भेडा पालेर स्वरोजगार

भेडा पालेर स्वरोजगार

गुर्जा (म्याग्दी) : धवलागिरि गाउँपालिका–१ गुर्जाका ३९ वर्षीय रेशम छन्त्यालले पछिल्लो एक वर्षयता एक सय भेडा बिक्री गरे। दुई सय जति भेडा पालेका छन्त्यालले बिक्री गरेको भेडाको सरदर मूल्य हिसाब गर्दा १५ लाख रुपैयाँ हुन आउँछ।

रोजगारीको खोजीमा पाँच वर्ष मलेसिया बसेर गाउँ फिरेपछि भेडा पाल्न थालेका छन्त्याल विदेशभन्दा राम्रो कमाइ भएको बताउँछन्। ‘स्वतन्त्र रूपमा आफ्नो काम गर्नुमा आकाश जमिनको अन्तर छ’, छन्त्यालले भने, ‘विदेशमा गर्ने दुःख आफ्नै ठाउँमा गर्ने हो भने धेरै सम्भावना रहेछ।’

गुर्जाकै २३ वर्षीय थमबहादुर छन्त्यालले पनि विदेशको विकल्पमा भेडापालन गरेका छन्। ५० वटा भेडा पालेका छन्त्याल संख्या थप गर्ने तयारीमा भएको बताउँछन्। रेशम र थमबहादुर जस्तै अल्पसंख्यक छन्त्याल समुदायको बाहुल्य रहेको गुर्जामा अहिले ५० भन्दा धेरैको संख्यामा व्यावसायिक रूपमा भेडा पाल्नेको संख्या ३० छ।

उच्च पहाडी भागमा अवस्थित गुर्जामा अनुकूल हावापानी र प्रशस्त चरन क्षेत्र भएकाले भेडापालन पेसाप्रति युवाको आकर्षण बढेको छ। घरखर्च चलाउन, छोराछोरी पढाउन र जीविकोपार्जनका आधार भेडापालन भएको ५० वर्षदेखि भेडापालन गर्दै आएका ६० वर्षीय नरबहादुर छन्त्यालले बताए। एक जनाले ५० देखि दुई सय सम्म भेडा पालेका छन्। यहाँ पालिएका भेडा स्थानीय भ्याङलुङ र बरुवाल जातका हुन्।

मासु र पूजाआजाका लागि भेडा व्यापार हुने गरेको छ। शक्तिपिठमा भेडाको बली चढाउने चलन छ। हिमाली हावापानी र जडीबुटीयुक्त चरन क्षेत्रमा पालिएका भेडाको मासु स्वादिलो र पोषिलो हुन्छ। उमेर र तौलअनुसार १५ देखि २५ हजार रुपैयाँमा बिक्री हुने कृषक डिलबहादुर विकले बताए।

भेडाको ऊन राडीपाखी, काम्लो, हरदुब्लो बनाउन प्रयोग हुन्छ। तर ऊनको व्यवस्थापन र सदुपयोग हुन सकेको छैन। बजारको अभावमा कृषकले जंगलमै ऊन फाल्ने गरेका छन्। गुर्जाका साथै छिमेकी लुलाङ, मुना, ताकम, दरबाङ र बेनीसम्म गुर्जाका भेडा बिक्री हुने गर्छ। ‘टाढा भएकाले बजार र उचित मूल्य नपाउने समस्या छ’, कृषक थमबहादुर छन्त्यालले ‘हिउँदमा चरनको अभाव र छमासे रोगको प्रकोपले सताएको छ।’

भेडापालक कृषकलाई प्रोत्साहन र उनीहरुको मागको आधारमा कार्यक्रम सञ्चालन गर्न चालू आर्थिक वर्षमा ६ लाख रुपैयाँ विनियोजन गरिएको वडाध्यक्ष झकबहादुर छन्त्यालले बताए।

यसैगरी गुड नेबर्स इन्टरनेसनलको आर्थिक सहयोगमा संगम म्याग्दीमार्फत सञ्चालित म्याग्दी सामुदायिक विकास परियोजनाले स्थानीय हिमाली कृषि सहकारी संस्थामार्फत भेडापालक कृषकलाई अनुदान र घुम्तीकोष उपलब्ध गराएको छ। २७ जनालाई १२ लाख ८८ हजार एक सय ३४ रुपैयाँ घुम्तीकोषबाट ६ प्रतिशत व्याजदरमा बिनाधितो ऋण उपलब्ध गराइएको सहकारीले जनाएको छ।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.