कम उमेरकाे विवाहले बिचल्ली

कम उमेरकाे विवाहले बिचल्ली

महेन्द्रनगर : कञ्चनपुरको महाकाली नगरपालिकाकी रविना सुनार (नाम परिवर्तन) ले १६ वर्षको उमेरमा कक्षा ८ मा पढ्दै गर्दा विवाह गरिन्। आफैँले रोजेको केटासँग विवाह गर्दा उनी निकै खुसी थिइन्। विवाह गरेको वर्ष दिनभित्रै एक सन्तान पनि जन्माइन्। 

एक वर्षजति श्रीमान्सँगै बसेकी उनको खुशी धेरै समय टिक्न सकेन। श्रीमान्ले आफू कमाउनका लागि भारत जाने भन्दै विवाह भएको एक वर्षमै ल्याएर माइतमा 
राखिदियो। त्यसपछि अहिलेसम्म ऊ श्रीमती बोलाउन आएन। 

‘श्रीमन्ले अर्कै विवाह गरेर बसेको छ, छोरी तीन वर्षकी भई’ रबिनाले भनिन्। भर्खर मात्रै विवाह गर्ने उमेर (२० वर्ष) पुगेकी रविना तीन वर्षदेखि माईतीको घरमै बसिरहेकी छिन्।

विवाह गर्ने उमेरमा उनले नागरिकता लिने समय पनि पुगेको थिएन। जब उमेर पुग्यो उनले नागरिकता बनाईन्। विवाहदर्ता र छोरीको जन्मदर्तासमेत गरिन्। अहिले प्रहरी चौकीमा उनले उजुरी गरेकी छिन्। उनको अहिलेसम्म सम्बन्ध विच्छेद भइसकेको छैन। ‘कलिलो उमेरमा विवाह गर्दा न घरबार भयो न स्वास्थ्य नै राम्रो रह्यो’ बल्ल होस फिरेकी उनले भनिन्।

महाकाली नगरपालिकाकै २१ वर्षीया अप्सरा सुनार (नामपरिवर्त) को कथा पनि रविनाको जस्तै छ। उनले पनि कम उमेरमै आफैँले रोजेर विवाह गरिन्। विवाह गर्दा उनी १७ वर्षकी थिईन्। विवाह गरेर जीवन सुखका साथ बिताउने सपना बुनेकी उनको खुसी पनि एक वर्ष टिकेन। ‘घरमा हिंसा हुन थाल्यो, अहिले माइतमै आएर बसेकी छु’ उनले भनिन्। 

अप्सरा पनि माइतीमा बसेको तीन वर्ष भईसक्यो। ‘कानुनी रुपमा अहिलेसम्म सम्बन्ध बिच्छेद गरेको छैन, न त विवाह दर्ता नै भएको छ’ उनले भनिन्। उनले कक्षा १० मा पढ्दा पढ्दै विवाह गरेकी हुन्। 

माहाकाली नगरपालिका ९ कै यशोदा सुनार(नाम परिवर्तन)ले पनि उमेर नपुग्दै विवाह गरिन्। १९ वर्षको उमेरमा विवाह गरेकी उनी अहिले २३ वर्षकी भइन्। श्रीमान्को घरमा विवाहपछि उनी १ वर्षसम्म पनि घरमा बस्न सकिनन्। आफ्नो खुसीले विवाह गरेकी उनको पनि श्रीमान्ले अर्को विवाह गरेपछि माइतमै आएर बस्नुको विकल्प भएन।

‘चार वर्षदेखि माइतमा बसिरहेकी छु, जिल्ला अदालतमा सम्बन्ध बिच्छेदका लागि मुद्वा हालेकी छु’ उनले भनिन्। अदालतले छिटो फैसला गर्देला र न्याय पाइएला भन्ने आशमा उनी बसेकी छिन्। माहाकाली नगरपालिकाका यी तीन प्रतिनिधी उदाहरण मात्रै हुन्। 

नगरपालिका क्षेत्रमा उमेर नै नपुगेर विवाह गर्नेको संख्या धेरै छ। माहाकाली नगरपालिका महाकाली नदी पारीको साविकको दोधारा र चाँदनी गाविस मिलाएर बनेको हो। कम उमेरमा विवाह र लगत्तै सम्बन्ध बिच्छेदसमेत हुने घटना धेरै रहेको नगरपालिकाले जनाएको छ। ‘नगरपालिकाका धेरै वडाहरुमा कम उमेरमै बिवाह गर्ने चलन अहिले पनि छ’ उपमेयर चिनी गिरीले भनिन्। ‘भित्र–भित्रै कम उमेरमै विवाह गर्ने गरेको पाइन्छ।’ उनले लहलहैमा लागेर तथा कतिपय घरपरिवारकै कारणले समेत सानै उमेरमा विवाह हुने गरेको बताइन्।

‘एक त उमेरै नपुगेर विवाह गर्ने  अर्कोतर्फ वर्षदिन नपुग्दै सम्बन्ध बिच्छेद गर्ने गरेको देखिएको छ’ उपमेयर तथा माहाकाली नगरपालिकाको न्यायिक समितिकी संयोजक गिरीले भनिन्, ‘यो समस्या समाधान गर्न अब नगरपालिकाले पनि विशेष रुपले अभियान थाल्नुपर्ने देखिएको छ।’ उनले घरबार बिग्रीसकेका कतिपय महिलाहरुको नागरिकता बनाउने उमेरसमेत नपुगेकाले उनीहरु समस्यामा पर्ने गरेको बताइन्। 

माहाकाली नगरपालिकाले अहिलेसम्म डेढसयको हाराहारीमा उजुरीको फैसला गरिसकेको छ। ‘बढी जसो कम उमेरमा विवाह गरेर सम्बन्ध बिच्छेद गरेका र घरेलु हिंसाका मुद्धा आउछँन्’ गरिले भनिन्।

मुलुकी देवानी संहिता ऐन २०७४ ले विवाह गर्ने केटाकेटी दुवैको उमेर २० वर्ष तोकेको छ। १८ वर्षमुनिका बालविवाह र १८ देखि २० सम्म विवाह गरे पनि कानुनी मान्यता नपाउने अधिवक्ता पुनम चन्द बताउँछिन्। ‘अझै पनि समाजका केही ठाउँमा उमेरै नपुगेर विवाह गर्ने देखिन्छ’ उनले भनिन्। ‘यी समस्या समाधान गर्न स्थानीय तहले समेत मुख्य भूमिका खेल्नुपर्ने देखिन्छ।’ 

ऐनको परिच्छेद ११ को बाल विवाह सम्बन्धी कसुरको १७३ नम्बर बुँदामा विवाह गर्नेको उमेर २० वर्ष पूरा हुनुपर्ने र त्यसो नभए स्वतः विवाह बदर हुने उल्लेख छ।   उक्त कसुरमा तीनवर्षसम्म कैद र तीस हजार जरिवाना हुने पनि उल्लेख गरिएको छ। 
 
 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.