पर्यटक आगमन १० लाख नाघ्यो
काठमाडौं : सन् २०१८ को ११ महिनामा १० लाखभन्दा बढी पर्यटकले नेपाल भ्रमण गरेका छन्। जनवरीदेखि नोभेम्बरसम्म १० लाख एक हजार नौ सय ३० जना पर्यटक आएको नेपाल पर्यटन बोर्डले जानकारी दिएको छ। यो संख्या हालसम्मकै बढी हो।
सन् २०१७ को सोही अवधिमा आठ लाख ५७ हजार दुई ५२ जना पर्यटक भित्रिएका थिए। सरकारले पूर्वाधार क्षमता बढाउँदै जाने र वार्षिक १० लाख पर्यटक भित्र्याउने उद्देश्यका साथ सन् २०११ मा मनाएको नेपाल पर्यटन वर्षको लक्ष्य सात वर्षपछि पूरा भएको छ। पर्यटक बढाउनकै लागि र पर्यटकीय क्षेत्रको प्रवर्द्धन तथा पूर्वाधार विकास गर्दै जाने उद्देश्यले सरकारले पर्यटन वर्ष मनाउने गरेको छ। सन् २०२० मा पनि २० लाख पर्यटक पुर्याउने लक्ष्यका साथ सरकारले पर्यटन वर्ष घोषणा गरेको छ।
देशमा शान्ति पुनःस्थापना भएको र प्रवर्द्धनको सन्देशलाई निजी र सरकारी क्षेत्रले एउटै आवाज उठाएर जान सक्नु नै पर्यटक आगमनका निम्ति सकारात्मक सन्देश भएको नेपाल पर्यटन बोर्डका प्रमुख कार्यकारी अधिकृत (सीईओ) दीपकराज जोशीले बताए। उनका अनुसार नेपालको प्रवर्द्धन अन्तर्राष्ट्रिय स्तरमा राम्रो हुँदै गएको छ। जहाँ गए पनि नेपालको सकारात्मक सन्देश गएकाले पूूर्वाधार बढाउँदै जान सकिए सन् २०१९ मा १५ लाख पुर्याउन सकिने उनको भनाइ छ। पछिल्ला महिना पर्यटक आगमन एक लाखभन्दा बढी पुग्न थालेको र पर्यटन प्रवर्द्धन तथा नेपालमा बढ्दै गएको पर्यटकीय वातावरणका कारण १० लाख पर्यटक नाघेको सीईओ जोशी बताउँछन्।
सन् २०१८ को डिसेम्बरको तथ्यांकले पर्यटक आगमन अझै एक लाख बढ्ने अनुमान गरिएको छ। गत वर्षको डिसेम्बरमा नेपालमा ८२ हजार नौ सय ६६ जना पर्यटक नेपाल आएका थिए। योसहित गत वर्ष सन् २०१७ मा नौ लाख ४० हजार २१८ जना पर्यटक नेपाल आएका थिए। यही तथ्यांकअनुसार पर्यटक आगमनदर बढेको अवस्थामा यो वर्षको पर्यटक आगमन करिब ११ लाख नाध्ने अनुमान गरिएको छ।
पछिल्लो तथ्यांकअनुसार सन् २०१८ को मार्च, अप्रिल, अक्टोबर र नोभेम्बरमा मासिक एक लाख पर्यटक भित्रिएका छन्। मार्चमा १ लाख २४ हजार, अप्रिलमा ९८ हजार पर्यटक आएका छन्। स्थलमार्गबाट आउने पर्यटक बाहेक नै अक्टोरबमा एक लाख ९ हजार र नोभेम्बरमा एक लाख १९ हजार पर्यटक पुगेको पर्यटन बोर्डका जनसम्पर्क अधिकृत सुधन सुवेदीले बताए।सन् २०१८ मा सबैभन्दा बढी भारतीय पर्यटक आएका छन्। यस वर्ष एक लाख ७८ हजार एक लाख ३० जना भारतीय पर्यटक नेपाल भित्रिसकेका छन्। यो संख्या गत वर्षको यसै अवधिको तुलनामा २३ प्रतिशत बढी हो। गत वर्षको नोभेम्बरसम्म एक लाख ४४ हजार तीन सय ७९ जना भारतीय पर्यटक नेपाल आएका थिए।
भारतपछि दोस्रो चीनबाट एक लाख ३४ हजार तीन सय ६२ जना पर्यटक नेपाल आएका छन्। चीनबाट आउने पर्यटकको आगमन दर गत वर्षको तुलनामा ४३ प्रतिशत बढी हो। यसपछि धेरै पर्यटक भित्रने तेस्रो देशमा अमेरिका परेको छ। अमेरिकाबाट सन् २०१७ मा ७३ हजार ६ सय ५० जना पर्यटक भित्रिएकामा यो वर्ष १२ प्रतिशत बढेर ९८ हजार ६ सय ४६ पुगेको छ। यस्तै चौथौमा बेलायत र पाँचौंमा श्रीलंका छन्। समग्रमा सन् २०१७ को ११ महिनाको तुलनामा २०१८ मा नेपाल भ्रमण गर्ने पर्यटकको संख्या १६.९ प्रतिशत बढेको छ।