अध्यागमनको अररो ढोका
मानव तस्कर सरासर छिर्ने, तर तिनकै डर देखाएर सर्वसाधारणलाई रोकिदिने कस्तो द्वार छ हाम्रो विमानस्थलमा ?
मंसिर २४ गते बेलुकी। छोरीको जन्मोत्सवको फोटो खिचिरहेको मोबाइलमा फोन बज्यो। सेभ नगरेको नम्बर भएकाले जरुरी हुन सक्छ भनेर उठाइदिएँ। रवि रोशीको रहेछ। मैले हतारिँदै भनें, ‘म १५ मिनेटमा कल ब्याक गर्छु है ? ’
‘म एउटा अप्ठ्यारोमा परेर फोन गरेको’, उताबाट अझ हडबडाहट सुनियो, ‘सानो कुरा सुनिदिनुहोस् न।’
फोन काटेर फोटो खिच्न अब भने मनले मानेन। सोधें, ‘खास के भयो ? ’
‘म एयरपोर्टमा छु। एउटा कार्यक्रममा कतार जान लागेको। अध्यागमनका कर्मचारी त्यहाँको होटेल बुक नभई हुँदैन भन्छन्। होटेलबाटै निकालेको भिसा छ’, उनले भने, ‘होटेल बुक नभई नहुने कुनै नियम छ र ? ’
नियम त ठ्याक्कै मलाई पनि थाहा थिएन। तर, अध्यागमनले यसरी नै धेरैलाई रोकेका घटना बाहिर आउने गरेका थिए। बहानाबाजी गरेर अल्झाएपछि पैसा खुवाएर उडेका व्यक्तिका उदाहरण पनि थिए। उनका हकमा पनि नियत दुःख दिने हो भन्ने बुझ्न गाह्रो भएन।
‘रोक्नै त नमिल्नुपर्ने हो’, मैले भनें, ‘परिस्थिति बताएर अनुरोध गर्नुभएन र ? ’
‘अनुरोध गरेकै एक घन्टा भइसक्यो। जहाज उड्ने बेला हुन लागिसक्यो’, उनले भने, ‘हुँदै हुँदैन भन्छन्। तपाईं कतार किन जाने, कहाँ बस्नेजस्ता प्रश्न मात्र सोध्छन्। मिल्दैन भन्छन्, कुरै सुन्न मान्दैनन्।’
रवि करिब एकदशक कतार बसे। गाडी चलाउन पुगेका उनले भारी–भारी सवारी साधनसमेत गुडाए। त्यससँगै साहित्य र पत्रकारितामा अग्रसर भए। नेपाली समुदायमा चिनिए। राम्रै पहिचान बनाएपछि वैदेशिक रोजगारले अघाएर करिब दुई वर्षअघि घर फर्किए। चितवनमा उनी उद्यम÷व्यवसाय गर्छन्। त्यही कतार यसपालि उनी पर्यटकका हैसियतमा भ्रमण गर्दै थिए। अध्यागमनमा वैदेशिक रोजगारमा जानेमाथि हुने हप्कीदप्की भोग्नु नपर्ने खुसीमा थिए। भइदियो उल्टो। झन् अररो ढोका अगाडि उभियो।
उनले अत्तालिँदै फोन गरेका थिए। उपाय मसँग पनि के थियो र ? अध्यागमनमा ‘दोस्ती’ भएको एक मित्रको नम्बर पठाएँ। उनले भनिदिँदा हुन्छ कि, प्रयास गर्न सल्लाह दिएँ। र, आफ्नो रमाइलोमा भुलिएँ।
त्यही नम्बरबाट १५ मिनेटमा फेरि फोन आयो। ‘कुनै उपायले काम गरेन’, हरेश खाँदै रविले भने, ‘फर्किनुपर्ने भयो। टिकटको पैसा वाहियातमा खेर जाने भयो।’
‘म कुरा बुभ्mछु नि त। तपाईं ती कर्मचारीलाई फोन दिनुहोस्’, मैले भनें, ‘कुन नियमले रोकेको रहेछ, सोधी हेरौं न त।’
काउन्टरछेउमा गएर उनले भनेको सुनियो, ‘लु यो फोन लिनुहोस्, कुरा गर्नुहोस्।’
‘कसको फोन ? ’ नेपथ्यमा प्रश्न आयो।
‘सरको।’
‘को सर ? ’
‘आफैं कुरा गर्नु न, चिनिहाल्नुहुन्छ नि।’
किन हो, ती कर्मचारीले फोन लिन मानेनन्। बरु भनेको सुनियो, ‘भै गयो, जानुहोस्।’
अचम्म, ती कर्मचारी अज्ञात फोनसँग तर्सिए। को सर, कस्तो सरसँग उनलाई मतलब भएन, फगत ‘सर’ शब्दले उनको निर्णय बदल्यो। अध्यागमनको ‘नियम’ बदल्यो। मिल्दै नमिल्ने काम अचानक ‘भै गयो’ मा परिणत गरायो।
यति कच्चा पनि हुन्छ कुनै देशको गौंडाको नियम ?
मैले तर्साउन उनीसँग कुरा गर्न खोजेको थिइनँ। रविले पनि अत्याउन मेरो फोन दिएका होइनन्। म नियम बुझ्न चाहन्थें। आग्रहसम्म गरिदिन्थें होला। तर, त्यसो गर्नै परेन। ‘सरको फोन’ वाक्यांशले फ्याट्टै काम भयो। सँगसँगै मलाई चासो लाग्यो– अध्यागमनका कर्मचारीको ‘सर’ शब्दबाट किन सातो जान्छ ?
वैदेशिक रोजगारको आगमनसँगै नेपालमा भित्रिएको ‘लोकप्रिय’ शब्द हो मानव तस्करी। सरकार यसलाई रोक्न चाहन्छ। कडा–कडा नियम त्यसैलाई ठेगान लगाउने नाममा बन्छन्। विभागीय मन्त्रीले मान तस्करीकै विरोध गरेर भाषणका घन्टा भर्छन्। तर, दुःखको कुरो– त्यो रोकिँदैन। झन् बढ्छ। किन ?
खोतल्दै जाँदा कारण रहेछ– त्यही ढोका। त्यहाँबाट मानव तस्कर सरासर छिर्छन्। संसार चहार्छन्। तिनकै डर देखाएर सर्वसाधारणलाई भने विमानस्थलमै रोकिन्छ। मानसिक यातना दिइन्छ। जसलाई रोक्नुपर्ने हो तिनलाई भने तस्करले ‘सेटिङ’ मिलाएर उडाइछाड्छन्। दुःख पाउने निर्दोष सर्वसाधारणले हो, जो मेहनतको खर्चले घुम्न जान चाहन्छ वा आफन्त भेट्न उड्न पुग्छन्। तिनले प्रायः हन्डर खाएकै हुन्छन्। अनेक बयान सामना गर्छन्। अनेक जवाफ दिन बाध्य हुन्छन्। आखिर हाम्रो विमानस्थलमा किन त्यस्तो जब्बर ढोका राखिएको छ, जसले निरीहलाई छिर्नै दिँदैन ? दिनेखानेलाई वास्तै गर्दैन ?
आउनुहोस्, त्यही द्वारको कुरा गरौं। त्यो यति अररो छ, खोल्न धेरै मेहनत गर्नुपर्छ। भन्नुहोला, कहाँ छ ढोका ? गज्जबको अदृश्यात्मकता यहीं छ। नदेखिएर पनि ढोका हुनु यसको तागत हो। केही चढायो भने यो सरक्क खुल्छ। अलि–अलि कागज कच्चा हुनेले रित्तै गयो भने ज्यान जाओस् खुल्दैन। चढाओस्, सजिलै खुल्छ। त्यसका लागि अमुक बार्गेनिङ चल्छ। जहाज नउडुन्जेल चलिरहन्छ। अन्तिम घडी यात्रु गल्छ। वा, फर्किन तयार हुन्छ। तर, ढोका गल्दैन।
काठमाडौंबाट उडेर दैनिक हजारौं बाहिरिन्छन्। तीमध्ये ठूलो संख्याले तीतो अनुभूति सँगाल्छ। आफ्नै भूमिमा। कतिपय नियम यस्ता छन्, जसले कर्मचारीलाई दलाली गर्ने बाटो दिन्छन्। कतिपय अपुग पक्ष अज्ञानतामा आधारित हुन्छन्। तिनलाई सहजता प्रदान गर्ने काम गरिनुपर्नेमा सताइन्छ।
त्यही बलमा ‘केही’ मिलाइन्छ।
निर्वाध यात्रा हरेक नागरिकको नैसर्गिक अधिकार हो। अध्यागमन देशको मुख्य गौंडो हो। यसले आपराधिक क्रियाकलापमा संलग्न र संदिग्ध व्यक्ति छिर्न रोक्नुपर्छ। तर, ‘विदेश गएर तिमीले दुःख पाउँछौ जस्तो लाग्यो, त्यसैले हामी यहीं दुःख दिन्छौं’ भन्न पाइँदैन। होटेल बुक नभएको व्यक्तिलाई रोक्नुको अर्थ त्यही त हो नि ?
रविका कतारमा हजारौं साथी छन्। तिनीहरू कहाँ बस्न÷खान कुन कानुनले रोक्छ ? के विदेश जाँदा होटेलमा बस्नैपर्छ ? यो संकीर्णताबाट हामी उठ्नैपर्छ। हो, नेपाली विदेशमा फसिरहेका छन्। मानव तस्करको जालोमा परिरहेका छन्। एकातिर लैजाने भनेर अर्कैतिर पुर्याइन्छन्। लुट्नु लुटेर अलपत्र पारिइन्छन्। युरोपेली र अमेरिकी देशका आकर्षणले धेरैको सोचाइमा बिर्को लगाइदिएको छ। राज्यका निकायले तिनको अनुसन्धानबाट ‘तस्कर’ पहिल्याएर कानुनी दायरामा ल्याउनुपर्ने होइन र ?
विदेश उड्ने सबै ठगिन गएका हुँदैनन्। होटेल बुक नहुँदैमा सबैले दुःख पाउँदैनन्। कथित यस्ता नियम कर्मचारीका लागि कमाउने मेलो मात्र हुन्। विमानस्थल ‘सेटिङ’ बाट तस्करीमा परेका सर्वसाधारण सजिलै छिराइन्छन्। अध्यागमन कर्मचारीसँग नमिली त्यो कसरी सम्भव छ ?
पढालेखा व्यक्ति जहाँ गए पनि जोगिन सक्छन्। तिनलाई सोधी–खोजी नगरी छाडिदिए हुन्छ। निरक्षर र पहिलोपल्ट भ्रमण गर्नेलाई सचेतनामूलक जानकारी गराउनु उचित हुन्छ। तर, सताउन पाइँदैन।
श्रम स्वीकृति र पुनः स्वीकृतिका नाममा वैदेशिक रोजगार कार्यालयमा दैनिक मेला लाग्छ। त्यहाँको महासागर छिचोलेपछि विमानस्थलको ढोका छिर्न हम्मे पर्छ। यात्रामा जानेलाई अनेक बहानामा हैरान पारिन्छ। यो सभ्य समाजका लागि सह्य विषय होइन। पढालेखा व्यक्ति जहाँ गए पनि जोगिन सक्छन्। तिनलाई सोधी–खोजी नगरी छाडिदिए हुन्छ। निरक्षर र पहिलोपल्ट भ्रमण गर्नेलाई सचेतनामूलक जानकारी गराउनु उचित हुन्छ। तर, सताउन पाइँदैन।
देशको अध्यागमन नियम कडा तर सहज हुनुपर्छ। अज्ञात फोनका भरमा ‘फुक्ने’ हुनु हुँदैन। फुक्ने नै हो भने फोनबिना पनि स्वतः फुक्नुपर्छ।