कविता : अर्गानिक अनुहार
–मीनकुमार नवोदित
हलो, जुवा, डोको, नाम्लो र कोदालो
गएका छन् ऊँट चराउन
बालुवा उम्रने देश ।
मर्नु र बाँच्नुको दोसाँधमा छन्
ढिकी, जाँतो र ओख्लीहरू
भित्तोमा अडेस लागेर
पँधेरो रोइरहेको छ एक्लै ।
ढाकर, खकन र टेकान
उहिल्यै हो परेका थला
ठेकी, मदानी, हर्पे, डुंग्रो र कुँडेलाई
बगाएर लगेको धेरै भयो
समयको बाढीले ।
भोकभोकै छन्
ढिकुटी, भकारी र घ्याम्पाहरू
गुन्द्री, गजेरा, सुकुल र मान्द्रोमात्रै होइन
खुर्पे, कर्दो, बसिला र बन्चरो पनि
बुइगलमा परेका छन् लम्पसार ।
केटाकेटी नहुँदा
उदास छन् दलान र आँगन
टाँडमा सुतेका
घुम, मला, हल्लुड र जोतारोलाई
उडाएर लगेको धेरै भयो
जस्केलोबाट छिरेको आँधीले ।
खलो छेउमा झोक्राइरहेछ कुन्यू
बेठी निःसन्तान भएपछि
दाँदे र फ्याउरीले आलीबाट हाम्फालेर
गरेका हुन् आत्महत्या
ओदानको खुट्टो भाँचिएर
भएको छ अपांग
गग्रेटोबाट लडेर
कुचिएको छ गाग्रीको निधार ।
पाथी, मानो, डालो र थुन्सेसँगै
बसेका छन् व्रत छपनी र डबकाहरू
अँगेना छेउमा मस्तले निदाएका छन्
हाँडी र कप्टेराहरू ।
डिजे, पप, र्याप र रिमिक्सको
आक्रमणमा परेर
मारुनी, बालन, रोदी र सोरठीहरू
भएका छन् घाइते
धाननाच, लाखे, हुर्रा र चण्डीसँगै
देउसी, भैलो र संगिनीहरू
भएका छन् बाटोबाटै बेपत्ता ।
बिनायो, मुर्चुंगा, खैंजडी र डम्फुमात्रै होइन
पञ्चेबाजाहरू भएका छन् लाटो
भञ्ज्याङ, देउराली र चौतारीहरू
भएका छन् टुहुरो ।
हो, हराएका छन् देशबाट
अर्गानिक अनुहारहरू
सबैलाई खोजेर एकपटक
अर्गानिक रंगले पोत्नु छ
देशको अनुहार ।