जाडोमा छाला जोगाउने यस्तो छ डा.धर्मेन्द्र कर्णको सल्लाह
डा.धर्मेन्द्र कर्ण : छाला तथा सौन्दर्य विशेषज्ञ, धुलिखेल अस्पताल।
जाडो मौसममा छालामा देखिने विभिन्न समस्यामध्ये सुक्खापन मुख्य हो। करिब ७० देखि ८० प्रतिशत मानिसलाई यो मौसममा छाला सुक्खा हुने समस्याले सताउँछ। शरीरको जुन भाग कपडाले ढाकेको हुँदैन प्रायः ती भागको छाला सुक्खा हुन्छ।
अनुहार, घाँटी, हात, ओठ, पैतला आदिको छाला सुक्खा हुन्छ। बढी चलिरहने अंग औँला, पैताला र कुहिनाभन्दा तल, घुँडाभन्दा तलको भागको छाला धेरै सुक्खा हुन्छ। यो समस्या कसैमा जन्मजात देखिन्छ भने कतिपयको वंशाणुगत हुन्छ। जन्मजात छाला सुक्खा हुनेहरूमा सम्पूर्ण शरीरको छाला नै माछा कत्लाजस्तो देखिन्छ। यसले कपाल र नङमा समेत असर पुर्याउँछ। यस्तो समस्या बच्चा जन्मेदेखि नै देखिन्छ।
शरीरको तुलनामा बाहिरी वातावरणको तापक्रम कम हुन थालेपछि हाम्रो शरीरबाट तापसँगै हामीले नदेख्ने गरी पानीको कण पनि बाहिर निस्किरहेको हुन्छ। जसले गर्दा छाला सुक्खा हुने समस्या देखापर्छ। एलर्जी हुने व्यक्तिको पनि छाला सुक्खा हुन्छ।
दमको समस्या हुनेहरूको शरीरको सम्पूर्ण छाला सुक्खा हुन्छ। मधुमेह, उच्च रक्तचाप, थाइरोइडको समस्या साथै शरीरमा विभिन्न किसिमका भिटामिनको कमी भएकाहरूको छाला पनि सुक्खा हुन्छ। यीबाहेक जीर्ण रोग, रक्त अल्पता, लामो समय पाचन प्रणाली गडबड हुनु, मुटुरोगीका बिरामीको छाला पनि सुक्खा हुन्छ।
यो समस्या हुनेको छाला चिरा परेको हुन्छ। छालामा कत्ला देखिन्छ। कपडा खोल्दा छाला बढी नै चिलाउँछ। घाउखटिरा आउने र फंगल इन्फेक्सन हुन सक्छ। हत्केला तथा पैतलाको छाला फाटेर चिरा परेको हुन्छ।
जाडोमा हामी कम पानी खान्छौँ। जसले गर्दा हाम्रो शरीरमा पानीको मात्रा कम हुन्छ र छाला सुक्खा हुने समस्या देखापर्छ। एक त शरीरबाट पानीको कण निस्किरहेको हुन्छ भने अर्को तर्फ पानी नै कम खानाले छाला सुक्खा हुने समस्या बढी हुन्छ। त्यसैले जाडो छ भनेर पानी कम खानु हुँदैन। मनतातो पानी प्रशस्त खानुपर्छ। शरीर पूरै ढाक्ने कपडा लगाउनुपर्छ।
मनतातो पानीमा दुई÷तीन चम्चा नुन हालेर नुहाउनाले छाला सुक्खा हुने समस्या कम भएर जान्छ। नुहाउनुअघि र पछि नरिवल, जैतुनको तेल तथा म्वाइस्चराइजर क्रिम लगाउनुपर्छ। जाडो भयो भनेर आगो तथा हिटर तापेर शरीरको एक भाग मात्र तताउनेभन्दा पनि पूरै कोठा न्यानो बनाउने विधि अपनाउनुपर्छ। आफूले अपनाउन सक्ने विधि गर्दा पनि छाला सुक्खा हुने र फुट्ने क्रम रोकिएन भने आफूलाई पायक पर्ने छाला रोग विशेषज्ञसँग परामर्श गरेर उपचार गराउनुपर्छ।
चायापोतो बढ्ने मौसम
जाडोमा घाम सबैका लागि प्यारो हुन्छ। तर, निरन्तर घाममा बस्दा छालामा भने अप्लकालीन तथा दीर्घकालीन रूपमा विभिन्न असर देखापर्न सक्छ। गोरो छाला हुनेले धेरैबेर घाममा बस्दा सन बर्न हुने समस्या भोग्नुपर्छ। घामकै कारण चायापोतोको समस्या पनि बढ्ने गर्छ।
चायापोतोलाई मेडिकल भाषामा मेलाज्मा वा कोलाज्मा भनिन्छ। विशेष गरी महिला गर्भवती भएका बेला यस्तो दाग देखापर्ने भएकाले मेडिकल भाषामा यसलाई कोलाज्मा नाम दिइएको हो। जुन हर्मोनको गडबडीका कारणले हुन्छ भनी सोचिए पनि चायापोतो आउनुमा गर्भवती मात्र कारण नहुने अध्ययनबाट पत्ता लागेको
छ।
छाला रोगसम्बन्धी भएका पछिल्ला अनुसन्धानले चायापोतो घामको किरणका कारण देखापर्ने पत्ता लागेको छ। छालाको तल्लो सतहमा हुने मेलानोसाइट्स भन्ने सेलले मेलानिन भन्ने तत्व उत्पादन गर्छ। मेलानिन घाम तथा अन्य कृत्रिम लाइटमा पनि उत्तिकै सक्रिय हुन्छ। घामको किरण अनुहारमा परेपछि मेलानिन भन्ने तत्व छालाको सतह फैलिन थाल्छ। घामले मेलानिनलाई निकै छिटो सक्रिय बनाउँछ। धेरै कम मानिसमा मात्र घामको किरणले यो मेलानिन भन्ने तत्व सक्रिय हुँदैन र चायापोतो देखिँदैन। मेलानिन सक्रिय भएर छालाको सतह देखिएको अवस्था नै चायापोतो आएको अवस्था हो।
चायापोतोबाट जोगिन अनुहारको छालालाई घामबाट जोगाउनुपर्छ। मेलानिन आर्टिफिसियल लाइटबाट पनि उत्तिकै सक्रिय रहने भएकाले बत्ती तथा कम्प्युटरमा काम गर्दा ध्यान दिनुपर्छ। लाइटबाट छालालाई जोगाउने उपाय अपनाउनुपर्छ।
चायापोतोलाई आउन नदिन धेरैबेर घाममा नबस्ने, अनुहारको छालालाई घामबाट जोगाउने सनस्क्रिन लोसन लगाउने। एक पटक लगाएको लोसनले तीन–चार घण्टा मात्र काम गर्छ। त्यसैले दिनमा दुई–तीन पटक लोसन लगाउने। चिकित्सकको सल्लाहमा ‘केमिकल पिर्लस’ प्रयोग गर्नुपर्छ। कहिलेकाहीँ थाइरोइड हर्मनको गडबडीले पनि चायापोतो देखिने भएकाले रोगको उपचार गर्नुपर्छ। चिकित्सकको सल्लाहअनुसार औषधि तथा क्रिम लगाएर केही कम गर्न सकिए पनि चायापोतो पूरै हट्दैन।