प्रहरीले चलाखीपूर्वक जाेगायाे अपहरणमा परेका बालक

प्रहरीले चलाखीपूर्वक जाेगायाे अपहरणमा परेका बालक

राधा खनाल। भद्रपुर,

लोकनाथ रिजाल। दमक

मंसिर २४ मा झापा प्रहरीकहाँ सन्देश आयो, ‘बिहार सुपौलको किशोरपुरबाट बालक अपहरणमा परे। खोजी र उद्धारमा सहयोग गरिदिनुपर्यो।’ भारतीय प्रहरीले बालकलाई सीमा कटाएर गौरीगञ्ज हुँदै नेपाल ल्याइएको बताएको थियो। सूचना आउनेबित्तिकै झापा प्रहरी सतर्क बन्यो। अनि बुन्न थाल्यो अपहरणकारीलाई पासो थाप्ने जाल।

प्रहरीले बालकलाई सकुशल उद्धार गर्ने योजना बनायो। तर, यो काम त्यति सजिलो थिएन। ‘सानो गल्तीले बालकको ज्यान जान सक्ने खतरा थियो,’ झापाका एसपी भीमप्रसाद ढकालले भने, ‘सूक्ष्म तयारी र सतर्कतासाथ अनुसन्धान अघि बढायौं।’ अपहरणमा परेका ७ वर्षीय बालक महफुज आलमका परिवारसँग अपहरणकारीले फिरौती माग्न सुरु गरिसकेका थिए। तिनले १५ लाख भारु मागेका थिए। माग अनुसारको रकम नदिए बालकलाई मारिदिने धम्की पनि दिएका थिए। परिवारले त्यसबारे उजुरी गरेपछि भारतीय प्रहरी टोली नेपाल आएको थियो।

नेपाल प्रहरीले ‘एक्सन’ सुरु गर्यो। दमकका डीएसपी श्यामल सुब्बा र गौरीगञ्जका इन्स्पेक्टर टेकेन्द्र शर्मा पौडेल अपहरणकारीको खोजीमा खटिए। ‘ब्याकअप’मा प्रहरीको अनुभवी टोली पनि थियो। नेपाल–भारत सीमा क्षेत्रमा जाँच तीव्र बनाइयो। होटल–लजको निगरानी र खानतलासी सुरु भयो। तर, बालक फेला परेनन्।

बालकको ज्यानको सवाल थियो। त्यसैले अपहरणकारी समात्न परिवारसँग सल्लाह गरेर प्रहरीले फिरौतीको पासो फाल्ने निर्णय लियो। फिरौती माग्नेलाई रकम लिन आउन आग्रह गरियो। यसमा ठूलो जोखिम थियो। योजना अनुसार २५ गते बिहान ४ बजे झिसमिसमै खजुरगाछी चोकमा एक व्यक्ति पैसा लिन टुप्लुक्क आइपुगे। तीनवटा लोकेसन परिवर्तन गरेपछि उनी बल्ल त्यहाँ आउन राजी भएका थिए। उनी थिए संघीय समाजवादी फोरमका स्थानीय नेता बद्री यादव।

उनलाई समात्न प्रहरी सफल भयो। उनले अपहरणको फेहरिस्त ओकले। यादव स्थानीय निर्वाचनमा गौरीगञ्ज गाउँपालिका अध्यक्षको उम्मेदवार थिए। पहिलो र दोस्रो संविधानसभा निर्वाचनमा पनि उम्मेदवार थिए। उनको ससुराली बिहारमै छ। ‘बालकलाई गौरीगञ्ज–४ स्थित बिट्टु भनिने श्रीप्रसाद मुखियाको घरमा राखिएको’ उनले खुलासा गरे। तत्काल प्रहरी त्यहाँ पुग्यो तर बालक फेला परेनन्। बिट्टु चाहिँ पक्राउ परे।

बिहारबाट अपहरणपछि नेपाल ल्याएर लुकाइएका एक बालकलाई प्रहरीले फिरौतीको जाल फालेर सकुशल उद्धार गर्न सफल भएको छ।

बिट्टुकै बयानअनुसार प्रहरीले दमक–५ गोर्खाली टोलस्थित देउराली होटलमा छापा मार्यो। कोठा नं. १०७ मा भेटिए अपहरित बालक महफुज। उनको सकुशल उद्धार भयो। त्यहाँ बिट्टुकी श्रीमती अञ्जुदेवी मुखिया पक्राउ परिन्। गाउँमा पोल खुल्ने डरले अपहरणकारीले बालक होटेलमा राखेका थिए। र, रेखदेख गर्न अञ्जुलाई होटेल पठाएका थिए। इलाका प्रहरी कार्यालय दमकका प्रहरी निरीक्षक खगेन्द्र ऐक्तेनले भने, ‘हामी पुग्दा बालक निकै डराएका देखिन्थे। केही बोल्न नसक्ने अवस्थामा थिए। तत्कालै स्वास्थ्य परीक्षण गर्न अस्पताल पठायौं।’

यसरी भएको थियो अपहरण

मंसिर २० गते दिउँसो १ बजे महफुज आलम मावली घरको आँगनमा अरु केटाकेटीसँग खेल्दै थिए। आधा घण्टादेखि दुई जना व्यक्ति केटाकेटी खेलेको हेरिरहेका थिए। ती व्यक्तिले बिस्कुट पनि खान दिए। ‘बच्चाको आफन्त होलान् भन्ने लाग्यो’, छिमेकी सबु आलमले भनिन्, ‘वास्ता भएन। तर पछि एकाएक मैफुज हरायो भन्दा हामी छक्क पर्यौं। बिस्कुट खाएपछि आलमलाई मोटरसाइकलमा घुमाएर ल्याउँछौँ भनेर लगेछन्।’

साँझ पर्न लाग्यो तर उनीहरु फर्किएनन्। बुबा मोहम्मद सद्दामको मनमा चिसो पस्यो। ‘खै मैफुज ? ’ छोरासँगै खेलेका अरु केटाकेटीलाई सोधे। ‘मोटरसाइकलमा चढेर गयो,’ उनीहरुले जवाफ थिए। सद्दाम थुचुक्क भुइँमा बसे। ‘आन्टीको घर पुर्याइदिने भन्दै दुई जनाले लगेका रहेछन्,’ उनले घटना सुनाए।

अनुसन्धानपछि प्रहरीले दिएको जानकारी अनुसार बालकलाई मोटरसाइकलमा मोहम्मद दिलसाद र कडिया नाम गरेका दुई व्यक्तिले प्रतापगञ्ज भन्ने स्थानसम्म पुर्याएका थिए। त्यहाँ एउटा कार रोकिएको थियो। कारभित्र जयकिशोर कुमार र रितेश नामका दुई व्यक्ति थिए। मोहम्मद र कडियाले बालकलाई उनीहरुको जिम्मा लगाए। जयकिशोर र रितेशले बालकलाई भनेछन्, ‘मोटरसाइकलमा अप्ठेरो हुन्छ, आऊ कारमा बस। हामी आन्टीको घरसम्म पुर्याइदिन्छौँ।’ केही समयपछि उनीहरुले बालकलाई गौरीगञ्जका बद्री यादव र भारतका बेचन यादवको जिम्मा लगाउँछन्। त्यसपछि बालकलाई मोटरसाइकलमा राखेर सोझै नेपाल सीमा कटाइन्छ।

अपहरणकारी सार्वजनिक गर्दै प्रहरी । 

बद्रीले बालकलाई गौरीगञ्जका बिट्टुको घरमा ल्याउँछन्। बिट्टुले अनेक प्रलोभन देखाएर दुई रातसम्म त्यहीं राख्छन्। छिमेकीले सोधीखोजी गर्न थालेपछि अपहरणको घटना सार्वजनिक हुने डरले त्यहाँबाट बालकलाई हटाइन्छ। अनि पुर्याइन्छ, दमक–५ देउराली होटल।

बालक हराएपछि परिवारले २१ गते किसनपुर थानामा उजुरी गर्छन्। भारतीय प्रहरीले अनुसन्धान सुरु गर्छ। त्यही दिन बालकको मामालाई ९८१६३६४९०९ नेपाली नम्बरबाट फोन आउँछ। ‘तेरो बच्चा मेरो साथमा छ। १५ लाख रुपैयाँ फिरौती लिएर आउनु। २४ घण्टापछि म फेरि फोन गर्छु प्रहरीलाई खबर गर्यो भने बच्चाको ज्यान खतरामा छ।’ कहिले प्राइभेट नम्बर, कहिले भारतको नम्बर अनि कहिले नेपालका तीन चारवटा मोबाइल नम्बरबाट फोन आउँथ्यो। तर एकपटक गरेको नम्बरबाट अर्को पटक नआउने गरेको मोहम्मदले सुनाए।

कल डिटेल र जानकारी संकलन गरेपछि भारतीय प्रहरी गौरीगञ्जसम्म आइपुग्छ। सोमबार बेलुका भारतबाट आएको प्रहरी टोलीले शंकास्पद ठाँउहरुमा खोजतलास गर्छ। पीडितका आफन्तसहित प्रहरी आएको पारिवारिक स्रोतको भनाइ छ। अपहरणकारीको पहिचान हुन्छ। भारततर्फ अपहरणमा संलग्नहरुलाई पक्राउ गरेपछि भारतीय प्रहरीले नेपाल प्रहरीको सहयोग माग्छ। अपहरणको मुख्य योजनाकार मानिएका भारतीय नागरिक बेचन यादव भने फरार रहेका छन्। गौरीगञ्जका इन्स्पेक्टर टेकेन्द्र पौडेलले भने, ‘भारतीय समकक्षी र हाम्रो प्रयासबाट उद्धार गर्न सकियो।’

बालकलाई मोटरसाइकलमा हाल्ने दुई जनालाई भारतीय प्रहरीले २४ गते साँझ नै समात्यो। उनीहरुकै बयानको आधारमा २४ गते नै भारतीय प्रहरीले झापाका एसपी भानु ढकाललाई घटनाबारे विस्तृत जानकारी गराई सहयोग मागेको थियो। ‘भारतीय प्रहरीको जानकारीपछि बालकलाई दमक वा गौरीगञ्जमा लुकाएको अनुमानमा त्यसक्षेत्रमा व्यापक रुपमा प्रहरी परिचालन गर्यौँ,’ एसपी ढकालले भने।

पक्राउ परेका बिट्टु र बद्रीले संयुक्त रुपमा भारतबाट माछा खरिद गरी नेपाल ल्याएर बिक्री गर्ने काम गर्दथे। धान काँटा समेत सञ्चालन गरेका थिए। माछा खरिद गर्न भारत आउजाउ गरिरहन्थे। पछि दुबै जनालाई व्यापारमा घाटा भएपछि यो काम छाडेका थिए। व्यवसाय घाटा लागेपछि बालक अपहरण गरेको हुन सक्ने प्रहरीको आशंका छ। बालकको मावली पक्ष हुनेखाने भएकोले पैसा असुल्नकै लागि अपहरण गरिएको अनुमान छ।

पक्राउ परेका तीनै जनालाई बुधबार भद्रपुरमा पत्रकार सम्मेलन गरी सार्वजनिक गरियो। उनीहरुविरुद्ध बुधबार मुलुकी ऐन आचार संहिता २०७४ को अपहरण तथा शरीर बन्धक कसुरअन्तरगत मुद्दा दर्ता गरिएको छ।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.