नेपालका गाई बंगलादेश तस्करी

नेपालका गाई बंगलादेश तस्करी

हेटौंडा : गोरुसँग लुकाएर राष्ट्रिय जनावर गाईको तस्करी बढेको छ। गोरुभन्दा गाई सस्तो मुल्यमा पाइने भए पनि मासुका लागि खरिद बिक्री गर्न नपाइने भएकाले गोरुसँगै लुकाएर नेपालबाट बंगलादेशतर्फ गाई तस्करी भइरहेको हो।

जिल्ला प्रहरी कार्यालय मकवानपुरले अवैध ढंगले हेटौंडा हुँदै बंगलादेशतर्फ लैजान लागेका गोरु धमाधम नियन्त्रण लिने क्रममा गाईसमेत लैजाने गरेको पाएको हो। पथलैयाबाट हेटौंडातर्फ आउँदै गरेको ना६ख २०८१ नम्बरको ट्रक हेटौंडास्थित रातोमाटे प्रहरी चेकपोष्टमा चेकजाँचको क्रममा गोरुसँगै गाई राखेर बंगलादेशतर्फ लैजान लागेको भेटिएको प्रहरी नायव उपरीक्षक यज्ञप्रसाद भट्टराईले बताए। उक्त ट्रकमा १९ वटा गाईसहित ११ वटा गोरु भेटिएको उनले जानकारी दिए।

गोरुसँगै गाई पनि तस्करी हुने गरेको जनगुनासो बढे पनि प्रहरीले यसअघि बेवास्ता गर्दै आएको थियो।

मकवानपुर प्रहरीले पक्राउ परेको गाईगोरुलाई अपनाउनुपर्ने सावधानी नअपनाइएको भन्दै पशु चौपाया ढुवानीको मापदण्ड २०६४ अनुसार आवश्यक कारबाहीका लागि पशु क्वारेन्टाइन चेकपोष्ट पथलैया पठाउने गरेको छ। पथलैयाले आवश्यक कागजपत्र ल्याएसँगै सामान्य जरिवाना गरेर छाडिदिने गरेको छ। सामान्य जरिवाना तिरेर व्यापारीले गाई र गोरु बंगलादेश लैजाने गरेका छन्।

मुलुकभित्र गाई गोरु ओसारपसार गर्न पाइने भए पनि देशबाहिर तस्करी बढेको भन्दै यहाँका राजनीतिक दलका भातृसंगठनहरूले आवाज उठाउन थालेपछि प्रहरीले चेकजाँचमा सक्रियता बढाएको हो। ‘हामी आफैंले चेकजाँच गर्ने कुरा आएन, प्रहरीलाई चेकजाँचमा कडाइ गर्न दबाब दिइरहेका छौं’, युवा संघ मकवानपुरका अध्यक्ष सन्तोष चौंलागाइले भने, ‘तर सेटिङमा तस्करी हुने भएकाले एकाध गाडी नियन्त्रणमा आए पनि धेरै गाडी छुट्ने गरेको छ।’

‘विभिन्न ठाउँबाट जम्मा गरेर ल्याएको गाईगोरुलाई यहाँ जम्मा गरी लैजाने गरेको छ’, रातोमाटेका एक स्थानीयले भने, ‘तर ट्रकमा हालेर गाईगोरु कसले, किन, कहाँ लैजान्छ ? हामीलाई थाहा छैन।’ मकवानपुर प्रहरी प्रमुख प्रहरी उपरीक्षक बुद्धि गुरुङले यसबारे आफूलाई थाहा नभएको बताए। ‘हामी यसबारेमा बुझ्छौं’, उनले भने। बंगलादेशमा गाई र गोरु काटेर मासु खाने भएकाले नेपालसँगै भारतबाट समेत ल्याएका गाईगोरु नेपालको बाटो प्रयोग गरेर लैजाने गरिएको छ। भारत र नेपालमा १० हजारदेखि १५ हजार रुपैयाँमा खरिद गरेर गरिने गाईगोरु बंगलादेशमा एक लाख रुपैयाँभन्दा बढी मूल्यमा बिक्री हुने गरेको बताइन्छ।

मुख्यगरी कपिलवस्तुको चन्द्रौटा नाकाहुँदै भारतबाट गोरु नेपाल भित्रने गरेको छ। कपिलवस्तुबाट ट्रकमा लोड गरेर विभिन्न प्रहरी चेकपोष्ट पार गर्दै झापा हुँदै बंगलादेशमा लगेर गाई गोरु बिक्री गरिन्छ। ‘गोरुव्यापारीले राजमार्गमा कुनै अवरोध भएन वा कतै प्रहरीसँग सेटिङ बिग्रियो भने सर्लाहीका विभिन्न भाग हुँदै बंगलादेश लैजाने गरिएको छ’, केही समय गाईगोरु बोक्ने ट्रकचालकले भने।

भारतको बाटो हँुदै गाई गोरु बंगलादेशतर्फ लैजाँदा दुईवर्ष अघि भारतमा शिवसेना दलका कार्यकर्ताले ट्रकमा आगजनी गरेर मानिससहित गाई गोरुलाई जलाइदिएका थिए। ‘त्यसयता व्यापारी भारतबाट सिधा कारोबार नगरी नेपालबाट घुमाउरो बाटो प्रयोग गर्दै गाईगोरु बंगलादेश पु¥याउने गर्छन्’, ती चालकले भने। गाई गोरुको व्यापारमा जोखिम न्यून, आम्दानी राम्रो हुने भएकाले लामो समयदेखि केही व्यापारी यसै व्यवसायमा संलग्न छन्।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.