बैक तथा वित्तीय संस्थाको ब्याजदर घटाउन उद्योग वाणिज्य महासंघको माग
काठमाडाैं : उद्यमी व्यवसायीहरूको छाता संगठन नेपाल उद्योग वाणिज्य महासंघका पदाधिकारीहरुले बैक तथा वित्तीय संस्थाको ब्याजदर बढ्दा नयाँ परियोजना ल्याउन नसकेको बताएका छन् ।
निक्षेपको ब्याजदर बढ्दा परियोजना लागत वृद्धि हुने बताउँदै महासंघले राष्ट्र बैंकका गभर्नर डा. चिरञ्जिवी नेपालसँग ब्याजदर बढ्दा नयाँ परियोजना ल्याउन नसकेको बताएका हुन् ।
साथै गभर्नरसँग उनीहरुले ब्याजदर घट्नुपर्ने माग राखेका छन् । बैंक तथा वित्तीय संस्थाहरुबाट ऋणीको कर्जा तिर्नसक्ने क्षमता विश्लेषण नगरी ऋणको ब्याजदर अचानक वृद्धि भएकोप्रति गम्भीर ध्यानाकर्षण गराएको महासंघक अध्यक्ष भवानी राणाले बताइन् ।
‘ऋणको ब्याजदर अचानक वृद्धिले गर्दा उद्योग व्यवसाय क्षेत्रमा कठिनाइ उत्पन्न भएको छ’ , उनले भनिन् ‘ब्याजदर वृद्धिले निर्माणाधिन परियोजनाको लागत बढेको छ । नयाँ परियोजना ल्याउन नसकिरहेको अवस्था छ ।’
साथै उद्योगको प्रतिस्पर्धी क्षमता विगतको भन्दा ह्रास भएको अवस्थामा बैंकको ब्याजदरमा भएको वृद्धिले उद्योग क्षेत्रको लगानी झनै प्रभावित हुने उनको बुझाइ छ । मुलुकमा लगानी वृद्धि गरी बढ्दो ब्यापार घाटा कम गर्न स्वदेशी उद्योग व्यवसायलाई प्रोत्साहन गर्नुपर्नेमा उल्टै काम गर्न नसक्ने अवस्था आएको उनले बताइन् ।