‘जिससकी छोरी’ सरकारलाई भारी

‘जिससकी छोरी’ सरकारलाई भारी

 के. गिरी 

युनिभर्सल पिस फाउन्डेसन (यूपीएफ) को आयोजनामा एसिया प्रशान्त सम्मेलन हुने घोषणालगत्तै नेपालमा यो सम्मेलनलाई लिएर विवाद र आलोचनाको शृंखला सुरु भइसकेको थियो। किनभने, उक्त सम्मेलनको सहआयोजकमा नेपाल सरकार पनि थियो। यूपीएफ आफैँमा एक विवादास्पद संस्था हो। नाम राजनीतिकजस्तो सुनिए पनि यो संस्थाले खास गरी धार्मिक कार्य गर्छ। यो संस्था इसाई सम्प्रदाय युनिफिकेसन चर्चसँग सम्बन्धित संस्था हो। त्यसैकारण यो सम्मेलनको सहआयोजक बन्न खोज्दा सरकारको व्यापक विरोध भयो। 

यूपीएफको कार्यक्रममा सहभागी हुन विश्वभरबाट सयौँ पाहुना आएका थिए। कम्बोडियाका प्रधानमन्त्री हुन सेन, म्यानमारकी स्टेट काउन्सिलर आङ सान सू की सबैभन्दा चर्चित नाम थिए। सू की आफ्नो देशमा रोहिंग्या मुलसमानमाथिको सैन्य दमनका कारण विश्वभर आलोचित छिन् भने हुन सेन पनि अत्यन्त विवादित नेता हुन्। अन्य टापू राष्ट्रका राष्ट्र तथा सरकार प्रमुखको पनि सम्मेलनमा सहभागिता थियो। 

उनीहरूको भ्रमणलाई सरकारले द्विपक्षीय मान्यता दिएको थियो। यसले पनि सरकारको आलोचना बढायो। विज्ञहरूले सरकारी कोषबाटै खर्च गराउनका लागि मात्र धार्मिक आईएनजीओका पाहुनालाई औपचारिकता दिइएको बताएका छन्। हुन पनि औपचारिक भ्रमणको सम्पूर्ण खर्च राज्यकोषबाट बेहोरिन्छ। सरकारले चाहिँ द्विपक्षीय सम्बन्ध विस्तारका लागि भन्दै भ्रमण औपचारिक बनाइएको दाबी गरेको छ। यद्यपि, कम्बोडियासँग उडान सम्झौताबाहेक यी भ्रमणमा कुनै पनि उल्लेखनीय उपलब्धि हात पर्न सकेन। 

यसअघि बिम्स्टेक शिखर सम्मेलनमा विदेशी सरकार तथा राष्ट्रप्रमुखलाई उपप्रधान तथा रक्षामन्त्री ईश्वर पोखरलले विमानस्थलमा स्वागत गरेका थिए। यूपीएफको कार्यक्रममा आउने सात जना विशिष्ट पाहुनाको स्वागत पनि उनैले गरे। मन्त्रिपरिषद्ले नै यो निर्णय गरेको थियो। सू की तथा हुन सेनले सलामीसहितको स्वागत पाएका थिए। परराष्ट्र मामिलाका जानकारहरूले यसलाई सरकारको कूटनीतिक कच्चापन भनेका छन्। लगभग सबैजसो विज्ञ सरकारले गल्ती गरेकोमा सहमत छन्। 
यतिले मात्र नपुगेर आइतबार सम्मेलनमा प्रधानमन्त्री केपी ओलीलाई एक लाख डलरसहित ‘लिडरसिप एन्ड गुड गभर्नेन्स अवार्ड’ दिइयो। सत्य माता हाक जा हान मुनले करिब १५ सय जनालाई पवित्र रक्सी छर्केर आशीर्वाद पनि दिइन्। कार्यक्रममा सम्बोधन गर्दै उनले आफू जिससको छोरी भएको दाबी गरिन्। ‘ममार्फत आशीर्वाद लिएन भने कुनै पनि मानव ईश्वरको भक्त हुन सक्दैन,’ उनले भनिन्, ‘मेरो आशीर्वाद लिनेले ईश्वरको आशीर्वाद स्वतः प्राप्त गर्छ।’ जिससकै आशीर्वादका कारण सन् १९५० मा अस्तित्वमै नरहेको दक्षिण कोरिया अहिले समृद्ध र लोकतन्त्रको उदाहरणीय मुलुक बनेको दाबी पनि उनले गरिन्।

यस्तो आशीर्वाद समारोहमा ओली दम्पती पनि सहभागी हुने बताइएको थियो। तर, विरोध बढ्दै गएपछि उनीहरू सहभागी भएनन्। प्रधानमन्त्री आफैँले इसाई धर्मगुरुबाट यस्तो सम्मान थापेकोमा उनको चर्को आलोचना गरिएको छ। धर्मनिरपेक्ष राष्ट्रका कार्यकारी प्रमुखको यस्तो हर्कतको सत्तारूढ दलभित्रै समेत विरोध भएको छ भने सामाजिक सञ्जालमा त उनको उछित्तो नै काढिएको छ। नेकपाका स्थायी कमिटी सदस्य तथा माक्र्सवादी विश्लेषक घनश्याम भुसालको एउटा कडा ट्वीट अहिले चर्चामा छ। उनले लेखेका छन्, ‘विगत केही दिनमा नेताहरूको सांस्कृतिक अधपतन र नग्नताको जुन राष्ट्रिय परेड प्रदर्शन भयो, त्यसको मूल्य यस मुलुकका सन्तान–दरसन्तानले लामो समयसम्म तिर्नुपर्नेछ।’ यसरी सरकारलाई नै विवादित तुल्याउने सत्य माता, उनको सम्प्रदाय र संगठन कस्तो हो त ?

युनिफिकेसन चर्च 
हालको उत्तर कोरियामा पर्ने एक गाउँमा सन् १९२० मा सुन म्युङ मुन जन्मेका थिए। १० वर्षको हुँदा उनको परिवार प्रेस्बेटरियन चर्चमा प्रवेश गर्यो। युनिफिकेसन चर्चको मान्यताअनुसार सन् १९३५ मा उनलाई जिसस क्राइस्टले दर्शन दिए र पृथ्वीमा स्वर्गको राज्य स्थापना गर्ने आफ्नो अधुरो जिम्मेवारी पूरा गर्ने दायित्व प्रदान गरे। 

मुन सन् १९४१ मा जापान गए र त्यहाँको वासेदा युनिभर्सिटीमा अध्ययन गरे। दुई वर्षपछि घर फर्केर उनले सुन किल चोईसँग विवाह गरे। सन् १९४६ मा पत्नी र बच्चालाई छोडेर उनी प्योङयाङ गए र धर्म प्रचार गर्न थाले। उत्तर कोरियाको कम्युनिस्ट सरकारले मुनलाई गिरफ्तार ग¥यो। दक्षिण कोरियाली जासुस भएको आरोपमा उनलाई पाँच वर्ष सश्रम कारावासको सजाय दिइएको थियो। कोरिया युद्धको अन्त्यतिर उनी उत्तर कोरियाबाट भाग्न सफल भए। सन् १९५२ मा पत्नीसँग सम्बन्ध–विच्छेद गरेका उनले १९५४ मा सोल पुगेर युनिफिकेसन चर्चको स्थापनापछि आफूलाई मसिहा घोषित गरे। एक वर्षभित्रै उनका अनुयायीले ३० वटा चर्च खडा गरे। त्यसपछि उनले ‘द डिभाइन प्रिन्सिपल’ नामक पुस्तक लेखे। यसमा उनको धार्मिक सम्प्रदायबारे व्याख्या गरिएको छ। 

४० वर्षको उमेरमा मुनले सन् १९६० मा हाक जा हानसँग विवाह गरे। उनी त्यतिबेला मात्र १७ वर्षकी थिइन्। त्यसपछि उनी युनिफिकेसन चर्चकी सहसंस्थापक बनिन्। त्यसै वर्षदेखि उनीहरूले आफूलाई ‘सत्य अभिभावक’ घोषित गरे। उनीहरूका सन्तानलाई ‘सत्य सन्तान’ र उनीहरूको परिवारलाई ‘सत्य परिवार’ भन्न थालियो। कालान्तारमा उनले १४ जना सन्तान जन्माइन्।

त्यसपछिको एक दशक मुनले विश्वभ्रमण गरे। सन् १९७२ पछि उनी अमेरिकामा बस्न थाले। ‘म नयाँ युग र नयाँ सत्यको घोषणा गर्न अमेरिका आएको हुँ,’ उनले भनेका थिए। उनले अमेरिकी राजनीतिमा समेत प्रभाव पार्ने कोसिस गरे। राष्ट्रपति रिचर्ड निक्सन वाटरगेट काण्डमा फस्दा उनको पक्षमा मुनसमर्थकले विशाल र्याली आयोजना गरेका थिए।  

मुन दम्पतीले कोरिया, जापान र अमेरिकामा व्यवसाय सञ्चालन गरेका थिए। त्यसको नाफालाई उनीहरू धार्मिक तथा गैरनाफामूलक क्षेत्रमा प्रयोग गर्थे। पैसा दिएर प्रभावित पारेपछि त्यस्ता संस्थाहरूमा आफ्ना निकटस्थलाई नियुक्त गर्थे र नियन्त्रणमा लिन्थे। मुनले दक्षिणपन्थीहरूको समर्थन गर्ने गरेका थिए। उनी कम्युनिस्टविरोधी थिए। त्यसैले अमेरिकालाई संसारको उद्धारकर्ता ठान्थे। तर, सन् १९८० को दशकमा करछलीको मुद्दामा उनीमाथि सजाय भएपछि उनी अमेरिकामाथि नै खनिए।  उनका समर्थकको संख्या घट्न थालेको थियो, उनको लगानी डुब्न थालेको थियो। त्यसैले उनले अमेरिकालाई ‘शैतानको उपज’ संज्ञा दिएका थिए। सन् १९९० को दशकमा यो चर्चलाई मुनले ‘फेमिली फेडरेसन फर वल्र्ड पिस एन्ड युनिफिकेसन’ नाम दिए। हाक जा हान मुनले ‘वुमन्स फेडरेसन फर वल्र्ड पिस’ स्थापना गरिन्। हाल करिब सय देशका झण्डै ३० लाख मानिसले यो धर्म मान्ने अनुमान गरिन्छ। 

विवाहमा जोड
यो धार्मिक सम्प्रदायले सुरुदेखि नै विवाहमा खास जोड दिएको छ। विवाह र पारिवारिक मान्यतामा आधारित छ यो धर्म। बाइबल र कन्फ्युसियसका मान्यतालाई मिश्रण गरेर यस्तो मान्यता विकसित गरिएको केहीको बुझाइ छ। युनिफिकेसन चर्चको मान्यताअनुसार ईश्वरले जिससलाई मानव मुक्तिका लागि विवाहलाई परिपूर्ण बनाउन पठाएका थिए। तर, जिसस त्यसअघि नै मारिए। त्यो लक्ष्य पूरा गर्न मुनलाई पठाइएको दाबी उनको छ। आफ्नो विवाहपछि यो जोडीले सामूहिक विवाह गराएर नवविवाहितहरूलाई आशीर्वाद दिने प्रचलन सुरु ग¥यो। हजारौँ जोडीको सामूहिक विवाहले संसारभर चर्चा पाउन थाल्यो। यसलाई ‘होली म्यारिज ब्लेसिङ सेरेमोनी’ भनिन्छ। 

यो सम्प्रदायका अनुयायीको जीवनसाथीसमेत चर्चले छानिदिन्छ। आफ्ना थुप्रै अनुयायीको जोडी पहिले मुनले नै छानिदिएका थिए। उनले अलग–अलग देश, जाति र समुदायका नागरिकलाई वैवाहिक बन्धनमा बाँधिदिएका थिए। यसले विश्वमा शान्ति फैलाउन मद्दत पुग्ने उनको विश्वास थियो। 

यस्ता समारोहमा पहिले बेहुला–बेहुलीले एकअर्कालाई हिर्काएर पापबाट मुक्त गर्छन्। त्यसपछि ‘होली वाइन सेरेमोनी’ हुन्छ। जोडीले एक कप वाइन बाँडेर पिउँछन्। त्यसपछि उनीहरूले एकअर्कालाई साथ दिने कसम खान्छन्। पवित्र जल छर्किएर उनीहरूलाई आशीर्वाद दिइन्छ। विवाहपछिको ४० रात चाहिँ पतिपत्नी साथ बस्न पाउँदैनन्। उनीहरू एकअर्कासँग अलग रहन्छन्। विवाहको अनुष्ठानलाई ‘पापयुक्त वंशबाट निस्केर ईश्वरको पापहीन वंशमा प्रवेश गरेको’ मान्छन् उनीहरू। 

विवाहको यस्तो परम्परा, खास गरी जोडी छान्ने शैलीको आलोचना हुने गरेको छ। चर्चले रोजिदिएको जोडीसँग विवाह गरेका कैयन् जोडीको सम्बन्ध–विच्छेद भएको छ। तर, यो सम्प्रदायका अनुयायीहरू चाहिँ अन्य संस्कृतिमा विवाह संस्था कमजोर भएको, महँगो भएको बेला आफूहरूले सस्तोमा यस्तो संस्कृतिको प्रवद्र्धन गर्नु राम्रो भएको तर्क गर्छन्। 

सन् २०१२ मा मुनको मृत्यु भयो। त्यसपछि युनिफिकेसन चर्चमा फुट आयो। बहुमत हिस्साले उनकी पत्नी हाक जा हान मुनलाई ‘मसिहा’ र ‘मानवजातिकी माता’ मान्छन्। तर, उनका दुई छोराले चर्चमा अंशबण्डा गरेका छन्। मुनका जीवितमध्ये जेठा छोराले ‘फेमिली पिस एसोसियसन’को नेतृत्व गरिरहेका छन् भने कान्छा छोराले ‘स्यांक्चुअरी चर्च’ स्थापना गरेका छन्।  
 

कहाँ–कहाँ चुक्यो सरकार ?

एसिया प्रशान्त सम्मेलनको आयोजक यूपीएफको नेपाल प्रमुख हुन्, एकनाथ ढकाल। उनी पूर्वमन्त्री पनि हुन्। गत निर्वाचनअघि उनी तत्कालीन एमालेमा मिसिएका थिए। आफूले गर्ने सम्मेलनमा पूरै राज्यसत्तालाई परिचालन गर्न सकेको भन्दै सामाजिक सञ्जालमा ढकालबारे विभिन्न चर्चा भए। 

सम्मेलनमा सरकारका अनेकौँ कमजोरी छताछुल्ल भयो। पहिलो त आईएनजीओको कार्यक्रममा सहआयोजक बन्यो सरकार। त्यसपछि यो सम्मेलनमा आउने पाहुनाको भ्रमणलाई द्विपक्षीय घोषित गर्यो। कूटनीतिक प्रचलन तोडेर विदेशमन्त्रीलाई उपप्रधानमन्त्रीले स्वागत गरे। सू कीको भ्रमणमा रोहिंग्या समस्याबारे कुरा उठाउन सुझाव दिइएको थियो। सरकारले त्यो पनि गर्न सकेन। यो सम्मेलनमा सरकारले नागरिकलाई देखाउनलायक कुनै उपलब्धि लिन सकेन। तर, पाहुनाको सवारीमा अनावश्यक रूपमा जोर–बिजोर प्रणाली लगायो र सर्वसाधारणले सास्ती पाए। भोलिपल्ट फिर्ता लिन बाध्य पनि भयो। यसले सरकारको दोषलाई जनस्तरसम्मै प्रसार गर्ने काम गर्यो। यसरी हेर्दा सरकारसँग आफू प्रयोग भएको होइन भनेर पुष्टि गर्ने आधारसमेत देखिँदैन। 
हो, यस्ता सम्मेलन आयोजना हुनुपर्छ। यसले अन्य देशसँग हाम्रो आदानप्रदान बढाउँछ। तर, त्यसो गर्दा जनताले कष्ट पाउनु हुँदैन, देशको मर्यादा गुम्नु हुँदैन। यसमा सरकार नराम्ररी चुकेको छ। 

कतिपयले त यसलाई  हिन्दू राष्ट्रको पक्षमा जनमत फर्काउने मौकाका रूपमा पनि उपयोग गरेका छन्। यूपीएफका कार्यक्रममा अतिथि बनेका गिरिजाप्रसाद कोइरालादेखिका नेताहरूको फोटो-भिडियो सामाजिक सञ्जालमा भाइरल बनेको छ। नेताहरूले देश बर्बाद पारेको भनेर आफ्नो राजनीतिक उद्देश्य पूरा गर्ने प्रयाससमेत गरेका छन्। 


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.