अठार दिनदेखि बेपत्ता लावड मृत भेटिए
बैतडी : अठार दिनदेखि बेपत्ता दशरथचन्द नगरपालिका–३ हल्लेकका ४५ बर्षीय लक्षीराम लावड आइतवार मृत फेला परेका छन् ।
गत मंसिर १२ गते घरबाट एक्कासी बेपत्ता भएका लावड घरनजिकैको ईरानखोला भन्ने ठाउँमा मृत फेला परेका जिल्ला प्रहरी कार्यालय बैतडीका प्रहरी नायव उपरीक्षक नेत्रमणी गिरीले बताए ।
लावडको शवलाई स्थानीय बासिन्दाले देखेपछि प्रहरीलाई खबर गरेका थिए । शव कुहिएको अवस्थामा रहेकोले केही दिन अघि नै मृत्यु भएको हुनसक्ने प्रहरीले जनाएको छ । लावडको लडेर मृत्यु भएको हुन सक्ने प्रहरीको भनाई छ ।
मानसिक सन्तुलन ठीक नरहेका लावड बेपत्ता भएपछि आफन्तले खोजी गरिदिन प्रहरीमा निवेदन दिएका थिए । लावडको शव पूरै कुहिएकाले शव परीक्षण नगरी आफन्तको जिम्मा लगाइएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।