्ष तीन हजार पाँच सय ६२ मेट्रिक टन सुन्तला उत्पादन भएको छ।
चार सय हेक्टरमा सुन्तलाका बोट रहे पनि यस वर्ष किसानले दुई सय ८५ हेक्टर क्षेत्रफलमा खेती लगाएको कृषि ज्ञान केन्द्रका प्रमुख सरोजकान्त अधिकारीले बताए। गत वर्ष दुई सय ५५ हेक्टर जमिनमा लगाइएको सुन्तला खेतीबाट तीन हजार चार सय ५८ मेट्रिक टन उत्पादन भएको अधिकारीले बताए।
उनले भने, ‘गत वर्षभन्दा उत्पादन बढी देखिए पनि लगाइएको क्षेत्रफल यस वर्ष बढेकाले उत्पादन गत वर्षको तुलनामा कमी आएको हो।’ खासगरी बोटबिरुवा लगाएपछि किसानले पानी, मलजल, औषधिजस्ता कुराको व्यवस्थापन गर्न नसक्नाले उत्पादनमा कमी आएको उनले बताए।
कतिपय अवस्थामा दाना लाग्दै गर्दा र पाक्ने समयसम्म झर्ने समस्याले सोचेअनुरूप उत्पादन गर्न नसकेको किसानको भनाइ छ। जुनारबाट आएको कीराको समस्याले सुन्तलाका बोट सुक्ने गरेको सुन्तला सुपर जोनका अधिकृत अधिकारीले बताए।
सुन्तला फूल्दादेखि नै जुनार रोगको संक्रमण भित्रिए पनि लापर्बाही गर्दा अधिकांश फल नस्ट हुन थालेको अधिकारीको भनाइ छ। प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजनाअन्तर्गत सुन्तला सुपरजोन कार्यक्रमले बगैंचा बिस्तारको कार्यक्रम ल्याए पनि किसानले सोचेअनुरूप व्यवस्थापन नगर्दा समस्या भएको उनको भनाइ छ।
उत्पादन वृद्धिका लागि प्रयत्न गरिएको भए पनि रोगकीरा नियन्त्रण गर्न नसक्दा समस्या भएको किसानको गुनासो छ। सुन्तला पकेट क्षेत्रकोरूपमा उदयपुरको ओख्ले, सोरुङछबिसे, लिम्पाटार, इनामे, रुपाटार, लेखगाउँ, नामेटार, आँपटार, पोखरी, नामन्ता, ठानागाउँ, लेखगाउँ परिचित छन्।
दाना लाग्दै गर्दा मौरी जस्तो सुड भएको अपरिचित कीराले आक्रमण गरेको किसान बेदकुमार राईको भनाइ छ। भदौ, असोजको संक्रमणले पाक्ने बेलामा पनि नछोडेको उनले बताए। रोकथामका लागि विषादी प्रयोग गरे पनि कीरा मार्न नसकिएको र कतिपय किसानले विषादीको मात्रा मिलाउन नसक्दा फल दिने बेलामा बोट नै मरेको ओख्लेका किसान तोपबहादुर ठकुरीले बताए।
नगद हात पार्ने बेला सुन्तला धमाधम बिग्रिएपछि किसान चिन्तित देखिएका छन्। उनीहरूले स्थानीय सरकारले कृषकका लागि कृषि प्राविधिक नपठाएको, कृषि प्राविधिकले तालिम नदिएको आरोप लगाए।
बिरुवा अवस्थामै लाई, ढुसीजस्ता रोगले बिरुवा सखाप पार्ने र ठूलो भएपछि कीराको संक्रमण हुने गरेकाले किसान मर्कामा परेको किसान जयकुमार राईले बताए। राईले भने, ‘हजुरबुवा र बुबाको पालादेखि नै गर्दै आएको सुन्तला खेती पछिल्लो समय सोचेअनुरूप फस्टाउन सकेको छैन।’
‘वातावरण अनुकूल हुँदा पहिला प्राविधिक पनि चाहिँदैन थियो, उत्पादन पनि राम्रै थियो’, उनले भने, ‘अहिले प्रविधि भित्रियो त्यतिकै विभिन्न संक्रमण भित्रिँदा सोचेअनुरूप उत्पादन हुन सकेन’, उनले भने, ‘पहिला सडक सञ्जाल थिएन ढाकरमा बोकेर गाईघाट, कटारी, मुर्कुची, बेल्टार, छिमेकी जिल्ला सिरहाको लहान, सप्तरीको राजविराज, धनुषाको जनकपुर लैजानुपर्थ्यो। अहिले सडक छ, बजारीकरणलाई समस्या छैन। विभिन्न समस्याले उत्पादन गर्न सकिएको छैन।’
सुपर जोनमै बजेट न्युन
प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजनाअनुरूप सुन्तला जोन कार्यक्रममा यस वर्ष कर्मचारी तलबभत्ता, सेमिनार गोष्ठीदेखि किसान सहयोग कार्यक्रम गरी दुई करोड सात लाख बजेट छ। जुन बजेट असाध्यै न्युन रहेको किसानको भनाइ छ।
बजेटअनुसार साना सिँचाइमा ५० प्रतिशत अनुदान हुने गरी ४५ लाख, पोस्ट हार्भेस्ट (बजार ढुवानी व्यवस्थापन)मा ८५ प्रतिशत अनुदान गरी १० लाख, नर्सरी स्थापना १० लाख, कस्टमहाइरिङ (कृषि औजार मेसिन रोप्नेदेखि टिप्नेसम्म)मा ५० प्रतिशत अनुदान गरी ६ लाख रुपैयाँ छ।
त्यसैगरी बगैंचा व्यवस्थापन सुदृढीकरण (विषादी, कीरा नियन्त्रणसमेत)मा ५० प्रतिशत अनुदानमा ६ लाख, बगैंचा क्षेत्र विस्तार (सुन्तला वृक्षरोपण)मा १६ लाख यो ८० हेक्टरसम्म पुर्याउनुपर्ने, भकारो सुधारमा एक सय २५ वटा निर्माणमा १५ लाख र बाँकी तलब भत्ता, तालिम, गोष्ठी, सेमिनार, अवलोकनलगायत शीर्षकमा खर्च हुने सुपर सुन्तला जोन वरिष्ठ अधिकृत दीपक अधिकारीले बताए। उनले कतिपय बजेट सञ्चालक समितिबाट खर्च हुने बताए।
आर्थिक वर्ष २०७३/०७४ बाट सुन्तला निर्यात गर्ने र जिल्लालाई सुन्तलामा आत्मनिर्भर बनाउने उद्देश्यले कार्यक्रम सुरु भएको हो।