१२ सय केजी अवैध मरिच बरामद
नेपालगन्ज : अवैध रुपमा लुकाइ राखेको अवस्थामा नेपाल प्रहरीले एक हजार दुई सय किलो कालो मरिच नियन्त्रणमा लिएको छ। त्यसको नेपाली मूल्य झन्डै पाँच लाख रुपैयाँ रहेको प्रहरीले जनाएको छ।
वडा प्रहरी कार्यालय नेपालगन्ज र इलाका प्रहरी कार्यालय जमुनाहाको संयुक्त टोलीले बिहीबार राती नेपालगन्ज उपमहानगरपालिका–१५ जमुनाहाबाट खाली जमिनमा लुकाइ राखेको अवस्थामा बरामद गरेको वडा प्रहरी इन्चार्ज प्रहरी निरीक्षक नारायण डाँगीले जानकारी दिए।
कालो मरिच बंगलादेशबाट आयात गरेर तस्करहरुले नेपालमा संकलन गर्ने भारतमा बेच्ने गरिन्छ। नेपाल पुग्दा साढे ६ सय प्रति किलो पाइने मरिच भारत लगेर बेच्दा एक हजार रुपैयाँ प्रति किलोमा बिक्ने भएकाले तस्कर सक्रिय भएका हुन्।
यसैगरी नेपालगञ्जको गोसाईगाउँ हुँदै भारतबाट भन्सार छलेर भित्र्याइएको कपडा नियन्त्रणमा लिइएको छ। बरामद गरिएका सामान शुक्रबार आवश्यक कारवाहीका लागि भन्सार कार्यालय नेपालगन्जमा बुझाइएको डाँगीले बताए।