हेलिकप्टर उडाउन भाकल

हेलिकप्टर उडाउन भाकल

बेनी : म्याग्दीको धवलागिरि गाउँपालिका–७ स्थित ताकमकोत परिसरमा जगन्नाथ–अन्नपूर्ण मन्दिर पुनर्निर्माणको शिलान्यास कार्यक्रममा मन्त्री थममाया थापा शुक्रबार हेलिकप्टरमा पुगेकी थिइन्। दिउँसो साढे ११ बजे अतिथि लिएर ताकमकोत परिसरमा ल्यान्ड गरेको एयर डाइनेस्टिक कम्पनीको ५ सिटे क्षमताको हेलिकप्टर फर्कने क्रममा भने स्टार्ट नै भएन।

महिला बालबालिका तथा ज्येष्ठ नागरिकमन्त्री थापा, प्रतिनिधिसभा सदस्य भूपेन्द्र थापा, सिद्धार्थ बैंकका सीईओ शेरबहादुर बुढाथोकी, मन्त्री थापाका निजी सचिव याम गर्बुजा र एक अंगरक्षकलाई लिएर हेलिकप्टर ताकमकोत गएको थियो। करिब डेढ घण्टा लगाएर शिलान्यास सकिएर अतिथि चढिसकेपछि पाइलट अरुण मल्लले हेलिकप्टर स्टार्ट गर्दा भएन। तर, पाइलटले मन्दिरमा पूजाआजा गरेपछि मात्रै स्टार्ट भयो। ‘तीन पटकसम्म प्रयास गर्दा पनि स्टार्ट नभएपछि इन्जिनियरलाई फोन गरेर सोधेँ। सबै इन्जिन ठीक अवस्थामा थिए। धेरै प्रयास गर्दा पनि सफल नभएपछि स्थानीयको सुझावअनुसार अतिथि र म गएर जगन्नाथ मन्दिरमा पूजा गर्यौं’, पाइलट मल्लले भने, ‘पहिला मन्दिर मात्र परिक्रमा गरेको थिएँ। टीका पनि लगाइनँ। प्रसाद पनि खाएको थिइनँ। पछि पूजा गरेपछि हेलिकप्टरको इन्जिन स्टार्ट भयो। हामी सकुशल काठमाडौं पुग्यौं। मेरो २४ बर्से उडान अनुभवमा यस्तो घटना कहिल्यै भएको थिएन।’

पाइलट मल्लले हेलिकप्टर स्टार्ट भएपछि मन्दिरमा ५ हजार रुपैयाँ भेटी चढाएका थिए। हेलिकप्टर स्टार्ट होस् भनेर वडाध्यक्ष कलानिधि सुवेदीले बलि चढाउने भाकल गरेका थिए। भाकल पूरा भएर अतिथि सकुशल गन्तव्यमा पुगेपछि स्थानीयले बोकाको बलि चढाएका गाउँपालिकाका उपाध्यक्ष रेशम छन्त्यालले बताए। ‘ताकमकोतको महिमाबारे पहिले सुनेका थियौं तर अहिले प्रत्यक्ष भोग्ने र देख्ने अवसर मिल्यो। यो घटनालाई धार्मिक शक्ति, संयोग वा प्राविधिक के भन्ने, अनौठो र अचम्म लागेको छ’, उपाध्यक्ष छन्त्यालले भने। स्थानीयका अनुसार यसअघि गत वर्ष मेरी ‘कुसुम’ चलचित्र छायांकन क्रममा पनि यस्तै अनौठो घटना भएको थियो।

ताकमकोत म्याग्दीको प्रमुख शक्तिपीठ मानिन्छ। समुद्री सतहदेखि २ हजार ५ सय मिटर उचाइमा अवस्थित ताकमकोतबाट बाइसे चौबीसे राज्यका पालामा थापा राजाले २ सय वर्षसम्म राज्य चलाएको इतिहास छ। ताकमकोत परिसरबाट गुर्जा, धौलागिरि, नीलगिरि, अन्नपूर्ण र माछापुच्छ्रे हिमशृंखला देख्न सकिन्छ। कोत परिसरमा रहेको जगन्नाथ मन्दिरमा जगन्नाथ, अन्नपूर्ण, दुर्गालगायत देवी÷देवताको मूर्ति रहेको पुजारी गोविन्द पौडेलले बताए।

पूजा र भाकल गरे मनोकांक्षा पुग्ने विश्वाससाथ नवदुर्गा, जेष्ठी पूर्णिमा, मंसिर पूर्णिमा, चैत्राष्टमीमा पूजा र भाकल गरी बलि चढाउनेको घुइँचो लाग्छ। समुदाय र स्थानीय तहको पहलमा १६ औं शताब्दीमा बनेको ताकमकोत र जगन्नाथ मन्दिरको जीर्णोद्धार सुरु गरिएको छ। मन्दिर ०७२ को भूकम्पका कारण जीर्ण बनेको थियो।

पुनर्निर्माणका लागि वडाध्यक्ष सुवेदीको संयोजकत्वमा सहयोग संकलन समितिमार्फत करिब २९ लाख रुपैयाँ संकलन भएको छ। जीर्णोद्धारका लागि ८० लाखभन्दा बढी लाग्ने अनुमान छ। कोत घरमा ऐतिहासिक महŒवका तोप, तरबार, खुँडा, खुकुरी, ढाललगायत हातहतियार छन्। सुरुङ, छेलोको खत, ओखल, गस्ती स्थल, पर्खाल, इँटा, बंकर, ओदान, तामाका खड्कुलालगायत पनि छन्।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.